‘एमालेलाई विधेयक रोक्ने अधिकार छैन’

गोरखा — उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेले संसद अवरोध गरेर संसदीय, संवैधानिक र लोकतान्त्रिक प्रक्रिया उल्लंघन गरेको आरोप लगाएका छन् ।

 

प्रेस युनियनले शुक्रबार सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उनले प्रतिपक्षलाई संंविधान संशोधन विधेयक रोक्ने अधिकार नभएको दाबी गरे । 

‘हिजो आफू सरकारमा हुँदा आन्दोलन गरेका मधेसीलाई संसद् बोलाउने एमाले प्रतिपक्षमा हुँदा संसद् चल्न नदिएर रिङ बाहिर गयो,’ उनले भने, ‘संशोधनका बेला एमालेले बखेडा झिकेको छ, यो प्रस्ताव थाती रहँदैन, अघि बढ्छ ।’ 

संविधानको सफल कार्यान्वयनका लागि संशोधन अनिवार्य रहेको उनको भनाइ थियो । देशका लागि चार पक्ष एक हुनुपर्ने उनले बताए । ‘कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चा मुख्य राजनीतिक शक्ति हुन्,’ उनले भने, ‘यी चारै पक्षको शक्ति सन्तुलन मिले मात्र देशले परिणाम पाउँछ ।’ 

संविधान संशोधन गरेर स्थानीय तह, प्रादेशिक र संघीय चुनाव गरे मात्र सरकार सफल हुने उनको भनाइ थियो । गोरखामा जारी नवौं गोरखा महोत्सवको शनिबार समापन गर्न गृहमन्त्री शुक्रबार नै गोरखा आइपुगेका हुन् ।  

प्रकाशित : पुस १५, २०७३ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?