नृत्यमा निमग्न

सुनीता साखकर्मी

काठमाडौँ —  एसएलसीपछि नर्सिङ पढ्ने लक्ष्यसहित सर्लाहीबाट काठमाडौं आएकी थिइन् उनी  । परीक्षा दिइन् तर नाम निस्किएन  ।

ZenTravel

त्यसपछि के गर्ने ? अन्योलमा परिन् । तब बुबाले उनलाई पद्मकन्या क्याम्पसमा मानविकी संकायमा भर्ना गराइदिए । उनले त्यहा अंग्रेजी साहित्यसँगै नृत्य विषय पनि भेटिन् । सानैदेखिको रुचिलाई निरन्तरता दिने सोच आयो । स्नातक कत्थक नृत्यमा सकिन् । कहिलेकाहीं हिँड्दाहिँड्दै गन्तव्य फेरिन्छ, नसोचेको क्षेत्रमा हात हाल्न पुगिन्छ र त्यसमै मन भुल्छ । यस्तै भयो नम्रता केसीका लागि पनि ।


अहिले कत्थक एवं अन्य नृत्यमा भविष्य बनाउन चाहनेहरूका लागि नम्रता युथ आइकन नै हुन् । उनको नृत्य हेरेरै नृत्यमा प्रवेश गर्नेहरूको जमात ठूलो छ । उनी विद्यार्थीहरुलाई कत्थक र अन्य डान्स फर्म पनि सिकाउँछिन् । उनका बुबाले आफ्नी छोरीको प्रतिभा देखेर नृत्यमै लाग्न प्रेरित गरे । पद्मकन्यामै पढ्दापढ्दै उनले बाहिर अन्य डान्स फर्महरू पनि सिक्दै गइन् । कलेजमा पढ्दै गर्दा उनले आफ्नो नृत्य परिस्कृत हुँदै गएको महसुस गरिन् । आफैंभित्रको नृत्याङ्गनालाई पहिचान गर्ने मौका मिल्यो उनलाई । स्नातकमा उनको रोजाइ कत्थक नृत्य बन्न पुग्यो । यसमा भने उनको बाल्यकालको सम्झना जोडिएको छ । ‘कत्थक भनेकै स्टोरी टेलिङ डान्स हो र मलाई स्टोरीहरू मन पर्छ,’ उनले भनिन्, ‘सानामा हजुरआमा र हजुरबुबाले धेरै कथा सुनाउनुभएको छ । नृत्यमार्फत कथा भन्ने भारतीय शास्त्रीय नृत्य कत्थक रोजें ।’ मास्टर्स गर्न भारतको लखनउ पुगेकी थिइन् । दुई वर्ष उनले लखनउ विश्वविद्यालयमा नृत्य सिकिन् ।

Meroghar


नम्रताका अनुसार एक क्षेत्रमा असफल भइयो भनेर चुपचाप बस्नु मूर्खता हो । कुनै काममा पोख्त नभई ठूलो काम गर्न मानिसलाई आँट आउँदैन । नम्रता भने ‘एक पटक ट्राई गरिहालौँ’भन्नेमा पर्छिन् । ‘म स्किल्ड मान्छेभन्दा पनि जे गर्न पनि आँट गरिहाल्ने मान्छे हुँ,’ उनी भन्छिन्, ‘बिस्तारै आफ्नो सीपको विकास गर्दै छु ।’ भारतबाट पढेर फर्केपछि उनले साथी कृपासित मिलेर कत्यकांक्षा कार्यक्रम गरिन् । जसमा कत्थक नृत्यमार्फत पौराणिक कथा भनियो । यसमा कत्थकमार्फत द्रौपदीको चीरहरणको कथा भनिएको थियो ।


नम्रता नृत्यमा स्टेप्समा भन्दा हाउभाउमा निखार ल्याउन जोड दिने गर्छिन् । ‘नाच्नु भनेको शरीर चलाउनु मात्रै हैन,’ उनले भनिन्, ‘हरेक अंगले आआफ्नै भाषा बोलेको हुन्छ । खुट्टाको चाल, हातको इसारा, कम्मरको चाल सबै मुभमेन्टमा नृत्यकै भाषा लुकेको हुन्छ ।’ नाटकमा विशुद्ध अभिनयभन्दा पनि यसमा अरू शैली र कलाको तड्का लगाउन उनलाई मन लाग्छ । त्यसैले कलाकै विविध माध्यमलाई नृत्यसँग जोडेर प्रस्तुत गर्ने कोसिस गर्छिन् । यसकै प्रयासस्वरूप उनले नृत्य र नाटकलाई फ्युजन गर्दै नाटक गर्ने गरेकी छन् । ‘ज्यानमाया’, ‘ंराजेन्द्रलक्ष्मी’ र हालै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएको ‘मोक्षदा’ नृत्यनाटिकामार्फत प्रस्तुत गरिएको थियो । उनले आफ्ना नाटकमा महिलाका विषयलाई प्रधानताका साथ उठाउने कोसिस पनि गर्छिन् । ‘आफू महिला भएको कारण मैले मेरो आवाज बोल्नुपर्छ । जति सक्छौं त्यति बोल्नुपर्छ।’ नृत्यनाटिकामा महिलाका विषय उठाउँदा नाराबाजी भयो भनेर उनलाई सुनाउने गरेका छन् । त्यो उनलाई मन पर्दैन । भन्नेहरूले उनलाई ‘यस्ता महिलाका इस्यु लिएर गाउँमा जानुपर्छ । सहरमा यस्तो विभेद छैन, किन सहरमा देखाएको’ समेत भन्ने गरेका छन् । यसमा भने उनलाई चित्त बुझ्दैन । ‘नाराबाजी भएको छ कि छैन मलाई थाहा छैन तर महिलामाथि फोकस हुनुपर्दैन भनेको चाहिँ चित्त बुझ्दैन,’ उनी भन्छिन्, ‘सहरमै पनि कति धेरै समस्या छन् भन्ने कुरामा मानिस सचेत छैनन् । त्यसैले पनि सहरमा देखाउन जरुरी छ ।’

प्रकाशित : फाल्गुन २४, २०७५ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

चिठी आएन, कविता आइन्

नारी दिवसमा प्रस्तुति दिन गायिका कृष्णमूर्ति पति एल सुब्रमण्यमसाग काठमाडौं 
सुनीता साखकर्मी

काठमाडौँ — सोल्टी क्राउन प्लाजाको दोस्रो तल्ला । बिहीबार मध्याह्नको एक बज्दै थियो । बुधबार मात्रै नेपाल आएकी भारतीय प्रख्यात पार्श्व गायिका कविता कृष्णमूर्ति सोल्टीमै छिन् । दोस्रो तल्लाको सानो लिभिङ एरियामा बिहानैदेखि विभिन्न मिडियाका लागि एक्लै अन्तर्वार्ता दिनमै व्यस्त थिइन् उनी ।

भारतीय गायिका कविता कृष्णमूर्ति पति एल सुब्रमण्यम र नातिनीसँग । तस्बिर : अनिश रेग्मी/कान्तिपुर

अर्को टोली अन्तर्वार्ता लिन क्यामेरासहित कोठामा छिर्दै गर्दा उनी एक्कासि बाहिरिइन् । एक्लै अन्तर्वार्ता दिन बोर लाग्यो सायद, केही बेरपछि पति एल सुब्रमण्यम र नातिनीलाई लिएर भित्र पसिन् । कोठामा बस्दै गर्दा पति भएतिर हेर्दै उनले भनिन्, ‘संगीतकै कारण मैले उहाँलाई भेटेकी हुँ । भोलि (शुक्रबार) उहाँसँगै स्टेजमा गाउँछु ।’

कुनै समयकी हिट गायिका हुन्, कविता । मेलोडी क्विनको उपाधि नै पाएकी थिइन् उनले । पति सुब्रमण्यम भारतका प्रख्यात भ्वाइलिनवादक हुन् । अन्तर्राष्ट्रिय नारीदिवसको अवसरमा भारतीय दूतावासले सुब्रमण्यम र कवितालाई कन्सर्टमा आमन्त्रण गरेको हो । आफ्नो पतिसित स्टेज सेयर गर्न पाउँदा गर्व लागिरहेको उनले प्रतिक्रिया दिइन् । कविताका अनुसार सुब्रमण्यम ‘नारीलाई इज्जत दिने मान्छे’ हुन् ।

विवाहको बीस वर्ष पुग्दासमेत सुब्रमण्यमले आफूलाई केही गर्न नरोकेको र स्वतन्त्र निर्णय लिन आग्रह गर्ने गरेको कविताले बताइन् । ‘मैले चाहेको गर्न सक्छु । आफ्नै कन्सर्टमा त जान्छु नै, उहाँकै कन्सर्टमा पनि मलाई गाउनको लागि बोलाउनुहुन्छ । त्यही भएर म आज नेपाल आइपुगें । सबैभन्दा ठूलो उहाँले मलाई इज्जत दिनुभएको छ,’ घरी पतिलाई, घरी क्यामेरातर्फ हेर्दै उनले भनिन्, ‘नारी दिवसको अवसरमा उहाँसितै मैले गाउन पाउँदा गर्व गर्छु ।’ पतिले घरमा आफूलाई पत्नी वा आमा हुनुपर्छ भन्दै कहिल्यै बन्धनमा नबाँधेको पनि उनले सुनाइन् ।

पहिलोपटक आएँ
नेपाली फिल्मी संगीतको इतिहास हेर्दा धेरै भारतीय गायक गायिकाले गाएका छन् । पुराना चर्चित नेपाली गीत गाउनेमध्येकी एक प्रतिभा कविता पनि हुन् । उनले थुप्रै नेपाली सदावहार गीत गाएकी छन् । ती सबै गीत भारतमै रेकर्डिङ गरिएका हुन् । तिनताक फिल्मी संगीत प्रायः भारतमै हुन्थ्यो । कविता पहिलोपटक नेपाल आएकी हुन् भने उनका पति एल सुब्रमनियमको चाहिँ यो पाँचौं नेपाल यात्रा हो ।

शम्भुजित बाँस्कोटाले कवितालाई ‘ट्रक ड्राइभर’ फिल्मका लागि ‘चिठी आएन..’ गीत गाउन लगाएका थिए पहिलो पटक । त्यसपछि उनले ‘चोरीदेऊ चोरिदेऊ..’, ‘गुराँस सरी...’, ‘जानी नजानी...’, ‘लौन मायालुको देशमा..’, ‘माया नै माया छ तिम्रो नाउमा...’, ‘कति आउली अग्ली भई...’ लगायत दर्जनौँ हिट गीत गाएकी छन् । नेपाली गीत गाउँदा नेपाल कस्तो होला भन्ने कल्पना गरेकी उनले नेपालमै आउन पाउँदा खुसी लागेको बताइन् । ‘बोलाउनुहुन्छ भने फेरि आउन तयार छु र गाउन पनि तयार छु,’ उनले भनिन् ।

टर्निङ प्वाइन्ट
कविताको बाल्यकाल दिल्लीमा नै बित्यो । बुवा शिक्षा मन्त्रालयअन्तर्गत भारतीय विदेश सेवामा जागिरे थिए । सानो छँदा कविता पनि त्यसैमा जागिरे हुने सपना बुन्थिन् । तर उनकी आन्टीले ‘तिमीमा म्युजिकको गुण छ, तिमीमा मैले प्लेब्याक सिंगर देखेको छु’ भन्दै मुम्बई छिराइन् । उनैले कवितालाई मुम्बई ल्याइन् र सेन्ट जेभियर्स कलेजमा भर्ना गरिदिइन् । कलेजमा संगीत कक्षा हुन्थे । त्यहाँ सिक्दै उनले स्टेजमा समेत गाउन थालिन् । ‘रवीन्द्र’ संगीत सिकेकी उनले त्यहाँ शास्त्रीयसँगै बलिउडका गीत गाउन सिकिन् ।

अर्थशास्त्रतर्फ स्नातक गर्दै गर्दा उनको झुकाव भने संगीततिरै बढी भयो । स्नातक सकाएपछि भने अर्थशास्त्र पढ्न रुचि भएन अनि म्युजिकलाई नै फुलटाइम दिइन् । साउथ इन्डियन परिवारमा हुर्किएकी उनलाई फिल्मी म्युजिकमा छिर्नु सजिलो थिएन । सुरुमा उनलाई पनि स्विकारिएको थिएन । फिल्म क्षेत्र महिलाका लागि खतरनाक हुन्छ भनेर डर देखाउँथे ।

‘हाम्रो परिवारमा महिलालाई केवल पढ्न छुट दिइएको थियो र अन्त ध्यान नदेओस् भन्ने चाहन्थे,’ उनले भनिन्, ‘केटीहरू पढेर इन्जिनियर, डाक्टर भइसकेपछि उसको विवाह गरिदिन्थे ।’ अहिले पनि कतिपय ठाउँमा यस्तै नै छ । तर उनले त्यो रीत तोडिन् र बलिउड छिरिन् । भन्छिन्, ‘जब म म्युजिक गर्थेँ, सबैभन्दा खुसी महसुस गर्थेँ । सफल हुँदै गएपछि परिवारले पनि साथ दिँदै गयो ।’ कलेजमै छँदा उनले लतामंगेश्करसित गीत गाउन पाइसकेकी थिइन् । त्यसैले उनी मुम्बई आउनु नै आफ्नो जीवनको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ मान्छिन् ।

‘यहीँ आएर संगीतमा धेरै ज्ञान पाएँ, संगीतकै माध्यमबाट चिनिएको छु,’ उनले भनिन् । कलेजमा छँदै उनी विज्ञापन लागि जिंगल गाउँथिन् । त्यतिखेरको ‘निर्मा वासिङ पाउडर निर्मा..’ जिंगल निकै रुचाइएको थियो । भजन, गजल, भागवत् गीता पनि गाएकी छन् । विस्तारै उनले ठूलो पर्दाका लागि गाउने मौका पाइन् ।

लक्ष्मीकान्त प्यारेलालसित मिलेर लता मंगेश्कर, आशा भोस्लेका लागि गीतको डबिङ गर्थिन् । मिस्टर इन्डिया फिल्मको ‘हवा हवाई..’ गीत कविताले केवल डब गर्न लागेकी थिइन् तर पछि उनकै स्वर त्यो गीतमा राखियो । त्यसपछि बंगालीमा गीत गाउने मौका पाइन् ।

‘मेरो सुरुवात यसरी नै भएको थियो । जुन एकदमै रमाइलो भएको थियो । त्यसपछि मैले संगीत मेरो जीवनमा कति महत्त्वपूर्ण छ भनेर थाहा पाएँ,’ उनले भनिन् । उनले आफ्नो तीसवर्षे सांगीतिक करिअरमा १६ फरक भाषामा १८ हजारभन्दा बढी गीत गाइसकेकी छन् ।

उनले संगीतकार लक्ष्मीकान्त प्यारेलालसँगै एस एच विहारी, ओ पी नैयर, हेमन्त कुमार, बप्पी लेहेरी, अनु मलिक, आरडी वर्मन, एआर रेहेमान लगायतसित समेत काम गरिसकेकी छन् । उनको गायकीको सम्मानस्वरूप भारत सरकारले सन् २००५ पद्मश्री अवार्ड दिएको थियो । ‘हवा हवाई..’ सँगै ‘दिल ने कहाँ चुपके से..’, ‘निम्बुडा...’ ,‘जुली जुली..’, ‘आई लभ माई इन्डिया..’ लगायत कैयौँ हिट गीत उनले बलिउडलाई दिएकी छन् ।

नयाँ गीत सुन्दा दुःख लाग्छ
अचेल कविता बलिउड सांगीतिक क्षेत्रबाट टाढै छिन् । देशविदेशमा हुने कन्सर्टहरूमै व्यस्त छिन् उनी । तर अहिले बलिउडमा आएका ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए..’, ‘मै तो तन्दुरी मुर्गी हुँ यार घटाले सैयाँ अल्कोहल से...’ लगायत गीत सुन्दा उनलाई नराम्रो लाग्छ । उनले आफ्नो जीवनमा यस्ता गीत नगाएको दाबी गर्छिन् ।

‘यस्ता गीत मात्रै गाउने भए किन संगीत सिकेको भनेर म अचम्ममा पर्छु,’ उनले भनिन्, ‘त्यो पनि एक किसिमको संगीत, गायकी हो । तर संगीत सिक्नुको औचित्य त्यस्तै खालको गीत गाउनु मात्रै हैन ।’ संगीत भनेको जीवनकै अभिव्यक्ति हो भन्ने उनलाई लाग्छ । उनलाई प्रायः शास्त्रीय संगीत मिसिएको गीत नै मनपर्ने गर्छ ।

अहिलेका पुस्तामा हिपहप, ज्याज, रिमिक्स सुन्ने र गाउने चलन बढेको छ । कविताको पालामा त्यस्तो केही थिएन । न इन्टरनेट थियो, न अहिले जस्तो सुविधा । गीत सुन्ने माध्यम नै दूरदर्शन थियो । अनि त्यसमा प्रसारण हुने ‘सामे गजल’, ‘आरोही’ कार्यक्रममा बज्ने गीत सुन्थे । र त्यसमा बज्ने गीत प्रायः भारतीय संगीतकै बेसमा हुन्थे ।

केही लोक, केही गजल । त्यही सुन्दै उनले गीत गाउन जानिन् । केही वेस्टर्न गीत पनि सुन्छिन् । ‘अहिले बज्ने गीत नराम्रा भन्न खोजेको हैन,’ उनले भनिन्, ‘तर त्यसमा प्रयोग हुने गीतका बोल र भावले महिलालाई झनै होच्याएको हो कि भन्ने लाग्छ । शब्द राम्रो भए गीत राम्रो हुन्छ ।’

प्रकाशित : फाल्गुन २४, २०७५ ०७:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×