१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

बहिराहरु समाजमा अपहेलित

विद्या राई

भोजपुर — भाषागत समस्या, चेतना अभावका कारण बहिराहरु समाजमा अपहेलित भएका छन् । राज्यले बहिराका लागि प्रष्ट नीति निर्माण र व्यवहारमा उतार्न नसक्दा थप अपहेलित छन् । स्वस्थ व्यक्तिसरह बाँच्न पाउने अधिकार भए पनि समाजले हेर्ने दृष्टिकोण नकारात्मक छ ।

समाजबाट सम्मानित व्यवहार पाउन सकेका छैनन् । बहिरा भएकै कारण समाजबाट छि:छि, दुरदुर, अपशब्दका गालीगलौचको सामाजिक दूव्र्यवहार सहन बाध्य छन् ।

पहाडी तथा दुर्गम जिल्लाका बहिराले कुण्ठित जीवन जिउन बाध्य छन् । परिवारका सदस्यबाटै हेयको भावनाले हेरिने हुँदा समाजमा तिरस्कृत हुनुपरेको छ । क्षमता, तत्परता भए पनि मानवीय तिरस्कारले मानसिक, शारीरिक र सामाजिक वृद्धिविकासबाट टाढा छन् । शिक्षाको पहुँचबाट टाढा छन् । सुन्न र बोल्न नसक्ने भएकाले सांकेतिक भाषा प्रयोग जटिल छ । जसले गर्दा सपांग विद्यार्थीसरह विद्यालयको पहुँच पाएका छैनन् । आफ्नै परिवारले उनीहरुलाई मायाममता र उत्प्रेरणा गर्न नसक्दा विलासिएर हिँड्ने, अर्धचेतनशील बन्ने र सामाजिक समस्या उत्पन्न हुने सम्भावना उत्तिकै रहने गरेको बालसञ्जाल अधिकृत उत्तम खड्काले बताए । बहिरा बालबालिकालाई छुट्टै बिशेष कक्षा पढाउन सक्ने, राज्यबाट सेवासुविधा पाउन सक्ने भए पनि अभिभावकको बेवास्ताले चौतर्फी विकासमा बाधा पुगेको छ । ‘परिवारका अग्रजको साँघुरो सोचाइका कारण बहिरा बालबालिकालाई पनि अरु बालबालिकासरह व्यवहार गर्ने अभ्यासहरु दूरदराजसम्म लागू गर्न एकदमै गाह्रो भइरहेको छ,’ अधिकृत खड्काले बताए, ‘यद्यपि उनीहरुको खोजखबर र हकअधिकार सुरक्षा र कार्यान्वयनका लागि सक्दो प्रयासरत छौं,’ उनले भने ।

बहिराका लागि प्रशस्त विद्यालय नहुँदा उनीहरु शैक्षिक रुपमा पिछडिएका छन् । जिल्लाभर दक्षिणी सगरमाथा उमाविमा मात्र बहिराका लागि पढ्ने व्यवस्था छ । जहाँ ४ जनाले मात्र पढिरहेका छन् । दशक अघिदेखि दक्ष जनशक्तिको व्यवस्था गरेर कक्षा सञ्चालन गर्दै आएको भए पनि गाउँबस्तीका बहिरालाई समेटिएको छैन । ‘थुप्रै बहिरा छन्, तर उनीहरुको वृद्धिविकासका लागि उनैका परिवारले छेकेका छन्, जति पढ्दैछन्, तिनका घर गएर सम्झाई ल्याइएका हुन्,’ जिल्ला शिक्षा अधिकारी सीताराम श्रेष्ठले बताए ।  

समुदायका चेतनशील नागरिकले पथप्रदर्शन गर्नुपर्ने भए पनि हितविपरीत व्यवहार खेप्नुपर्ने धेरै उदाहरण रहेको भोजपुर बहिरा संघ तदर्थ समितिका अध्यक्ष सीताराम ओझाले बताए । भाषागत समस्याले अन्य विकासमा अवरोध पुगिरहेको र अवरोध हटाउन सम्बन्धित निकायले तदरुकताका साथ नलिरहेको उनले भने । बहिराहरुको हकहितका लागि विभिन्न जिल्लामा बहिरा संघ  खोलिँदै आएको भए पनि प्रभावकारी बनाउन र बहिरालक्षित बनाउन सरकारी तथा गैरसरकारी निकाय खुलेर सहयोग नपाइने गरेको गुनासो गरे ।

यसैबीच, अध्यक्ष ओझाकै अध्यक्षतामा जिल्लास्तरीय बहिरा संघ स्थापना भएको छ । उपाध्यक्षमा बाबुराम बोहरा, सचिवमा प्रमिला ओझा, कोषाध्यक्षमा विश्वप्रकाश तामाङ लगायत चयन भएका छन् । देशभर हालसम्म ४० वटा जिल्लास्तरीय बहिरा संघ स्थापना गरिएका र भोजपुर ४१आंै संघका रुपमा स्थापना गरिएको राष्ट्रिय बहिरा महासंघका उपाध्यक्ष गंगाराम यादवले बताए । महासंघको छातामा गोलबन्द गरेर कुनाकन्दराका बहिरालाई शिक्षा, स्वास्थ्य, नेतृत्व विकास, क्षमतादक्षताअनुसारको रोजगार,  उमेर अनुसारको जिम्मेवारी बाँडफाँडमा सहयोग पुर्‍याउने उपाध्यक्ष यादवले बताए । नमुनाका रुपमा हाल सिराहा उक्त अभ्यास भइरहेको र देशभर अभियानलाई सफल पार्न सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताए । जिल्लास्तरीय बहिरा संघ स्थापनाका लागि विभिन्न जिल्लाका बहिरा संघका प्रमुख तथा प्रतिनिधि, जिल्लाका जिम्मेवार निकायको उपस्थिति थियो ।

प्रकाशित : पुस ३, २०७३ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?