मनास्लु चढ्न आउन थाले पर्यटक

सदीप कैनी

गोरखा — भूकम्पपछि ठप्प यहाँको मनास्लु आसपासको हिमाली क्षेत्रमा पुन चहलपहल सुरु भएको छ। मनास्लु चढ्न र वरपरको भ्रमण गर्न पर्यटकहरू आउन थालेको स्थानीय बासिन्दाले बताएका छन्।

मनास्लु चढ्न आउन थाले पर्यटक

गोरखालाई केन्द्रविन्दु बनाएर वैशाख १२ मा महाभूकम्प गएपछि वर्षाअगाडि पर्यटक आगमन ठप्प थियो। त्यसलगत्तै वर्षा लागेर पर्यटक आगमन रोकिएको थियो। हाल पर्यटकहरू हेलिकप्टर तथा
पैदल मार्ग भएर मनास्लु आसपास आउन थालेका हुन्। पैदलबाट आउनेहरू मनाङबाट लार्केपास हुँदै हिमाल चढ्न आउने क्रम सुरु भएको हो। भूकम्पका कारण खसेको पहिरोले मनास्लु पदमार्ग भने अझै
अवरुद्ध छ। पर्यटकहरू भने हेलिकप्टर र वैकल्पिक मार्गको रूपमा रहेको लार्केपासबाट
आउन थालेको सामागाउँका होटल व्यवसायी वीरबहादुर लामाले बताए। चहलपहल सुरु भएसँगै स्थानीय बासिन्दा हर्षित भएका छन्।
सातादेखि हिमाल चढ्न करिब सय जना विदेशी पर्यटक आएको साम्दोका शिक्षक बेलबहादुर गुरुङले बताए। ‘धेरैजसो हेलिकप्टर चढेर सिधै सामागाउँ आएका हुन्,’ उनले भने। उनीहरूले आवश्यक सामग्रीहरू भरियालाई बोकाएर लार्केपासबाट लैजाने गरेको उनले जनाए। त्यसका लागि ट्रेकिङ ऐजेन्सीहरूले काम गरिरहेका छन्। पर्यटक हेलिकप्टरबाट आउनुपूर्व नै सामान बोकाएर मनास्लु क्षेत्र पठाउने गरेका छन्।
भूकम्पको क्षतिपछि वैशाखयता मनास्लु क्षेत्र घुम्ने पर्यटकको संख्या निकै न्यून छ। मनास्लु क्षेत्र संरक्षण आयोजनाका प्रमुख राजकुमार गुरुङका अनुसार केही महिना पर्यटक आगमन
पूर्णरूपले ठप्प भयो। भूकम्प लगत्तै मनास्लु पदमार्गमा पर्ने आरुघाट–माछीखोला खण्ड
अवरुद्ध थियो। उक्त पदमार्ग खुलेलगत्तै सिर्दिवास र केरौंजास्थित यारुबगरमा खसेको पहिरोले बाटो अवरुद्ध भएको छ। बाटो अवरुद्ध भएपछि फर्कंदा प्रयोग गर्ने मनाङ हुँदै लार्केपासको मार्गलाई केही पर्यटकले प्रयोग गर्ने गरेका हुन्।
अन्य समयमा भने आरुघाट हुँदै समागाउँ, मनास्लु तथा लार्केपास गर्ने गरेका थिए। पर्यटकको सुविधा, स्थानीय व्यापार व्यवसाय र पर्यटक संख्यामा वृद्धि गर्न अवरुद्ध पदमार्ग तत्काल मर्मत सम्भार गर्न स्थानीयहरूले माग गरेका छन्। ‘पर्यटक आउने समय नै यही हो। हिउँद लागेर हिउँ पर्न थालेपछि मर्मत गर्न सम्भव हुँदैन,’ गुरुङले भने, ‘त्यसैले अवरुद्ध पदमार्ग तत्काल मर्मतसम्भार गर्नुपर्छ।’ भूकम्पले मनास्लु पदमार्गको आरुघाटदेखि सिर्दिवाससम्मका होटलहरूमा पनि क्षति पुर्‍याएको थियो। ‘सिर्दिवासमाथिका होटलहरूमा भने केही भएन। सुरक्षित नै छन्,’ समागाउँका व्यवसायी लामाले भने।
भूकम्पअघिको तथ्यांकलाई हेर्दा सामागाउँ–६ मा पर्ने ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु चढ्ने विदेशी पर्यटकहरूको संख्या भने बर्सेनि वृद्धि हुँदै गएको थियो। गत वर्ष ५ हजार ६ सय ५८ पर्यटक आएका थिए। आयोजना प्रमुख गुरुङका अनुसार सन् १९९५ मा ३ सय ४४ जना पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरे पनि हरेक वर्ष बढ्दो क्रममा छ। ‘पदमार्ग तत्काल खुलाउन सकियो भने पर्यटक संख्या बढ्छ। नभए उनीहरू आउन सजिलो छैन,’ आयोजना प्रमुख गुरुङले बताए।
पर्यटक आगमनसँगै स्थानीयको व्यापार–व्यवसायका साथै आयोजनाले संकलन गर्ने राजस्वमा समेत वृद्धि हुने गरेको छ। गत आर्थिक वर्ष संरक्षण क्षेत्रले प्रवेश दस्तुरबापत १ करोड १३ लाख ६२ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको थियो। विदेशी पर्यटकसँग २ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरिन्छ। मार्च, अप्रिल, मे, अक्टोबर र नोभेम्बरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ। अक्टोबर सबैभन्दा बढी पर्यटक आउने महिना मानिन्छ।
बढी मात्रामा फ्रान्सेली नागरिकहरू आउने गरेका छन्। चारवटा आधार शिविरमा बसेर पर्यटकहरूले मनास्लु आरोहण गर्छन्।

प्रकाशित : आश्विन ४, २०७२ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?