हजार साङ्लाहरू

व्यवसाय उद्यमका कठिनाइ आफ्ना ठाउँमा छन् । राजनीति पनि कहाँ सजिलो छ र ? आधुनिक नेपालको विकास भयो तर राजनीतिक रूपमा महिला त्यहाँ छिर्न पाएनन् । पाए पनि महफ्वपूर्ण स्थान बनाउन सकेनन्, महफ्वपूर्ण निर्णय लिन बसेको बैठकभित्र अटाएनन् ।
शिल्पा कर्ण

काठमाडौँ —  मेरी आमाका गुणहरूमध्ये एउटा सिलाइ, कटाइ र बुनाइ जान्नु पनि हो  । स्वास्थ्यले साथ दिएसम्म सिलाइ मेसिनमा बसिरहनुहुन्छ  ।

उहाँले हाम्रा थुप्रै कपडा सिलाउनुभो, टाल्नुभो । त्यसलाई व्यवसायका रूपमा चलाउने सोचे पनि विभिन्न कारणले सक्नुभएन । उमेरको ४ दशक पार गरेपछि बल्ल ४ जना साथी मिलेर सिलाइ–कटाइ ‘टेलर’ मा लगानी गर्ने निर्णय लिनुभयो । चारै जना नगरपालिकाबाट महिलाका लागि छुट्याइएको बजेटले सञ्चालित सिलाइ–कटाइ तालिम लिई आआफ्नै घरका कपडा सिलाउने ।


४ वर्षअघि सबैलाई सहज पर्ने स्थानमा पुरानो सटर भाडामा लिइयो । काम ठीकै चले पनि सबैको एउटै समस्या हुन्थ्यो, शौचालय फोहोर हुँदा आफैंले सफा गराइरहनुपर्ने । घरबेटीसँग लिखित सम्झौता गर्ने चलन नै नभएकाले दुई महिनामै भाडा बढाइयो । छेवैको घरको भुइँतलामा पनि अर्को टेलर थियो । त्यहाँका पुरुष कामदार शौचालय आवश्यक परे अगाडिकै नालामा जान्थे, शौचालयको कामै थिएन । तर, यता महिलाहरूले भने जसको घर नजिक छ, उसैको शौचालयमा पस्थे । यो टेलर मुस्किलले एक वर्ष चल्यो । त्यसपछि फेरि सबै आआफ्नै काममा घरको दैलोमा पसे पहिले जसैगरी । यसरी शौचालयका कारणले एउटा व्यवसाय बन्द भयो ।


महिलालाई सानै व्यवसाय सञ्चालन गर्नुपरे पनि यी यस्ता सानै कठिनाइले नै रोक्छन् । ठूला व्यवसाय सञ्चालन गर्नुपरे पुँजी जम्मा गर्नै कठिनाइ छ । लगानी जुटाउन पत्याइदिने मान्छे खोज्दाको हैरानी सुनाउँछन् महिला व्यवसायी । लामो समयदेखि व्यवसाय गरिरहेका महिलाहरूले पनि विभिन्न खालका समस्या सामना गर्नुपरेको सुनाउँछन् । तिनमा केही सामान्य वा पुरुषले पनि भोग्ने खालका थिए भने केही नितान्त भिन्न ।



आठ वर्षदेखि बखुन्डोलमा अर्गानिक क्याफे सञ्चालन गरिरहेकी रेखा खेतान परिवारबाटै परिवर्तनको सुरुआत हुनुपर्ने मान्छिन् । व्यावसायिक घरानाहरूमा छोरालाई यसरी तयारी गरिन्छ ताकि उसले भविष्यमा पारिवारिक व्यवसाय थाम्न सकोस् । छोरीलाई त्यसरी तयार गरिन्न । छोरीलाई त्यस्तो वातावरण दिइन्न । खेतानको भनाइमा महिलाले घर, नातागोता, छरछिमेक सबैतिर परिवारको प्रतिनिधित्व गर्दै राम्रो सम्बन्ध बनाउनुपर्छ, सँगसँगै व्यवसाय पनि हेर्नुपर्छ । महिलाले गरेको व्यवसायमा गल्ती वा नोक्सानी भए उसको लिङ्गसँग जोडेर अपरिपक्वता वा अक्षमताको संज्ञा दिई निरुत्साहित गरिन्छ । यस्तै पुरुषको हकमा भए व्यवसायमा हुने नाफा–घाटालाई ‘व्यापारको नियम’ मानिन्छ । ‘छोराहरूलाई घरको काम र बाहिरको दुवै कामका लागि तालिम दिनुपर्छ । अहिले मेरा दुवै छोरालाई त्यसै हिसाबले हुर्काउँदै छु,’ खेतानले थपिन्, ‘केटामान्छेले पारिवारिक क्रियाकलापमा सहभागी हुने, घरका काममा थोरै मात्र सहयोग गरिदिने हो भने महिला उद्यमीलाई धेरै राहत हुन्छ ।’


व्यवसाय उद्यमका कठिनाइ आफ्ना ठाउँमा छन् । राजनीति पनि कहाँ सजिलो छ र ? आधुनिक नेपालको विकास भयो तर राजनीतिक रूपमा महिला त्यहाँ छिर्न पाएनन् । पाए पनि महत्त्वपूर्ण स्थान बनाउन सकेनन्, महत्त्वपूर्ण निर्णय लिन बसेको बैठकभित्र अटाएनन् । पछिल्ला दुई दशककै कुरा गर्ने हो भने पनि माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकु समायोजनका क्रममा महिला माओवादी लडाकुमध्ये समायोजनमा पर्ने निकै कम थिए । अधिकांश महिला अयोग्य ठहरिए, कतिले ‘योग्य’ श्रीमान्लाई सहयोग गर्न घरपरिवार र बालबच्चा हेर्न आफैंले स्वेच्छिक अवकाश रोजे । ४० प्रतिशत महिला लडाकुको सहयोग लिएर ‘जनयुद्ध’ गरेर राजनीतिमा आएको माओवादीका लडाकु सेनामा समायोजन हुँदा महिला २० प्रतिशतमा झरे । ती महिलाले घर हेर्नै भनी आफूले आर्थिक रूपमा निर्भर हुने बाटो त्यागे । उनीहरूले त्यसो नगरे दुई विकल्प थिए, पहिलो श्रीमान्लाई घर हेर्न भनी आफू कमाउने वा सेनामा समायोजन हुने । अर्को काम र परिवारलाई सँगसँगै अगाडि बढाउने । तर, धेरैले तेस्रो विकल्पका रूपमा स्वेच्छिक अवकाश रोजे, परिवारलाई दोस्रो स्थानमा राखी पेसालाई निरन्तरता दिने ‘क्रान्तिकारी निर्णय’ लिन सकेनन् । यसले उनीहरू आर्थिक रूपमा पछाडि पर्ने निश्चित थियो ।


एउटा ‘क्रान्तिकारी राजनीतिक दल’ खुला राजनीतिमा आएपछिका प्रमुख सहमति/सम्झौतामा हस्ताक्षर हेर्ने हो भने महिला कतै भेटिन्नन् । यसबीचमा मधेसको राजनीति पनि सुरु भयो तर अहँ तीबेला भएका सम्झौतामा पनि महिला भेटिँदैनन् । आन्दोलनका तस्बिरमा भने महिला छपक्कै भेटिन्छन् । अहिलेसम्मका घटनाक्रम नियाल्ने हो भने महिलाको भूमिका, श्रेय कतै छैन । त्यसपछि जति पनि सरकार बने मन्त्रिमण्डलमा महिला संख्या निकै कम रह्यो । भएकालाई पनि महिला मन्त्रालय वा अन्य ‘कम महत्त्वका’ मन्त्रालयतिर राखियो ।


यद्यपि केही महिला भने अगाडि आए । राष्ट्रपति रहने व्यवस्था अन्तरिम संविधान २०६३ मा आएसँगै दोस्रो राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीलाई स्थान दिइयो । प्रधानन्यायाधीशका रूपमा पनि सुशीला कार्कीले एउटा इतिहास बनाइन्, ओनसरी घर्ती पहिलो महिला सभामुख बनिन् । अहिले देशले ७ सय ५३ स्थानीय सरकार पाएको छ । तर, त्यसमा १० प्रतिशत महिला पनि सरकार प्रमुख छैनन् न त स्थानीय सरकारको सेवा केन्द्रका रूपमा रहेको वडाअध्यक्षको कुर्सीमा । काठमाडौं महानगरपालिकामा समेत ३२ वडामध्ये जम्मा एउटामा महिला वडाध्यक्ष छन् । अहिलेसम्म नेपालका प्रमुख दलमा महिला नाम मात्रका लागि केन्द्रीय कार्यसमितिमा छन् । निर्णय गर्ने स्थानमा छैनन् । महत्त्वपूर्ण बैठकहरूमा सहभागी हुँदैनन् । गाउँ–टोलमा महिलालाई संगठित गर्ने, भोट उठाउने काममा महिला कार्यकर्ता र तल्लो तहका महिला राजनीतिकर्मी भए पनि केन्द्रीय स्तरमा स्थान पाउने महिला औंलामा गन्न सकिने संख्यामा छन् ।


महिलालाई उठाउन पार्टीबाट सिफारिस भए पनि महिला नै हिच्किचाउने गरेको नेकपा नेतृ विन्दा पाण्डेको अनुभव छ। ‘महिलाहरू वडाअध्यक्षमा उठ्नसमेत त्यत्रो करोडौं खर्च हुन्छ कहाँबाट ल्याउनु भन्छन्,’ उनले एक कार्यक्रममा भनेकी थिइन्, ‘केहीले व्यवस्थापिका संसद्का लागि प्रत्यक्षमा उठ्न खोज्दा समानुपातिक व्यवस्था महिलाका लागि त हो नि, पद पाइहाल्नुहुन्छ भन्ने जवाफ पाइन्छ ।’

मेरी आमाका ४ छोरीमध्ये सिलाइ–बुनाइ कसैले जान्दैनौं । उहाँको सीप अर्को पुस्तामा हस्तान्तरण हुन पाएन । सायद सिलाइ–बुनाइ गरेर आमाले पैसा कमाउनुभएको देखेको भए हाम्रो बाल मस्तिष्कले त्यसलाई पनि राम्रो पेसा मान्थ्यो र हामी सिक्न लालायित हुन्थ्यौं । तसर्थ, यस्ता ‘रुचि’ र सीपलाई व्यवसाय बनाउन राज्य र समाज दुवैको योगदान आवश्यक छ । राज्यले सीप सिकाइएको बहानामा बजेट सक्नुभन्दा त्यसको प्रभाव मूल्यांकन आवश्यक हुन्छ । केवल आर्थिक सहयोगभन्दा पनि महिलालाई स्वनिर्भर हुन वातावरण बनाइदिनु निकै आवश्यक छ । जहाँ पनि महिला सहभागिता राज्यकै तर्फबाट अनिवार्य हुनुपर्छ । राज्य अभिभावक भएपछि नै समाजले पनि सिक्ने हो । प्रकाशित : फाल्गुन २४, २०७५ १२:४६

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चिकित्सामा नेतृत्व

जिम्मेवारीले काठमाडौं मेडिकल कलेज (केएमसी) की प्रधानाध्यापक । पेसाले स्त्रीरोग विशेषज्ञ डा.चन्दा कार्की मेडिकल कलेजको नेतृत्व गर्ने पहिलो महिला हुन् ।
फातिमा बानु

काठमाडौँ — उमेरले ६ दशकमा हिँड्दै गर्दा पनि प्रा.डा.चन्दा कार्कीको दौडधुप युवा अवस्था जक्तिकै सत्रिय छ  । घर र अस्पतालको दौडधुपले चटारो नै हुन्छ  ।

अस्पतालमा कति शल्यक्रिया छ, विद्यार्थीलाई के पढाउने, प्रयोगात्मक के गराउने भन्नेमै उनी दिनरातै व्यस्त हुन्छिन् । ‘हप्ताको तीन दिन शल्यक्रिया गर्नुपर्छ । बिहान पाँचै बजे घरबाट निस्कनुपर्छ । कहिलेकाहीँ त घर सुत्न आउने होस्टल मात्रै हो कि जस्तो लाग्छ ।’


जिम्मेवारीले काठमाडौं मेडिकल कलेज (केएमसी) की प्रधानाध्यापक । पेसाले स्त्रीरोग विशेषज्ञ डा.कार्की मेडिकल कलेजको नेतृत्व गर्ने पहिलो महिला हुन् । ३४ वर्षदेखि उनी स्वास्थ्य क्षेत्रमा लागिरहेकी छन् । १९ वर्षदेखि काठमाडौं मेडिकल कलेज सम्हालिरहेकी छन् ।


महोत्तरीको औरहिनैनी गौरी गाउँमा जन्मिएर बाल्यकाल उतै बिताएकी उनले काठमाडौं र भारतबाट शिक्षा हासिल गरिन् । ५ दशकअघि उनको गाउँमा छोरी मान्छेहरू स्कुल जाने, रोगजारी गर्ने भन्ने विरलै हुन्थ्यो । ‘हामीले त जति दुःख पाउनु थियो, पाइहाल्यौं छोरीले पढ्नुपर्छ, आफ्नो खुट्टामा आफैं उभिनुपर्छ’ उनकी आमाको यही सोचले उनलाई स्कुलसम्म पुर्‍यायो । उनी एकैचोटि चार कक्षामा भर्ना भएकी थिइन् ।


आमाको उपचारका लागि काठमाडौं आएपछि उनको पढाइ यतै शुरु भयो। ‘मधेसबाट आएकाले के पढ्लान् भनेर कुनै विद्यालयले भर्ना लिन मानेनन्,’ यो कुराले उनलाई अहिले पनि बिझाइरहन्छ । मामा लोकविक्रम थापाले डिल्लीबजारको पद्मकन्या विद्याश्रम पुगेर ‘यसले पढ्छे, नराम्रो गरी भने मै फर्काएर लैजान्छु’ भनेर विद्यालय प्रशासनसमक्ष जमानी बसेपछि उनलाई भर्ना लिइएको थियो । कक्षामा उनी कहिल्यै दोस्रो भइनन् । गाउँमा पनि उनी प्रथम नै हुन्थिन् । पद्मकन्याबाटै उनले २०२९ मा एसएलसी पास गरिन् ।


आमाको गम्भीर स्वास्थ्य र मामाको डाक्टरी पेसाले चन्दालाई पनि यही पेसातिर तान्यो । अमृत साइन्स कलेजबाट ‘आईएस्सी’ गरेपछि उनले छात्रवृत्ति पाएर भारतको कलकत्ता युनिभर्सिटीबाट एमबीबीएस गरिन् । ‘छोरी मान्छे घरदेखि टाढा गएर बस्ने पढ्ने होइन’ भन्ने त्यतिबेलाको सोचले उनलाई विदेश गएर पढ्न अप्ठेरो थियो । उनी भन्छिन्, ‘रुस र जापानमा पनि छात्रवृत्ति पाएकी थिएँ, टाढा भयो परिवारको अनुमति भएन ।’


पढाइ सकेर आएको दस दिनमै उनी बिहेको मण्डपमा बसिन् । श्रीमान् टेकेन्द्र कार्की पनि डाक्टर । आफू पछि सरेर भए पनि उनलाई अघि बढाउने उनका श्रीमान् । बिहेपछि पनि उनले चन्दालाई पढ्न पठाए, बच्चा, घरबार आफूले सम्हाले । ‘महिलाको सफलता श्रीमान्को साथ–सहयोगबिना सम्भव छैन, जसरी महिलाले घर सम्हालेकै कारण पुरुष अघि बढ्न सकेका छन्,’ उनले आफ्नो अनुभव सुनाइन् ।


सन् १९८६ मा ३२ हप्ताकी गर्भवती उनी बंगलादेशको ढाका पढ्न गइन् । ‘बल्लतल्ल पाएको छात्रवृत्ति सिट फेरि पाइएला नपाइला’ सोचेर सुत्केरी हुन मात्रै नेपाल फर्किइन् । ११ दिनकी सुत्केरी पढाइ पूरा गर्न फेरि बंगलादेश उडिन् । दूधे शिुशुलाई दिदीको काखमा छाडेर अध्ययन पूरा गर्ने निणर्यप्रति उनको आमा मनलाई अझै ग्लानि हुन्छ । यसपालि पनि उनले युनिभर्सिटी ‘टप’ गरेकी थिइन् । उनका दुवै छोरी डाक्टर छन् । कान्छी नेपालमै छिन्, जेठी विदेशमा ।


लोकसेवाबाट सरकारी कोटामा नाम निकालेपछि सात वर्ष उनले भोजपुर, धरानको पूर्वाञ्चल अस्पताल (अहिले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान) र पोखरामा काम गरिन् । राजधानीका टिचिङ अस्पताल, प्रसूतिगृह, भक्तपुर जिल्ला अस्पताल र अरू सरकारी अस्पतालमा पनि काम गरिन् । भोजपुर अस्पताल पुगेकै दिन सुत्केरी हुन नसकेर पेट फुटेर एक महिलाको ज्यान गुमेको देखिन् । यसले उनलाई त्यहाँ सुत्केरी सेवा सुरु गर्न प्रेरित गर्‍यो । प्रसूतिगृहले निर्खान सघायो । दुर्गमका अस्पतालमा काम गर्दा आफैं डाक्टर, आफैं व्यवस्थापक हुनुपर्ने अनुभव उनले भोगिन् । ‘साह्रै थोरै भौतिक संरचना र जनशक्तिले सेवा दिन निकै गाह्रो हुन्थ्यो । बाटो–बत्ती केही थिएन । दाँत उखाल्ने पनि आफू, हड्डी सीधा पार्ने पनि आफैं,’ उनी भन्छिन्, ‘पूर्वाधार नभएको ठाउँमा जोखिम मोलेर शल्यक्रिया गरी सुत्केरी गराउनुपर्थ्यो ।’


१५ वर्ष सरकारी सेवापछि हाल उनी केएमसीकी प्रिन्सिपल छिन् । अध्यापन र उपचार दुवै अभ्यास गर्छिन् । उनी भन्छिन्, ‘दुवै छोरीलाई डाक्टर बनाउनु थियो, सरकारी तलबले सम्भव नै भएन ।’ महिलालाई डाक्टर बन्न अझै पनि गाह्रो छ । महिला घर चलाउने मात्रै हुन् भन्ने बुझाइ खास परिवर्तन भएको छैन । हतपत महिलाको नेतृत्व स्वीकार गरिँदैन । ‘यस्तै बुझाइले डाक्टरीजस्तो महँगो पढाइमा छोरीमाथि लगानी गर्न हिच्किचाउने प्रवृत्ति छ । जसले गर्दा स्वास्थ्य क्षेत्रको नेतृत्वमा महिलालाई उभिन गाह्रो भएको हो,’ चन्दा भन्छिन्, ‘काम गर्ने ठाउँ पाइहाले पनि महिलाको काम र नेतृत्व नपत्याउने, नटेर्ने पुरुष प्रवृत्तिले महिलालाई यो क्षेत्रमा टिक्न गाह्रो छ ।’


महिलालाई चिकित्सा क्षेत्रको नेतृत्वमा पुर्‍याउने र टिकाउने राज्यको कुनै पहल नहुँदा क्षमतावानहरू पनि पछि परिरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा मन्त्रीहरू महिलाको शिक्षास्तर बढाउने, विभेद हटाउने, समानता ल्याउने कुरा गर्छन् । हस्ताक्षर गर्छन् । कार्यान्वयनमा यो लागू भएको भए स्वास्थ्य क्षेत्रमा पनि महिलाले नेतृत्व लिन सक्छन् ।’

प्रकाशित : फाल्गुन २४, २०७५ १२:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×