रामजानकी विवाह पञ्चमीको तयारी

जनकपुर — प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीको दिन मनाइँदै आएको रामजानकी विवाह महोत्सव पुस १ गते श्रद्धा तथा भक्तिसाथ मनाइने भएको छ। मधेस आन्दोलनका कारण यस वर्षको महोत्सव भने औपचारिक मात्र हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिएका छन्।

रामजानकी विवाह पञ्चमीको तयारी

महोत्सव तयारीबारे जानकारी दिन शनिबार महन्थ दासले पत्रकार सम्मेलन गरे। सम्मेलनमा आन्दोलनरत्त संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका जिल्लास्थित नेताहरूसँगै नागरिक समाजका अगुवाहरूलाई समेत बोलाइएको थियो। महन्थ दासले पारम्परिक रूपले मनाइँदै आएको यस महोत्सवको आयोजनमा सहयोग गर्न मोर्चाका नेताहरूसँग आग्रह गरेका थिए। 

कार्यक्रममा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टी धनुषाका अध्यक्ष परमेश्वर साहले जनकपुरको सांस्कृतिक पहिचानको रूपमा रहेको विवाह महोत्सव आयोजनमा आफूहरू सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यस वर्ष यातायात बन्दका कारण श्रद्धालुको संख्यामा कमी आउने अनुमान मेला आयोजक जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवको छ।

जानकी मन्दिरका महन्थले दिएको जानकारी अनुसार अगामी शुक्रबारदेखि महोत्सव सुरु हुने छ।

प्रकाशित : मंसिर २१, २०७२ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?