कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कालोबजारीमा प्रक्राउ परेका व्यापारी छुटाउन गोरखा बजार बन्द

सुदीप कैनी

गोरखा — अनुदानको मल नीजि पसलबाट बिक्री गरेको आरोपमा प्रक्राउ परेका व्यापारीलाई छुटाउन दबाब दिने उद्देश्यले गोरखा उद्योग वाणिज्य संघले बिहीबार गोरखा बजार बन्द गराएको छ ।

जिल्ला संयुक्त बजार अनुगमन समितिले मंगलबार सरकारले अनुदानमा किसानलाई उलपब्ध गराएको रासायनिक मल अनाधिकृत रुपमा बिक्री बितरण गरेको अवस्थामा तीन व्यापारीलाई प्रक्राउ गरेको थियो । बजार बन्द गराउन उद्योग वाणीज्य संघका प्रतिनिधिले सदरमुकाममा माइकिङ गरेका थिए । माइकिङपछि सदरमुकामका अधिकांश पसलहरु बन्द भएका छन ।

प्रक्राउ परेका अनिता एग्रोभेटका संचालक रामशरण कोइराला, विशाल किराना स्टार्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर श्रेष्ठलाई बिना शर्त छुटाउन बुधबार व्यापारीहरुले दिनभर प्रहरी प्रशासनलाई दबाब दिएका थिए । आरोपितहरुलाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालेपछि बजार बन्द गराइएको हो ।

उनीहरु विरुद्ध कालोबजारी ऐन २०३२ अनुसार मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । संघले भने व्यापारीहरु माथि झुठा लान्छना लगाईएको भन्दै विज्ञप्ति जारी गरेको छ । कार्यवाहक अध्यक्ष जीवनज्योति श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा प्रक्राउ परेका व्यवसायीहरुलाई विनाशर्त रिहा गर्न माग गरिएको छ ।

अनुगमन टोलीले ती पसलबाट ५० किलोका तीन सय ६४ बोरा मल सिलबन्दी गरेको थियो । जिल्ला कृषि विकास कार्यालयको अनुमतिले कृषि सहकारी संस्थाले मात्रै अनुदानको मल बिक्री वितरण गर्न पाउने प्राबधान छ ।

जिल्लामा २० वटा कृषि सहकारी र तीन बचत तथा ऋण सहकारीले अनुदानको मल खरिद बिक्री गर्न अनुमति लिएका छन । अनुमति पाएका तीनै बचत तथा ऋण सहकारी संस्थाको मिलेमतोमा व्यापारीहरुले मल बिक्री गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । तीन वटै पसलको मल गोदाममा सिलबन्दी गरिएको उनले बताए ।

अनिताले एग्रोभेटले आर्दश सहकारी गोरखा नगरपालिका–५, विशाल किरानाले बुंकोट बाह्रबिसे मिलक कृषि सहकारी र श्रेष्ठ किनाराले बुंकोटको पञ्चकन्या कृषि सहकारी संस्थाले अनुदानमा प्राप्त मल आफ्नो पसलबाट बिक्री गरेका हुन् ।

अनुगमन समितिले मल बिक्री गरेको बिल बरामद गरेको थियो । अनुदान मूल्य भन्दा बढीमा व्यापारीहरुले युरिया र डिएपी मल बिक्री गर्ने गरेका हुन् । तीन वटै पसलबाट फरक/फरक मूल्यमा बिक्री गरिएको बिल समेत भेटिएको शर्माले बताए ।

प्रकाशित : भाद्र ९, २०७३ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?