स्थानीय तह आर्थिक रूपमा कमजोर

नयाँ स्थानीय तहको आन्तरिक आम्दानी मुस्किलले वार्षिक ३ लाख

डोल्पा — साविक २३ गाविस रहेको डोल्पामा आठवटा स्थानीय तह बनाइएको छ । यी स्थानीय तहको आन्तरिक आर्थिक समाथ्र्यता कार्यालय सहयोगी पाल्न नसक्ने अवस्थामा रहेको देखिएको छ ।

जिल्लामा रहेका स्थानीय तहमा आन्तरिक आर्थिक सुरक्षा कमजोर रहेको जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले बताए । उनका अनुसार विघटित गाविसहरूको आन्तरिक आर्थिक स्रोतलाई हेर्दा नयाँ स्थानीय तहको आन्तरिक आम्दानी मुस्किलले वार्षिक ३ लाख मात्र छ । अघिल्ला आर्थिक वर्षमा सबै गाविसको आन्तरिक लेखा परीक्षण गरेका सहायक लेखापाल रुपचन्द्र बुढाका अनुसार सदरमुकामको दुनै गाविसबाहेक साविकका २२ गाविसको आन्तरिक आय प्रतिवर्ष २० हजार पनि नकट्ने अवस्थाको छ ।
जिल्ला समन्वय समितिको आन्तरिक आय बढीमा १० लाखमात्र छ । डोल्पामा बनेका २ नगरपालिका र ६ गाउँपालिकामा निर्वाचित हुने जनप्रतिनिधि र खटाइने कर्मचारीको क्षमता, दक्षता, सामथ्र्य र दूरदर्शितामा समेत जनताले आशंका गर्न थालेका छन् । गत आर्थिक वर्षसम्मको आर्थिक प्रतिवेदनअनुसार साविकको दुनै गाविसले मात्र विभिन्न कर गरेर करिब २ लाख आन्तरिक आम्दानी गरेको छ ।

प्रतिवेदनअनुसार सबै गाविसको आन्तरिक आम्दानी मुस्किलले २० हजारमात्र पुगेको छ । सदरमुकामको ठूलीभेरी नगरपालिकाको समायोजित आम्दानी गतवर्ष २ लाख ६० हजार मात्र छ । त्रिपुरासुन्दरी नगरपालिकाको साविकका पाँच गाविसको आन्तरिक आम्दानी वार्षिक १ लाखमात्र छ । आन्तरिक आम्दानीले स्थानीय निकायले एक जना कार्यालय सहयोगी पनि पाल्न नसक्ने अवस्था नरहेको नागरिक समाज डोल्पाका संयोजक सुरेन्द्र ढकालले बताए । नयाँ कर प्रणाली लागु गरेमात्र नयाँ स्थानीय तहलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ ।

प्रकाशित : चैत्र ६, २०७३ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?