२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

क्षति बुझ्न प्राविधिक टोली गाउँमा

भरतपुर — भूकम्पले क्षति पुर्‍याएको क्षेत्रका बासिन्दाका घरमा साँच्चिकै क्षति पुगे/नपुगेको छानबिनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको इन्जिनियरसहितको टोली गाउँ पुगेको छ । टोलीले क्षतिको विवरण संकलन पनि तीव्र रूपमा गरिरहेको छ ।

२०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको भन्दै राहतका लागि परेका निवेदनमाथि छानबिनका लागि लगत संकलन तथा व्यवस्थापन कार्यालयको अगुवाइमा ३३ इन्जिनियर र ३३ परिचालिकासहितको टोली गाउँ पुगेको हो । छानबिनपछि पुनर्निर्माणको काम सुरु गर्ने प्राधिकरणले जनाएको छ । टोलीले पहिलो चरणमा भूकम्प प्रभावित काउले, चण्डीभञ्ज्याङ, लोथर र दारेचोकलगायत ७ गाविस पुगेर एक सातादेखि विवरण संकलन थालेको व्यवस्थापन कार्यालयका इन्टरलोकोरर अधिकृत जीवनाथ आचार्यले बताए । ‘टोलीले वास्तविक क्षतिको विवरण संलकन सुरु गरिसकेको छ,’ उनले भने, ‘फागुनभित्र विवरण सकेर केन्द्रमा बुझाइनेछ ।’ भूकम्पको क्षतिको छानबिनका लागि जिल्लामा ५२ प्राविधिक र ५२ परिचालिका परिचालन हुनेछन् ।

अघिल्लोपटक भन्दा २ हजार बढी निवेदन परेपछि तथ्यांक शाखा र प्राविधिकसहितको टोली प्रभावित क्षेत्र पुगेको हो । टोलीले निवेदकको घरघर पुगेर क्षतिको विवरण संकलन गर्ने, अनुदानका लागि योग्य छ/छैन यकिनजस्ता काम गर्न सर्वेक्षण गर्नेछ । पुराना र नयाँ पीडितको घर टहरा टोलीको अध्ययनपछि मात्रै सहयोग कार्यक्रम अघि बढ्नेछ । सरकारले भूकम्प प्रभावित परिवारलाई अवस्था हेरेर पुनर्निर्माणका लागि १ देखि ३ लाखसम्म खर्च दिनेछ ।

जीविकोपार्जनका लागि २ प्रतिशत ब्याजदरमा २ लाख अनुदान दिने कार्यक्रम ल्याएको छ । भूकम्पमा परि जिल्लामा १० को मृत्यु तथा १ सय ४६ जना घाइते भएको तथ्यांक छ । भूकम्पले १८ हजार ७ सय ५२ घरमा क्षति पुगेको छ । क्षति पुगेकाहरूको विवरणका लागि गत कात्तिक १२ देखि मसान्तसम्म निवेदन माग गरिएको थियो । त्यस बेला १६ हजार ३ सय ९९ निवेदन परेको थियो । यसपटक पूर्ण र आंशिक भनेर वर्गीकरण गरिएको छैन । पछिल्लोपटक २ हजार थप निवेदन परेपछि प्राधिकरणले छानबिन थालेको हो । ‘क्षति भएका सबै घरको फोटो प्रमाणका लागि लिइनेछ,’ स्थानीय विकास अधिकारी श्रवणकुमार पोख्रेलले भने, ‘नयाँ बनिसकेको भए स्थानीयसित सोधपुछ गरी अनुदान सम्झौता हुनेछ ।’

३१ जिल्ला प्रभावित भएकोमा ३ चरणमा पुनर्निर्माणको काम हुने भन्दै चितवनलगायत १७ जिल्ला तेस्रो चरणमा परेका थिए । प्राप्त भएको निवेदनमा तथ्यांक शाखा र प्राधिकरणबाट इन्जिनियरसहितको टोली प्रभावित क्षेत्रमा खटिएका हुन् ।

प्रकाशित : माघ १६, २०७३ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?