कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

पीडितले पाए क्षतिपूर्ति

हिरासतभित्र यातना
ठाकुरसिंह थारू

बाँके — प्रहरी हिरासतभित्र यातना पाएका दुई पीडितलाई सरकारले क्षतिपूर्ति दिएको छ । अदालतले आदेश दिएको लामो समयपछि उनीहरूले क्षतिपूर्ति पाए ।

पीडितले पाए क्षतिपूर्ति

अपहरण अभियोगमा पक्राउ परेका बेला यातना पाएका नेपालगन्ज कोरियनपुरका निजामुद्दिन शेषलाई ९१ हजार क्षतिपूर्ति दिइएको छ । यस्तै मानव बेचबिखन आरोपमा पक्राउ पर्ने क्रममा प्रहरीद्वारा यातना पाएकी बर्दिया मोतिपुरकी हरिकला पुनलाई सरकारले ५१ हजार क्षतिपूर्ति उपलब्ध गराएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले मंगलबार उनीहरूलाई क्षतिपूर्ति रकम हस्तान्तरण गरे । ‘धेरैपटकको ताकेतापछि क्षतिपूर्ति रकम आएको हो,’ उनले भने । क्षतिपूर्ति दिने अदालतको फैसला कार्यान्वयनका लागि स्थानीय प्रशासनले पटकपटक केन्द्रमा पत्राचार गरेको थियो । लामो प्रयासपछि हिरासत पीडितहरूले सरकारी क्षतिपूर्ति पाउन सफल भएका हुन । शेष हाल कारागार मुक्त भइसकेका छन् । हरिकला भने नेपालगन्जस्थित कारागारमा छिन् । दुई/तीन महिनामा कैद भुक्तान भएपछि उनी रिहा हुने छिन् ।

शेषलाई हिरासतमा यातना दिएको ठहर गर्दै अदालतले ९५ हजार रुपैयाँ क्षतिपूर्ति दिन र घटनामा संलग्न प्रहरी अधिकारीमाथि विभागीय कारबाहीको फैसला गरेको थियो । पीडितले क्षतिपूर्ति पाए पनि सम्बन्धित अधिकारीलाई विभागीय कारबाही भएको छैन । ०७० जेठ १९ गते बाँके जिल्ला अदालतले पीडितका पक्षमा फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख र प्रहरी जवानको यातनाले शेषको शरीरका करङ भाँचिएका थिए । ओठ र खुट्टामा गम्भीर चोट लागेको थियो ।

यस्तै, मानव बेचबखिन आरोपमा पक्राउ परेकी हरिकलालाई सोधपुछका क्रममा यातना दिँदा हिरासतभित्रै हात भाँचिएको थियो । बाँके जिल्ला अदालतले २०७० जेठ २० गते ५१ हजार क्षतिपूर्ति र घटनामा संलग्न प्रहरीलाई विभागीय कारबाहीको फैसला सुनाएको थियो । आफूलाई हिरासतभित्र यातना दिने प्रहरीलाई कारबाही नभएको भन्दै पीडितले गुनासो गरेका छन् । ‘अदालतले विभागीय कारबाही गर्ने आदेश पनि कार्यान्वयन हुनुपर्छ,’ पीडित हरिकलाले भनिन् ।

प्रकाशित : चैत्र ९, २०७३ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?