नियम मिचेर बालुवा उत्खनन

पवन यादव

रौतहट — जिल्लास्थित बाग्मती नदीको माधोपुर घाटबाट २ महिनादेखि अवैध रूपले बालुवा उत्खनन भइरहेको छ । स्थानीय निकायले नदीजन्य पदार्थ उत्खननका लागि अहिलेसम्म उक्त घाटको ठेक्का लगाएको छैन । तर जिल्लाका विभिन्न क्षेत्रबाट गएका ट्रयाक्टर चालकले मनलाग्दी बालुवा उत्खनन गर्दै आएको स्थानीयले बताए ।

नियम मिचेर बालुवा उत्खनन

बालुवा लोड गरेवापत संकलन हुने राजस्व रकम स्थानीय मजदुरले बाँडीचुडी गर्दै आएको स्थानीयले बताए । त्यहाँबाट बालुवा लोड गरे वापत स्थानीयले प्रति ट्रयाक्टर सय रुपैयाँ संकलन गर्दै आएका छन् । 

घाटबाट दैनिक ५० देखि ७० ट्रयाक्टरले बालुवा उत्खनन गरेर ढुवानी गर्दै आएको रकम संकलन गरिरहेका बिरेन्द्र राय यादवले बताए । ‘गाउँलेको सल्लाहमा आफूले ४ दिनदेखि पैसा उठाउन सुरु गरेको छु,’ उनले भने, ‘पहिला अरूले उठाएर खाई हल्थे, म चाहिँ मास्दिन ।’ उठेको रकमलाई कल्भर्ट निर्माणमा खर्च गरिने उनले बताए ।

जिल्ला समन्वय समितिले यहाँको आवश्यकतालाई नबुझ्दा समस्यामा परेको उनले बताए । माओवादी केन्द्रका स्थानीय नेता किशोरी महतोले दुरुपयोग हुँदै गरेको रकमलाई सदुपयोग गर्न प्रयासरत रहेको उनले बताए । ‘अहिलेसम्म माधोपुर घाटको ठेक्का भएको छैन,’ उनले भने, ‘स्थानीय निकायबाट ठेक्का नलाग्दा त्यसलाई खेर जान नदिन उठाउन प्रयास गरेका छौं ।’ यसका लागि स्थानीय प्रशासनबाट समेत अनुमति लिने उनले बताए ।

उत्खनन हुन थालेको नदीजन्य पदार्थबारे स्थानीय तह बेखबर छ । त्यसलाई कानुनी दायरामा ल्याउन कुनै पहल कदमी नगरेको सरोकारवालाले आरोप लगाए । उत्खनन भइरहेको गुनासो आएको र त्यसको अनुगमन गर्न स्थानीय विकास अधिकारीलाई आफूले निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए । ‘सूचना पाउनासाथ अनुगमन गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘अवैध रूपले नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन ।’ 

प्रकाशित : चैत्र १८, २०७३ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?