६ दिनमा ८१ हजारले गरे अवलोकन

मेलामा सबैभन्दा बढी चर्चा ७३ लाख ९० हजारको मोटर साइकलले पायो । अगुस्टाको ब्रुटाले ८०० आरआर एलएच ४४ बाइक मेलाकै अवसर पारेर लन्चिङ गरिको थियो ।
विमल खतिवडा

काठमाडौँ — गत बर्ष भन्दा यो वर्ष १४ औं नाडा अटो सोमा आगन्तुकको बाक्लो उपस्थिति थियो । मेलामा भीड बढे पनि साँघुरो प्रदशनीस्थलले गर्दा बर्सेनि समस्या हुँदै आएको छ । यो वर्ष पनि समस्या भयो ।

सबैभन्दा बढी शनिबार २० हजारले मेलाको अवलोकन गरेका थिए । ६ दिनसम्म चलेको मेला आइतबार सकिएको छ । मेला अवधिभर ८१ हजारले अवलोकन गरेको आयोजक नाडा अटोमाबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

योपटक मेलाको आकर्षण विद्युतीय सवारी साधन बने । चारपांग्रे र दुईपांग्रे विद्युतीय सवारी साधनका पाँचवटा स्टल राखिएका थिए । युवादेखि पाकासम्मले विद्युतीय साधनलाई रुचाए ।

‘मेला सोचेभन्दा राम्रो र भव्य भयो,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले भने, ‘त्यसमा पनि योपटकको मेलामा सबैभन्दा बढी प्रोडक्ट लन्चिङ भए ।’ उनका अनुसार मेला अवधिभर चारपांग्रे १४ र दुईपांग्रे १२ वटा नयाँ प्रोडक्ट लन्चिङ भए । मेलामा दैनिकजस्तो विभिन्न ब्रान्डका नयाँ संस्करणका सवारी साधन सार्वजनिक गर्न कम्पनीहरूबीच प्रतिस्पर्धा नै चल्यो । मेलामा सबैभन्दा बढी चर्चा ७३ लाख ९० हजारको मोटर साइकलले पायो ।

अगुस्टाको ब्रुटाले ८०० आरआर एलएच ४४ बाइक मेलाकै अवसर पारेर लन्चिङ गरिएको थियो । आकर्षक भएकाले बाइक हेर्न मेलामा ठूलै भिड लाग्यो । मेला अवधीभर बैंकका १३ वटा स्टल राखिएको थियो र बैंकहरूले मेलामा विद्युतीय सवारी साधनमा ८० प्रतिशत फाइनान्सिङको व्यवस्था गरेपछि उक्त साधनमा आगन्तुकको आकर्षण बढेको थियो ।

अघिल्लो वर्ष ६५ हजारले मेलाको अवलोकन गरेका थिए ।

यो वर्ष आयोजकले ४२४ हजार पुग्ने दाबी गरे पनि संख्या बढेको हो । मेलामा चार पांग्रेतर्फ २३ र दुईपांग्रे १९ ब्रान्डको सहभागिता थियो । १२ वटा लुब्रिकेन्ट्स, टायरका ९ वटा ब्रान्ड, ब्याट्रीका ५ र ग्यारेज उपकरणसम्बन्धी अन्य १४ वटा ब्रान्ड मेलामा राखिएको थियो । मेला अवधिभर ९५ ब्रान्ड तथा कम्पनीको सहभागिता रहेको थियो । गत वर्ष १ सय ३४ स्टल रहे पनि यो वर्ष १ सय ६० वटा स्टल राखिएको थियो ।

‘बर्सेनि स्टलको संख्या बढ्दो छ तर ठाउँ साँघुरो छ,’ अध्यक्ष दाहालले भने, ‘योपटकको मेलामा पनि स्थानको अभाव खड्किएकै हो, छुट्टै प्रदर्शनीस्थल निर्माणका लागि सरकारले नै पहल गर्नुपर्ने हुन्छ, निजी क्षेत्रबाट गर्दा पनि हुने हो तर त्यो अवस्था देखिँदैन ।’ साँघुरो ठाउँले गर्दा मेलामा सवारी साधन राख्नसमेत समस्या भएको थियो ।

मेलास्थलबाट बाहिरिदा सधैं जामको समस्या हुने गर्छ । छुट्टै फराकिलो ठाउँमा प्रदर्शनीस्थल बनाउन सकिए सबै समस्या समाधान हुने आयोजकले जनाएको छ । ‘प्रदर्शनी हलबारे हरेक वर्ष कुरा उठ्ने गर्छ,’ अर्थमन्त्री युवराज खतिवडाले मेला उद्घाटनको बेला भने, ‘यसमा निजी क्षेत्र अघि आओस्, हामी संयुक्त रूपमा अघि बढ्न तयार छौं । यसमा सरकार सहयोग गर्न तयार छ ।’ मेलामा दुईपांग्रेदेखि चारपांग्रे सवारी साधनको बुकिङ पनि सोचेभन्दा राम्रो भएको आयोजकले जनाएको छ ।

मेलाका संयोजक निराकर श्रेष्ठले ठाउँ अभावले गर्दा बर्सेनि समस्या हुने गरेको बताए । ‘यसबारे सरकारलाई भन्दै आएका छौं तर सुनुवाइ भएको छैन,’ उनले भने । मेला समापनको दिनआइतबार टिकट काटेर मेला अवलोकन गर्नेहरूमध्ये लक्की ड्रमार्फत जीपीएक्स जेन्टलमेन्ट दुई सय सीसीको मोटरसाइकल टिकट नम्बर ०१२३३१ जितेको नाडा अटोमोबाइल्स एसोसिएसन
अफ नेपालका सचिव एवं प्रवक्ता अनुप बरालले बताए ।

उनका अनुसार दिनभित्रमा नाडाको कार्यालयमा आएर बाइक लिइसक्नुपर्नेछ । प्रवक्ता बरालका अनुसार उत्कृष्ट तीनवटा स्टललाई पुरस्कृत गरिएको छ । लुब्रिकेन्टसतर्फ लक्ष्मी कम्पनीको मोटुल लुब्रिकेन्ट्स, दुईपांग्रेतर्फ हंसराज हुलासचन्द्र गोल्छाको केटीएम मोटरसाइकल र चारपांग्रेमा युनाइटेड ट्रेडर्स सिन्डिकेटको टोयोटा भएको छ ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बगान पसे अलैंची किसान

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका ८ दोखु वहानन्देका मनोहरि बराल सल्लेरी खेतमा लगाएको अलैंची टिप्न व्यस्त छन् । गत वर्ष प्रतिरोपनी एक मनका दरले उत्पादन भित्र्याएका उनी यो वर्ष अलैंची त्यति राम्रो नफलेपछि खिन्न छन् ।

साढे सात रोपनी जमिनमा साढे नौ मन (४० किलोको १ मन) सम्म अलैंची फलाएका उनले यो वर्ष त्यसको आधा मात्रै उत्पादन भएको बताए । ‘जेलाई पनि स्याहार गर्नुपर्छ, यो वर्ष मेरो स्याहार पुगेन,’ उनले भने, ‘समयमा मलपानी पुर्‍याउन नसक्दा आम्दानी त घट्ने नै भयो, जति फलेको थियो त्योचाहिँ संकलन गरें ।’

वडा ९ हाङदेवाका सञ्चपाल मादेनले पनि एउटा बगानको अलैंची उठाए । सालडाँडा बगानको अलैंची भट्टी लगाइसकेका उनी अब अर्को बगानमा पस्ने तयारीमा छन् । ‘गत वर्षजस्तै फल्यो,’ उनले भने, ‘मल, पानी पनि कम भयो, मूल्यले गर्दा जोस जाँगर पनि घट्यो, त्यसको असर उत्पादनमा त पर्ने नै भयो नि ।’

ठ्याक्कै ढक तराजु राखेर जोख्न भ्याइनसकेका उनले गत वर्षजस्तै तीन मन फलेको अनुमान लगाए । ‘अरूको बगान हेरेर यो बगानमा मेरो त फलेकै रहेछ,’ मादेनले भने, ‘धेरै साथीहरू राम्रो फलेनछ भनिरहनुभएको छ ।’ पाँचवटा बगान भएका उनले थुंगा निकाल्न नथालेसम्म उत्पादनको आकलन गर्न कठिन हुने सुनाए ।

निराशालाइ आशामा बदल्दै किसानहरू अलैंचीको बगानमा पस्न थालेका छन् । अलैंची व्यवसायी महासंघको तथ्यांकअनुसार अहिले देशका ४३ जिल्लामा खेती विस्तार भइसकेको छ । भदौदेखि सुरु हुने संकलनको काम मंसिरमा मात्रै सकिन्छ ।

गत आर्थिक वर्षमा झापाको काँकडभिट्टा नाकाबाट कृषि उपजमध्ये सबैभन्दा बढी निर्यात भएको अलैंचीको संकलन औलबाट सुरु हुन्छ । औलबाट पाक्न थाल्ने यो लेकमा पाकेर टिपिसक्दा सकिन्छ । किसानले जंगल, खेत र बारीमा लगाएको अलैंची बगानबाट बोटभित्रको थुंगा–थुंगा काटेर बाहिर निकाल्नुपर्छ ।

थुंगाबाट दाना छुट्याउनुपर्छ । धेरै किसानले दाना पनि ठूलो र सानो अलगअलग गर्छन् । ठूलो र सानो दानाको मूल्य पनि फरकफरक हुन्छ । त्यसपछि आगोको रापमा सुकाइन्छ । अलैंची सुकाउनुलाई भट्टी लगाउनु भनिन्छ । भट्टीको माथि अलैंची राखिन्छ र तलबाट दाउरा हालेर आगोको कोइलाको राप लगाइन्छ । दानामा पानीको मात्रा सकिएर सरङसरङ गर्ने भएपछि जुटको बोरामा प्याक गरिन्छ । त्यसपछि बिक्रीका लागि योग्य हुन्छ ।

अलैंची भारतको सिक्किमबाट इलाम भित्रिएको थियो । त्यसपछि अरू पहाडी जिल्लामा विस्तार भएको पाइन्छ । सिक्किमसँग जोडिएका ताप्लेजुङ, इलाम र पाँचथरमा सबैभन्दा बढी लगाइएको छ । ६१ वडा रहेको ताप्लेजुङमा त फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाबाहेक बाँकी सबै वडामा अलैंची खेती हुने गरेको छ ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार देशभरिको उत्पादनमा आधा उत्पादन ताप्लेजुङ एक्लैले गर्छ । देशभर ५ हजार टन हाराहारीमा वार्षिक उत्पादन हुने गरेकामा ताप्लेजुङमा मात्रै २८ सय टनसम्म उत्पादन भइरहेको छ ।

बोटलाइ छुट्याएर रोप्दा सजिलै सर्ने अलैंची सुरुमा करेसाबारीका रूपमा लगाइएको थियो । उत्पादित फल दाना पिसेर लगाउने र चिया पिउन प्रयोग गरिन्थ्यो । दाल, तरकारीमा लगाउन मसलाका रूपमा पनि यसको प्रयोग गरियो । उत्पादन बढदै गएपछि बजार खोज्ने क्रममा २०२७/२८ तिर धरानमा लगेर नुनसँग अलैंची साटिएको बुढापाकाको कथन छ ।

सिरिजंघा गाउँपालिका ३ सिकैंचाका गोपी पौडेल आफू स्वयंले धरानको फुस्रेमा अलैंची लगेर नुन साटेर ल्याएको बताउँछन् । ढिके नुनसँग अलैंची सरोवर साटेको उनले बताए । त्यसबेला नुनको मूल्य प्रतिबोरा ५० रुपैयाँ थियो । धरानबाट भारतको सिलिगुडी निर्यात हुन्छ भनेर उनले सुनेका थिए । २०४७ मा प्रतिमन ५ देखि ८ हजारसम्ममा कारोबार भएको अलैंची त्यसको ६ वर्षपछि २०५३ मा झन्डै तेब्बरले बढेर प्रतिमन २० हजार पुगेको थियो ।

यसरी भएको मूल्य वृद्धिले किसानलाइ हौस्यायो । त्यो बेला कति अलैंची उत्पादन तथा निर्यात भयो यकिन नभए पनि २०६४ सालदेखि तथ्यांक राख्न थालेको पाइन्छ । नेपाल, भारत र भुटान तीन देशमा एकै खालको अलैंची उत्पादन हुन्छ ।

समुद्र सतहबाट ८ देखि १८ सय मिटरसम्मको उचाइमा अत्यन्तै राम्रो उत्पादन दिने अलैंची २४ सय मिटरसम्म पनि फलेको छ । वार्षिक २ हजारदेखि २५ सय मिलिमिटरसम्म वर्षा हुने ठाउँमा राम्रो फस्टाएको पाइन्छ । ८ देखि २० डिग्रीको तापक्रम र भिरालो चिस्यानयुक्त छायादार जमिन अलैंचीका लागि उपयुक्त हुने विज्ञहरू बताउँछन् ।

देशभरिको अधिकांश अलैंची झापाको बिर्तामोड र सुनसरीको धरान र इटहरीमा जम्मा हुन्छ । त्यसपछि काँकडभिट्टा नाका भएर भारत निर्यात गरिन्छ । गत वर्षसम्म विराटनगरको जोगमनी भन्सारबाट निर्यात हुँदै आएकामा यो वर्षदेखि काँकडभिट्टाबाट जान थालेको हो । भारतमा जम्मा हुने ठाउँ भनेको कोलकाता हो ।

बिर्तामोडसम्म किसानको उत्पादन जस्ताको तस्तै पुग्छ । बिर्तामोड र सुनसरीमा झुस झार्ने पुच्छर काट्ने काम गरिन्छ । नेपालबाट भारतसम्म जुटको बोरामा जान्छ । त्यसपछि भारतीय उत्पादनका रूपमा आकर्षक प्याकमा तेस्रो मुलुक लैजाने गरिएको छ । १० देखि ५० किलोको बारोमा प्याक गर्ने अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराई बताउँछन् ।

भारतबाट पाकिस्तान र खाडी राष्ट्रका यूएई, दुबई, साउदी अरब, कतारजस्ता देशमा निर्यात गरिन्छ । यसलाई गर्मीमा शीतलता प्रदान गर्ने मसला, आयुर्वेदिक औषधि, मिठाई, बिस्कुटजस्ता खाद्य वस्तुमा प्रयोग गरिने कतार पुगेर फर्किएका चन्द्रप्रकाश भट्टराई बताउँछन् । अलैंचीको बजार अध्ययन गर्न गएका भट्टराई अहिले हवाईसेवामार्फत खाडी राष्ट्रमा अलैंची पठाउन थालेका छन् ।

नुनको बोरासँग साटेको अलैंची प्रतिमन १ लाख २० हजारसम्म पुगेको थियो । अहिले मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा २४ हजार रुपैयाँसम्म झरेको छ । सरकारले दररेट निर्धारण नगरेका कारण भारतीय व्यापारीको भरमा पर्नुपरेको ताप्लेजुङ अलैंची व्यवसायी संघका अध्यक्ष बालमणि बरालले बताए । यसले किसान र व्यवसायी दुवैलाई असुरक्षित बनाएको छ । कुनैबेला ताप्लेजुङ एक्लैले छ अर्ब रुपैयाँ भित्र्याएको थियो । गत आर्थिक वर्षमा नेपालबाट ४ अर्बको मात्रै निर्यात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

किसानको कम्तीमा प्रतिमन ५० हजार रुपैयाँ पुगे लगानी उठाउन सकिने बताउँछन् । ‘बगान फाड्नु, टिप्नु, गोडमेल गर्नु, मल, पानी लगाउँदा खर्च धेरै नै बढछ,’ मादेनले भने, ‘अहिलेको मूल्यले निराश छौं, किनकि मूल्य नै उठाउन गाह्रो हुन्छ ।’ अस्थिर र उतार चढाव भइरहने भएकाले मूल्य बढ्नेमा आशावादी भने रहेको मादेनले बताए ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT