२० अर्बको स्पेयरपार्टस बजार

कान्तिपुर संवाददाता

काठमाडौँ — बजार विस्तारसँगै स्पेयरपार्टसको अवैधानिक आयात पनि मौलाउन थालेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार स्पेयर पार्टसको वार्षिक कारोबार २० अर्ब रुपैयाँ हो । यो रकम टायर र लुब्रिकेन्ट्सबाहेकको हो ।

नाडाका स्पेयर पार्टस समिति सभापति सुरेश उप्रेतीका अनुसार २० अर्बमध्ये करिब ५ अर्ब रुपैयाँको अवैधानिक कारोबार भइरहेको छ । ‘विगतको तुलनामा स्पेयरपार्टसको बजार करिब २०/२२ प्रतिशतले बढेको छ,’ उप्रेतीले भने, ‘विगतको तुलनामा बजार राम्रो भए पनि अहिले तस्करी मौलाइरहेको छ ।’

भन्सारको मिलेमतो
व्यवसायीका अनुसार मुलुकमा ३ किसिमले स्पेयर पार्टस आयात हुन्छ । पहिलो गाडी आयातकर्ताले नै ल्याउँछन् । अर्को खुला बजार भएकाले अन्यले पनि वैधानिक/अवैधानिक दुवै बाटोबाट ल्याउँछन् । तेस्रो पूरै भन्सार छलेर मुलुक भित्रिन्छ । नाडाका अनुसार तस्करी मौलाउनुमा भन्सारको पनि मिलेमतो छ । यसले गर्दा बजार स्वच्छ हुन सकेको छैन ।

बजार स्वच्छ र गुणस्तरीय वस्तु उपलब्ध गराउन अनिवार्य एलसी खोल्नुपर्छ । सफ्ट कपी, प्याकेजिङ सबै चाहिन्छ । कम्प्युटर बिलिङ अनिवार्य चाहिन्छ । ‘त्यो हुँदा तस्करी निरुत्साहित हुन्छ । अवैधानिक प्रक्रिया रोकिन्छ,’ सभापति उप्रेतीले भने, ‘अहिले करिब ३० प्रतिशतभन्दा बढी बजार अवैधानिक छ ।’ अवैधानिक रूपमा भित्रिएका स्पेयर पार्टस गुणस्तरीय हुँदैनन् । उपभोक्ता महँगोमै खरिद गर्न बाध्य हुन्छन् ।

कमसल वस्तुबाट बच्न उपभोक्ता पनि सचेत हुनुपर्ने व्यवसायीहरू बताउँछन् । ‘ठगीबाट बच्न बार कोड हेर्नुपर्छ । कम्पनी, आयात प्याकेजिङ सबै बार कोडमै उल्लेख हुन्छ,’ नाडाका महासचिव सुनिल रिजालले भने, ‘कम्पनीको नाम, एसएसको कोडलगायत सबै देखिन्छ ।’ भन्सार विभागका कर्मचारीले पनि प्याकेजिङ, कम्पनी र प्रोडक्टबारे बार कोड स्क्यान गर्नुपर्ने उनले बताए ।

सभापति उप्रेतीका अनुसार च्यातिएका स्पेयरपार्टस अवैधानिक हुन् । वर्कसपमा पाइने अधिकांश पार्टसको मूल्यसूची पनि च्यातिएको भेटिन्छ । कतिपय पार्टसमा मूल्य नै उल्लेख गरिएको हुँदैन । मूल्य च्यातिएको सामान भन्सारबाट पास हुँदैन । यसरी आयात भइरहेका स्पेयरपार्टसबाट भन्सारदेखि उपभोक्ता ठगिँदै छन् ।

उपभोक्ता संरक्षण ऐन २०४२४ ले पनि सामान बिक्री गर्दा मूल्य अनिवार्य उल्लेख गनुपर्ने भनेको छ । यीबाहेक बजारमा टायर पनि कमसल खालका पाइन्छन् । कमसल टायरको प्रयोगले ती पड्किने सम्भावना बढी हुने उप्रेतीले बताए । ‘गर्मी महिनामा पड्किने सम्भावना बढी हुन्छ । त्यसैले सुरक्षित नै हुनुपर्छ । ट्युबलेस टायर पड्किने सम्भावना कम हुन्छ,’ उनले भने, ‘केही व्यापारीले उपभोक्तालाई ठगिरहेका छन् ।’

महासचिव सुनील रिजाल सामान खरिद गर्दा भ्याट बिल नै माग्नुपर्ने बताउँछन् । भ्याट बिल नहुँदा शंकाको घेराले हेर्नुपर्ने उनको भनाइ छ । ‘सामान खरिद गर्दा आफैं सचेत हुन जरुरी छ । भ्याट बिल पनि मागौं,’ उनले भने, ‘सामानको बारेमा वेबसाइटमा पनि हेर्नुपर्छ ।’ लुब्रिकेन्ट्सको हकमा आईएसआई/एपीआईलगायत आधिकारिक डिलरबाट आयात भए/नभएको हेनुपर्ने उनी बताउँछन् ।

लुब्रिकेन्ट करिब ३० प्रतिशत नेपालमै उत्पादन हुन्छ । टायरको हकमा भने अधिकांश आयात नै हुन्छ । उत्पादन सम्भावना भए पनि आयात नै भइरहेको छ । सभापति उप्रेतीका अनुसार अवैधानिक आयातलाई निरुत्साहित गर्न तालिम, सचेतना कार्यक्रमलगायत गरिएको छ । भन्सार विभागसँग पनि छलफल भएको छ । ‘भन्सारमा सामानको एक्सरे गर्दा एसएस कोडको पनि एक्सरे र बिलिङ गर्नुपर्ने माग गरेका छौं,’ उनले भने ।

इन्धनको मापदण्ड
मुलुकभित्र विश्व प्रख्यात कम्पनीबाट उत्पादित सवारी साधान गुड्छन् । ती सवारी गुडाउन चाहिने इन्धन भने मागपदण्डअनुसार नभएको व्यवसायीहरूको सधैंको गुसानो छ । सरकारले हाल बिक्री गर्ने इन्धन युरो ४ भए पनि केही पम्पहरूले मिसावट गर्दै आएको व्यवसायीहरू बताउँछन् । यसको पुष्टि पनि सरकारी निकायले गर्दै आएको अनुगमनबाट पुष्टि भइसकेको छ ।

युरो मापदण्ड युरोपियन इमिसन स्टान्डर्डले आफ्नो सदस्य राष्ट्रमा बेचिने गाडीहरूका लागि तय गरेको मापदण्ड हो । युरो ३ मापदण्ड जनवरी २००० र युरो–४ जनवरी २००५ देखि लागू भएको हो । अहिले युरो ६ मापदण्ड लागू भइसकेको छ । तर, नेपालमा भने युरो ४ प्रयोग भइरहेको छ । नाडाका अनुसार युरोपियन स्टान्डर्ड भने युरो ५ हो ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एसीसी यू–१९ एसिया कप : पहिचान बनाउने अवसर

विनोद पाण्डे

काठमाडौँ — उमेर समूहको प्रतियोगितामा नेपाली क्रिकेटले धेरै आशा गरेको हुन्छ । यू–१९ मा त अझ बढी । बिहीबारदेखि श्रीलंकामा सुरु हुने एसीसी यू–१९ एसिया कपमा नेपालबाट खासै धेरै अपेक्षा गरिएको छैन ।

पछिल्ला खेलहरूको नतिजाले नेपाली युवा टोलीबाट खासै ठूलो नतिजाको आशा गर्ने स्थिति नबनेको देखाउँछ ।

यू–१९ एसिया कपमा नेपालले धेरै आशा गर्ने ठाउँ पनि रहँदैन । तर धेरै हदसम्म नेपाली क्रिकेटको पहिचान नै यू–१९ मा रहेको छ । नेपालले ७ पटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ । यस क्रममा विश्व क्रिकेटका हस्तीहरू नेपालको सिकार भइसकेका छन् । पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जिम्बावेलाई नेपालसँग यू–१९ मा खेल्नुका कस्ट राम्रोसँग थाहा छ । यी सबै राष्ट्रमाथि नेपालले यू–१९ विश्वकपमा विजय हात पारेका छन् ।

पछिल्ला दुई संस्करणमा भने नेपाल यू–१९ विश्वकपमा पुग्न असफल रहेको छ । यसको प्रभाव राष्ट्रिय टोलीसम्म देखिन लागेको छ । २०१८ को यू–१९ विश्वकपको एसियाली छनोटमा नेपाललाई अफगानिस्तानले कुनै मौका दिएन । अप्रिलमा मलेसियामा भएको २०२० को यू–१९ विश्वकप छनोटमा नेपालले अर्को दुर्भाग्य बेहोर्नुपर्‍यो । नेपाल मजबुत देखिएको समयमा वर्षाले प्रभावित पारेपछि निर्णायक खेलमा यूएईसँग १ रनले पराजित हुँदै दक्षिण अफ्रिकामा हुन लागेको यू–१९ विश्वकपबाट बाहिरिन पुग्यो ।

त्यही यूएईसँग नेपालले कोलम्बोमा एसिया कपको समूह चरणमा खेल्नेछ । सेप्टेम्बर ५ देखि १४ सम्म हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र यूएईसँगैं रहेको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले सेप्टेम्बर ६ मा श्रीलंका, ८ मा बंगलादेश र १० मा यूएईसँग खेल्नेछ । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

श्रीलंका र बंगलादेश त्यसै माथिल्लो स्तरका प्रतिद्वन्द्वी हुन् । विश्वकपमा खेल्ने भनेर यूएईले अझ राम्रो तयारी गरेको छ । विश्वकपमा पुगेपछि यूएईलाई एसिया कपमा सोझै प्रवेश दिइएको छ । नेपालका प्रशिक्षक सजिलो नभएको स्विकार्छन् । ‘यी तीनै टोलीले राम्रो तयारी गरेका छन् भन्ने हामीलाई थाहा छ, त्यसैले उनीहरूलाई चुनौती दिन सजिलो हुने छैन,’ दासले भने, ‘हामीले पछिल्ला अभ्यास खेलहरूमा के देखेका छौं भने हामीले पनि उनीहरूलाई सजिलो हुन दिने छैनौं । उनीहरूलाई हामीलाई पराजित गर्न सजिलो हुने छैन । एउटा के हो भने हामीलेआफ्नो क्षमताभन्दा माथिल्लोस्तरमा खेल्नुपर्छ ।’

नेपालले जुलाईमा मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङलाई सजिलै ६ विकेटले पराजित गरी एसिया कपमा छनोट भएको हो । त्यस टोलीका विशाल विक्रम केसी र तिलक भण्डारीको स्थानमा सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङलाई राखिएको छ । त्यसयता नेपालले श्रीलंकामा तीन अभ्यास खेल खेलेर एसिया कपको तयारी गरेको छ । दुई खेलमा पराजित भए पनि अभ्यासमा नेपालको प्रदर्शनबाट प्रशिक्षक दास सन्तुष्ट छन् ।
प्रशिक्षक विनोद दास कप्तान रोहित पौडेल र अर्का खेलाडीलाई निर्देशन दिँदै । तस्बिर साैजन्य : रमन सिवाकाेटी

‘हाम्रो तयारी राम्रो भएको छ । हामीले तीन स्तरीय टोलीसँग अभ्यास खेल खेल्यौं । तेस्रो अभ्यास खेलमा १० ओभरपछिको ब्याटिङ हाम्रो स्तरअनुरूपको थिएन । यसको कारण हामीले ती ओभरहरूमा सही निर्णय लिन सकेनौं,’ दासले अभ्यास खेललाई लिएर भन्छन्, ‘त्यसबाहेक हामीले निरन्तर राम्रो गरेका छौं । यो प्रतियोगितामा राम्रो गर्नेमा टिम पूरै आशावादी छ ।’

कप्तान रोहित पौडेलसहित आशिफ, पवन सर्राफ, सन्दीप जोरा र भीम सार्की नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । पवन अलराउन्डर हुन् । बाँकी चार ब्याट्सम्यान । नेपालको मुख्य आशा यिनै ब्याट्सम्यानमा छ । विशेषगरी आसिफसहित रित गौतमले अभ्यास खेलहरूमा राम्रो लय देखाएका छन् । पवनले ब्याटिङमा अझै प्रभाव पार्न सकेका छैनन् ।

उमेर समूहमा नेपालको अर्को पहिचान यसै प्रतियोगितामा छ । यू–१९ विश्वकपमा नेपालले अझै श्रीलंका र भारतलाई पराजित गर्न सकेको छैन । दुई वर्षअघि मलेसियामा एसीसी यू–१९ एसिया कपमा नेपालले इतिहासकै सबैभन्दा ठूलो विजय हात पार्‍यो । नेपालले राहुल द्रबिडको प्रशिक्षणमा रहेको भारतलाई १९ रनले पराजित गर्‍यो । भारतमाथि कुनै पनि स्तरमा नेपालको यो पहिलो विजय थियो ।

श्रीलंकामा २०१६ को यू–१९ एसिया कपमा नेपाल एतिहास विजयको नजिक थियो । दीपेन्द्रसिंह ऐरीको ९० रनमा नेपाल पहिलो पटक श्रीलंकालाई पराजित गर्ने क्रममा पुगेको थियो । अन्तमा नेपालले १ रनको दुर्भाग्य हार बेहोर्नुपर्‍यो । यस पटक समूह चरणमा नेपालले फेरि श्रीलंकाको सामना गर्दै छ । विगतको जस्तो सशक्त टोली नभए पनि यू–१९ मा नेपाल कहिल्यै अनुमान गर्ने टोली होइन ।

प्रकाशित : भाद्र १६, २०७६ ०८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT