प्रदर्शनकारी र प्रहरीबीच झडपले कलैया दिनभर तनाव

लक्ष्मी साह

बारा — संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता/समर्थक र प्रहरीबीच पटपटक भएको झडपसँगै दर्जनौं हवाई फायरले कलैया दिनभर तनावग्रस्त रह्यो । प्रहरीले फायरिङ र लखेट्दै गर्दा भागदौडमा कम्तीमा १० जना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीले संविधान जलाएको फोरम संघीय समाजवादीका केन्द्रीय सदस्य प्रमोद गुप्ताले बताए । प्रहरीको लठी प्रहारले तमलोपाका केन्द्रीय सदस्य जितेन्द्र सिंहको दाहिने हातमा गहिरो चोट लागेको छ ।

तोडफोड र आगजनीमा प्रदर्शनकारीहरु उत्रेपछि स्थिति तनावग्रस्त भएको थियो । काँग्रेस सभासद राधेचन्द्र यादवको कलैयास्थित घरमा तोडफोड गर्दै घरका फर्निचर, टिभीलगायतका सामान घर बाहिर झिकेर सडकमा आगजनी गरेका छन् । संविधान जारीको विरोधमा मोर्चा र थारु कल्याणकारिणी सभाको आह्वानमा प्रदर्शन गर्न कालो झण्डासहित गाउँगाउँबाट आएका प्रदर्शनकारीको समुहले ढोका फोडेर यादवको घरमा प्रवेश गरी खाद्यन्नलगायतका सामाग्री यत्रतत्र छरिदिएका छन् । घरको टिभी, फर्निचर, लता कपडा लगायतमा आगजनी गरे ।

घरको ग्यास सिलिण्डरमा आगजनी गर्न खोजेपछि तत्कालै पुगेको प्रहरीले खोसेपछि आगजनी गर्न सकेनन् । तोडफोड रोक्न प्रतिवाद गरेका दुई जनालाई प्रदर्शनकारीहरुले समान्य हातापाई गरेका छन् । समाचार संकलनमा पुगेका पत्रकारहरुमाथि प्रदर्शनकारीले धम्क्याउँदै दुव्र्यवहार गरी लखेटेका थिए । यसैगरी काँग्रेसका अर्का सभासद लालबाबु सिंहको घरमा आगजनी र तोडफोड भएको छ । निर्माणाधिन उनको घरमा रहेका दमकल जलाइएको छ । सभासदद्वयको घरमा भाडा लिएर पसल थापेकाहरुको सामानमासमेत क्षति पुर्याइएको छ । कलैयास्थित एमाले र काँग्रेस पार्टी कार्यालयमा पटकपटक तोडफोड र आगजनी प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भयो ।  

मालपोत, नापी, कलैया नगरपालिकालगायतका सरकारी कार्यालयहरुमा समान्य तोडफोड गरेका छन् । प्रदर्शनकारीले कलैया नगरपालिकाका १ वटा बाइक र अर्को एक नम्बर नखुलेका मोटरसाइकलमा आगजनी गरेका छन् । कलैयालगायतका जिल्लाको अन्य ठाउँमा प्रदर्शनकारीहरु हात र निधारमा कालो पट्टीसँगै कालो झण्डा लिएर प्रदर्शन गरेका छन् । जितपुरमा प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले गाडीबाट विभिन्न्ा राष्ट्रिय खोसेर आगजनी गरे ।
 
सिमरामा स्वागत
यसैबीच कलैयामा प्रदर्शनसँगै तनाव भइरहँदा सिमरामा नयाँ संविधानको स्वागत गर्दै र्याली गरिएको छ । बाजागाजाका साथ डुमरवाना, सिमरा, अमलेखगञ्ज, पथलैयालगायतका ठाउँबाट आएका सयौं सहभागीले खुसियालीसमेत मनाए । राष्ट्रिय झण्डासहित उनीहरुले प्रदर्शन गरे । लामो समयको प्रतिक्षापछि आएको संविधानले सबै क्षेत्रलाई समेटेको र यसले दिगो शान्ति र स्थायित्व ल्याउने र्यालीपछि भएको कोणसभामा सहभागीहरुले बताए । यसैगरी डुमरवानामा सबै समुदायका मिलेर खुसीयाली र्‍याली गरेका छन् ।

 

प्रकाशित : आश्विन ४, २०७२ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?