१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चिकित्सामा नेतृत्व

जिम्मेवारीले काठमाडौं मेडिकल कलेज (केएमसी) की प्रधानाध्यापक । पेसाले स्त्रीरोग विशेषज्ञ डा.चन्दा कार्की मेडिकल कलेजको नेतृत्व गर्ने पहिलो महिला हुन् ।
फातिमा बानु

काठमाडौँ — उमेरले ६ दशकमा हिँड्दै गर्दा पनि प्रा.डा.चन्दा कार्कीको दौडधुप युवा अवस्था जक्तिकै सत्रिय छ  । घर र अस्पतालको दौडधुपले चटारो नै हुन्छ  ।

चिकित्सामा नेतृत्व

अस्पतालमा कति शल्यक्रिया छ, विद्यार्थीलाई के पढाउने, प्रयोगात्मक के गराउने भन्नेमै उनी दिनरातै व्यस्त हुन्छिन् । ‘हप्ताको तीन दिन शल्यक्रिया गर्नुपर्छ । बिहान पाँचै बजे घरबाट निस्कनुपर्छ । कहिलेकाहीँ त घर सुत्न आउने होस्टल मात्रै हो कि जस्तो लाग्छ ।’


जिम्मेवारीले काठमाडौं मेडिकल कलेज (केएमसी) की प्रधानाध्यापक । पेसाले स्त्रीरोग विशेषज्ञ डा.कार्की मेडिकल कलेजको नेतृत्व गर्ने पहिलो महिला हुन् । ३४ वर्षदेखि उनी स्वास्थ्य क्षेत्रमा लागिरहेकी छन् । १९ वर्षदेखि काठमाडौं मेडिकल कलेज सम्हालिरहेकी छन् ।


महोत्तरीको औरहिनैनी गौरी गाउँमा जन्मिएर बाल्यकाल उतै बिताएकी उनले काठमाडौं र भारतबाट शिक्षा हासिल गरिन् । ५ दशकअघि उनको गाउँमा छोरी मान्छेहरू स्कुल जाने, रोगजारी गर्ने भन्ने विरलै हुन्थ्यो । ‘हामीले त जति दुःख पाउनु थियो, पाइहाल्यौं छोरीले पढ्नुपर्छ, आफ्नो खुट्टामा आफैं उभिनुपर्छ’ उनकी आमाको यही सोचले उनलाई स्कुलसम्म पुर्‍यायो । उनी एकैचोटि चार कक्षामा भर्ना भएकी थिइन् ।


आमाको उपचारका लागि काठमाडौं आएपछि उनको पढाइ यतै शुरु भयो । ‘मधेसबाट आएकाले के पढ्लान् भनेर कुनै विद्यालयले भर्ना लिन मानेनन्,’ यो कुराले उनलाई अहिले पनि बिझाइरहन्छ । मामा लोकविक्रम थापाले डिल्लीबजारको पद्मकन्या विद्याश्रम पुगेर ‘यसले पढ्छे, नराम्रो गरी भने मै फर्काएर लैजान्छु’ भनेर विद्यालय प्रशासनसमक्ष जमानी बसेपछि उनलाई भर्ना लिइएको थियो । कक्षामा उनी कहिल्यै दोस्रो भइनन् । गाउँमा पनि उनी प्रथम नै हुन्थिन् । पद्मकन्याबाटै उनले २०२९ मा एसएलसी पास गरिन् ।


आमाको गम्भीर स्वास्थ्य र मामाको डाक्टरी पेसाले चन्दालाई पनि यही पेसातिर तान्यो । अमृत साइन्स कलेजबाट ‘आईएस्सी’ गरेपछि उनले छात्रवृत्ति पाएर भारतको कलकत्ता युनिभर्सिटीबाट एमबीबीएस गरिन् । ‘छोरी मान्छे घरदेखि टाढा गएर बस्ने पढ्ने होइन’ भन्ने त्यतिबेलाको सोचले उनलाई विदेश गएर पढ्न अप्ठेरो थियो । उनी भन्छिन्, ‘रुस र जापानमा पनि छात्रवृत्ति पाएकी थिएँ, टाढा भयो परिवारको अनुमति भएन ।’


पढाइ सकेर आएको दस दिनमै उनी बिहेको मण्डपमा बसिन् । श्रीमान् टेकेन्द्र कार्की पनि डाक्टर । आफू पछि सरेर भए पनि उनलाई अघि बढाउने उनका श्रीमान् । बिहेपछि पनि उनले चन्दालाई पढ्न पठाए, बच्चा, घरबार आफूले सम्हाले । ‘महिलाको सफलता श्रीमान्को साथ–सहयोगबिना सम्भव छैन, जसरी महिलाले घर सम्हालेकै कारण पुरुष अघि बढ्न सकेका छन्,’ उनले आफ्नो अनुभव सुनाइन् ।


सन् १९८६ मा ३२ हप्ताकी गर्भवती उनी बंगलादेशको ढाका पढ्न गइन् । ‘बल्लतल्ल पाएको छात्रवृत्ति सिट फेरि पाइएला नपाइला’ सोचेर सुत्केरी हुन मात्रै नेपाल फर्किइन् । ११ दिनकी सुत्केरी पढाइ पूरा गर्न फेरि बंगलादेश उडिन् । दूधे शिुशुलाई दिदीको काखमा छाडेर अध्ययन पूरा गर्ने निणर्यप्रति उनको आमा मनलाई अझै ग्लानि हुन्छ । यसपालि पनि उनले युनिभर्सिटी ‘टप’ गरेकी थिइन् । उनका दुवै छोरी डाक्टर छन् । कान्छी नेपालमै छिन्, जेठी विदेशमा ।


लोकसेवाबाट सरकारी कोटामा नाम निकालेपछि सात वर्ष उनले भोजपुर, धरानको पूर्वाञ्चल अस्पताल (अहिले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान) र पोखरामा काम गरिन् । राजधानीका टिचिङ अस्पताल, प्रसूतिगृह, भक्तपुर जिल्ला अस्पताल र अरू सरकारी अस्पतालमा पनि काम गरिन् । भोजपुर अस्पताल पुगेकै दिन सुत्केरी हुन नसकेर पेट फुटेर एक महिलाको ज्यान गुमेको देखिन् । यसले उनलाई त्यहाँ सुत्केरी सेवा सुरु गर्न प्रेरित गर्‍यो । प्रसूतिगृहले निर्खान सघायो । दुर्गमका अस्पतालमा काम गर्दा आफैं डाक्टर, आफैं व्यवस्थापक हुनुपर्ने अनुभव उनले भोगिन् । ‘साह्रै थोरै भौतिक संरचना र जनशक्तिले सेवा दिन निकै गाह्रो हुन्थ्यो । बाटो–बत्ती केही थिएन । दाँत उखाल्ने पनि आफू, हड्डी सीधा पार्ने पनि आफैं,’ उनी भन्छिन्, ‘पूर्वाधार नभएको ठाउँमा जोखिम मोलेर शल्यक्रिया गरी सुत्केरी गराउनुपर्थ्यो ।’


१५ वर्ष सरकारी सेवापछि हाल उनी केएमसीकी प्रिन्सिपल छिन् । अध्यापन र उपचार दुवै अभ्यास गर्छिन् । उनी भन्छिन्, ‘दुवै छोरीलाई डाक्टर बनाउनु थियो, सरकारी तलबले सम्भव नै भएन ।’ महिलालाई डाक्टर बन्न अझै पनि गाह्रो छ । महिला घर चलाउने मात्रै हुन् भन्ने बुझाइ खास परिवर्तन भएको छैन । हतपत महिलाको नेतृत्व स्वीकार गरिँदैन । ‘यस्तै बुझाइले डाक्टरीजस्तो महँगो पढाइमा छोरीमाथि लगानी गर्न हिच्किचाउने प्रवृत्ति छ । जसले गर्दा स्वास्थ्य क्षेत्रको नेतृत्वमा महिलालाई उभिन गाह्रो भएको हो,’ चन्दा भन्छिन्, ‘काम गर्ने ठाउँ पाइहाले पनि महिलाको काम र नेतृत्व नपत्याउने, नटेर्ने पुरुष प्रवृत्तिले महिलालाई यो क्षेत्रमा टिक्न गाह्रो छ ।’


महिलालाई चिकित्सा क्षेत्रको नेतृत्वमा पुर्‍याउने र टिकाउने राज्यको कुनै पहल नहुँदा क्षमतावानहरू पनि पछि परिरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा मन्त्रीहरू महिलाको शिक्षास्तर बढाउने, विभेद हटाउने, समानता ल्याउने कुरा गर्छन् । हस्ताक्षर गर्छन् । कार्यान्वयनमा यो लागू भएको भए स्वास्थ्य क्षेत्रमा पनि महिलाले नेतृत्व लिन सक्छन् ।’

प्रकाशित : फाल्गुन २४, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
हजार साङ्लाहरू

हजार साङ्लाहरू

फाल्गुन २४, २०७५
चिकित्सामा नेतृत्व

चिकित्सामा नेतृत्व

फाल्गुन २४, २०७५
प्रेरणाका तीन रूप

प्रेरणाका तीन रूप

फाल्गुन २४, २०७५
डरको अघि बन्जी !

डरको अघि बन्जी !

फाल्गुन २४, २०७५
नीति निर्माणमा

नीति निर्माणमा

फाल्गुन २४, २०७५
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?