३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नृत्यमा निमग्न

सुनीता साखकर्मी

काठमाडौँ —  
एसएलसीपछि नर्सिङ पढ्ने लक्ष्यसहित सर्लाहीबाट काठमाडौं आएकी थिइन् उनी  । परीक्षा दिइन् तर नाम निस्किएन  ।

नृत्यमा निमग्न

त्यसपछि के गर्ने ? अन्योलमा परिन् । तब बुबाले उनलाई पद्मकन्या क्याम्पसमा मानविकी संकायमा भर्ना गराइदिए । उनले त्यहा अंग्रेजी साहित्यसँगै नृत्य विषय पनि भेटिन् । सानैदेखिको रुचिलाई निरन्तरता दिने सोच आयो । स्नातक कत्थक नृत्यमा सकिन् । कहिलेकाहीं हिँड्दाहिँड्दै गन्तव्य फेरिन्छ, नसोचेको क्षेत्रमा हात हाल्न पुगिन्छ र त्यसमै मन भुल्छ । यस्तै भयो नम्रता केसीका लागि पनि ।


अहिले कत्थक एवं अन्य नृत्यमा भविष्य बनाउन चाहनेहरूका लागि नम्रता युथ आइकन नै हुन् । उनको नृत्य हेरेरै नृत्यमा प्रवेश गर्नेहरूको जमात ठूलो छ । उनी विद्यार्थीहरुलाई कत्थक र अन्य डान्स फर्म पनि सिकाउँछिन् । उनका बुबाले आफ्नी छोरीको प्रतिभा देखेर नृत्यमै लाग्न प्रेरित गरे । पद्मकन्यामै पढ्दापढ्दै उनले बाहिर अन्य डान्स फर्महरू पनि सिक्दै गइन् । कलेजमा पढ्दै गर्दा उनले आफ्नो नृत्य परिस्कृत हुँदै गएको महसुस गरिन् । आफैंभित्रको नृत्याङ्गनालाई पहिचान गर्ने मौका मिल्यो उनलाई । स्नातकमा उनको रोजाइ कत्थक नृत्य बन्न पुग्यो । यसमा भने उनको बाल्यकालको सम्झना जोडिएको छ । ‘कत्थक भनेकै स्टोरी टेलिङ डान्स हो र मलाई स्टोरीहरू मन पर्छ,’ उनले भनिन्, ‘सानामा हजुरआमा र हजुरबुबाले धेरै कथा सुनाउनुभएको छ । नृत्यमार्फत कथा भन्ने भारतीय शास्त्रीय नृत्य कत्थक रोजें ।’ मास्टर्स गर्न भारतको लखनउ पुगेकी थिइन् । दुई वर्ष उनले लखनउ विश्वविद्यालयमा नृत्य सिकिन् ।


नम्रताका अनुसार एक क्षेत्रमा असफल भइयो भनेर चुपचाप बस्नु मूर्खता हो । कुनै काममा पोख्त नभई ठूलो काम गर्न मानिसलाई आँट आउँदैन । नम्रता भने ‘एक पटक ट्राई गरिहालौँ’भन्नेमा पर्छिन् । ‘म स्किल्ड मान्छेभन्दा पनि जे गर्न पनि आँट गरिहाल्ने मान्छे हुँ,’ उनी भन्छिन्, ‘बिस्तारै आफ्नो सीपको विकास गर्दै छु ।’ भारतबाट पढेर फर्केपछि उनले साथी कृपासित मिलेर कत्यकांक्षा कार्यक्रम गरिन् । जसमा कत्थक नृत्यमार्फत पौराणिक कथा भनियो । यसमा कत्थकमार्फत द्रौपदीको चीरहरणको कथा भनिएको थियो ।


नम्रता नृत्यमा स्टेप्समा भन्दा हाउभाउमा निखार ल्याउन जोड दिने गर्छिन् । ‘नाच्नु भनेको शरीर चलाउनु मात्रै हैन,’ उनले भनिन्, ‘हरेक अंगले आआफ्नै भाषा बोलेको हुन्छ । खुट्टाको चाल, हातको इसारा, कम्मरको चाल सबै मुभमेन्टमा नृत्यकै भाषा लुकेको हुन्छ ।’ नाटकमा विशुद्ध अभिनयभन्दा पनि यसमा अरू शैली र कलाको तड्का लगाउन उनलाई मन लाग्छ । त्यसैले कलाकै विविध माध्यमलाई नृत्यसँग जोडेर प्रस्तुत गर्ने कोसिस गर्छिन् । यसकै प्रयासस्वरूप उनले नृत्य र नाटकलाई फ्युजन गर्दै नाटक गर्ने गरेकी छन् । ‘ज्यानमाया’, ‘ंराजेन्द्रलक्ष्मी’ र हालै नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएको ‘मोक्षदा’ नृत्यनाटिकामार्फत प्रस्तुत गरिएको थियो । उनले आफ्ना नाटकमा महिलाका विषयलाई प्रधानताका साथ उठाउने कोसिस पनि गर्छिन् । ‘आफू महिला भएको कारण मैले मेरो आवाज बोल्नुपर्छ । जति सक्छौं त्यति बोल्नुपर्छ ।’ नृत्यनाटिकामा महिलाका विषय उठाउँदा नाराबाजी भयो भनेर उनलाई सुनाउने गरेका छन् । त्यो उनलाई मन पर्दैन । भन्नेहरूले उनलाई ‘यस्ता महिलाका इस्यु लिएर गाउँमा जानुपर्छ । सहरमा यस्तो विभेद छैन, किन सहरमा देखाएको’ समेत भन्ने गरेका छन् । यसमा भने उनलाई चित्त बुझ्दैन । ‘नाराबाजी भएको छ कि छैन मलाई थाहा छैन तर महिलामाथि फोकस हुनुपर्दैन भनेको चाहिँ चित्त बुझ्दैन,’ उनी भन्छिन्, ‘सहरमै पनि कति धेरै समस्या छन् भन्ने कुरामा मानिस सचेत छैनन् । त्यसैले पनि सहरमा देखाउन जरुरी छ ।’

प्रकाशित : फाल्गुन २४, २०७५ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
हजार साङ्लाहरू

हजार साङ्लाहरू

फाल्गुन २४, २०७५
चिकित्सामा नेतृत्व

चिकित्सामा नेतृत्व

फाल्गुन २४, २०७५
प्रेरणाका तीन रूप

प्रेरणाका तीन रूप

फाल्गुन २४, २०७५
डरको अघि बन्जी !

डरको अघि बन्जी !

फाल्गुन २४, २०७५
नीति निर्माणमा

नीति निर्माणमा

फाल्गुन २४, २०७५
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?