१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अटो मेलामा दैनिक भीड

विमल खतिवडा

काठमाडौँ — मेलामा आउनेहरूको पहिलो गन्तव्य विद्युतीय सवारी साधन बन्ने गरेको छ । विद्युत्बाट चल्ने गाडी, मोटरसाइकल र स्कुटर मेलामा राखिएकाले युवादेखि पाका पुस्तासम्मको नजर यिनै सवारी साधनमा बढी पर्ने गरेको छ ।

अटो मेलामा दैनिक भीड

आइतबारसम्म चल्ने मेलामा १६० वटा स्टल राखिएको छ । दैनिक मेला हेर्न आउनेको भीड बढ्दो छ । आयोजकका अनुसार उद्घाटनको पहिलो दिन नै १० हजार दर्शकको उपस्थिति रहेको थियो ।


काठमाडौं बूढानीलकण्ठका ७५ वर्षीय चन्द्रबहादुर रायमाझी गत वर्षको मेलामा विदेश भएकाले यो वर्ष मेलामा पुग्न छुटाएनन् । उनी मेलास्थलमा प्रवेश गर्नसाथ सुरुमै विद्युतीय सवारी साधनको स्टलमा पुगे । नयाँ मोडल हेरे । ‘पेट्रोल डिजेलबाट चल्ने गाडीभन्दा यो विद्युतीय गाडी राम्रो लाग्यो,’ उनले भने, ‘केही वर्षयता विद्युतीय गाडी चढ्दै आएको छु, मेलामा नयाँ मोडल हेरिरहेको राम्रो मोडल फेला पारे चढिरहेको गाडी फेर्ने सोच छ ।’ उनले मेलामा सबै ब्रान्डका विद्युतीय गाडी राम्रो लागेको सुनाए ।


‘आगन्तुकको उपस्थिति सोचेभन्दा राम्रो छ,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव एवं प्रवक्ता अनुप बरालले भने, ‘भीडले अटोमोबाइल्समा चासो राख्नेको जमात बढ्दै गएको देखाउँछ ।’ उनका अनुसार सबै सवारी साधनमा मेला हेर्न आउनेको चासो छ । मेलामा चारपांग्रेतर्फ २३ र दुईपांग्रे १९ वटा ब्रान्ड छन् । त्यस्तै मेलामा १२ वटा लुब्रिकेन्ट्स, ९ वटा टायरका ब्रान्ड, ब्याट्रीका ५ र ग्यारेज उपकरणसम्बन्धी १४ ब्रान्ड राखिएको छ । गत वर्ष ७१ ब्रान्डको सहभागिता रहेको मेलामा योपटक ९५ ब्रान्ड तथा कम्पनीको सहभागिता छ ।


‘अहिलेको मेलामा स्टलको संख्या बढेको छ,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले भने, ‘आकर्षण विद्युतीय सवारी साधन बनेका छन् ।’ प्रदर्शनीस्थलमा अवलोकनकर्ताको सुविधाका लागि अस्थायी अकासेपुल बनाइएको छ । भीडमा अवलोकनकर्तालाई आवतजावतमा सहज भएको छ ।


‘मेलामा सहभागी कम्पनी तथा ब्रान्ड सहभागीले नयाँनयाँ मोडल ल्याएका छन्,’ अध्यक्ष दाहालले भने, ‘गत वर्ष त्यति थिएन,यो वर्ष प्रायः सबैको नयाँ ब्रान्ड छ ।’ त्यस्तै मेलामा अवलोनकर्ताले सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट पाइने ऋण र यससम्बन्धी बिमाबारे जानकारी दिने व्यवस्था मिलाइएको छ । १३ वटा बैंक तथा वित्तीय संस्थाका छुट्टै स्टल मेलामा राखिएका छन् ।


मेला संयोजक निराकर श्रेष्ठका अनुसार आयातकर्ता, डिलर, वितरक र उत्पादकहरूको सहभागिता मेलामा छ । अवलोकनकर्ताले मेला अवधिभर सवारीसम्बन्धी सहज रूपमा जानकारी र त्यसका मोडलहरू हेर्न पाएका छन् । प्रदर्शनीमा टिकट काटेर आउनेमध्ये एकजनालाई पुरस्कारको व्यवस्था गरिएको छ ।


टिकट काटेर मेला अवलोकन गर्नेहरूमध्ये लक्की ड्रमार्फत जीपीएक्स जेन्टलमेन्ट २ सय सीसीको मोटरसाइकल पाउने संयोजक श्रेष्ठले बताए । मेला आइतबारसम्म चल्नेछ । मेलाको पाँच वर्षयताको तथ्यांक हेर्दा यो वर्ष मेलामा सहभागिता जनाउने चारपांग्रे ब्रान्डको पनि संख्या बढेको छ ।


साढे ७३ लाखको बाइक

नाडा अटो सो मेलामा चर्चा महँगा बाइकको छ । जुन बाइक गाडीहरूको तुलनामा बढी मूल्यका छन् । दर्शकको केन्द्रविन्दु तिनै मोटरसाइकल बन्ने गरेको छ ।


मोटरसाइकल हेर्ने, त्यसको विशेषता बुझ्ने, मूल्य सोध्ने र सँगै बसेर फोटो खिचाउने दर्शकको भीड लाग्ने गरेको छ । एमभी अगुस्टा ब्रान्डले उत्पादन गरेको मोटरसाइकल भेलोसिटी कम्पनीले अटो सोमा राखेको हो ।


कम्पनीले ४३ लाखदेखि ७३ लाखसम्मका बाइक मेलामा राखेको छ । बिहीबार सबैभन्दा महँगो बाइक लन्च गरिएको छ । अगुस्टाको ब्रुटाले ८०० आरआर एलएच ४४ बााइक लन्च गरिएको हो । जुन ८ सय सीसीको हो । मूल्य ७३ लाख ९० हजार रहेको छ । लुइस ह्याम्लिन्टन र एमभी अगुस्टाको संयुक्त कोलाब्रेसनमा ब्रुटाले ८०० आरआर एलएच ४४ बाइक संसारभरि १४४ वटा बनेको छ ।


यीमध्ये साउथ एसियामै नेपालामा एउटा मात्र बिहीबार उक्त बाइक सार्वजनिक गरिएको भेलोसिटी कम्पनीका स्वरुम म्यानेजर करण मोक्तानले बताए । ‘यो नेपालमा आउनु गर्वको कुरा हो, अटोमोबाइल्स क्षेत्रमा रेभ्युलेसन नै हो,’ उनले भने, ‘बाइकप्रेमीहरूका लागि यो नौलो हो, यस्तो बाइकका प्रयोगकर्ताहरू बढ्दै गएका छन् ।’ उनका अनुसार एफ ३, एफ ४ र टुरिज्मो भेलोचे बाइक २२ वटाभन्दा माथि काठमाडौं, बुटवल, भैरहवा, चितवनमा गुडिरहेका छन् ।


यो इटालीबाट आउने हो । उनका अनुसार मेलामा एमभी अगुस्टा ब्रान्डका ४३ लाख ९० हजारदेखि ७३ लाख ९० हजार मूल्यसम्मका बाइक राखिएको छ । ‘नाडा मेलामा यो बाइकका लागि अफर दिएका छौं,’ उनले भने, ‘३ वर्ष वारेन्ट र ३ वर्ष सर्भिसिङ फ्री गरेका छौं ।’ उनका अनुसार यो मेलामा दिइएको अफर हो ।


मेलामा एमभी अगुस्टा ब्रान्डका बाइक ६ सय ४२४ सीसीदेखि १ हजार सीसीसम्मका बाइक राखिएको छ । मोक्तानका अनुसार यो लिमिटेड इडिसनमा आएको बाइक हो ।

प्रकाशित : भाद्र १३, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?