अटो मेलामा दैनिक भीड

विमल खतिवडा

काठमाडौँ — मेलामा आउनेहरूको पहिलो गन्तव्य विद्युतीय सवारी साधन बन्ने गरेको छ । विद्युत्बाट चल्ने गाडी, मोटरसाइकल र स्कुटर मेलामा राखिएकाले युवादेखि पाका पुस्तासम्मको नजर यिनै सवारी साधनमा बढी पर्ने गरेको छ ।

आइतबारसम्म चल्ने मेलामा १६० वटा स्टल राखिएको छ । दैनिक मेला हेर्न आउनेको भीड बढ्दो छ । आयोजकका अनुसार उद्घाटनको पहिलो दिन नै १० हजार दर्शकको उपस्थिति रहेको थियो ।

काठमाडौं बूढानीलकण्ठका ७५ वर्षीय चन्द्रबहादुर रायमाझी गत वर्षको मेलामा विदेश भएकाले यो वर्ष मेलामा पुग्न छुटाएनन् । उनी मेलास्थलमा प्रवेश गर्नसाथ सुरुमै विद्युतीय सवारी साधनको स्टलमा पुगे । नयाँ मोडल हेरे । ‘पेट्रोल डिजेलबाट चल्ने गाडीभन्दा यो विद्युतीय गाडी राम्रो लाग्यो,’ उनले भने, ‘केही वर्षयता विद्युतीय गाडी चढ्दै आएको छु, मेलामा नयाँ मोडल हेरिरहेको राम्रो मोडल फेला पारे चढिरहेको गाडी फेर्ने सोच छ ।’ उनले मेलामा सबै ब्रान्डका विद्युतीय गाडी राम्रो लागेको सुनाए ।

‘आगन्तुकको उपस्थिति सोचेभन्दा राम्रो छ,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव एवं प्रवक्ता अनुप बरालले भने, ‘भीडले अटोमोबाइल्समा चासो राख्नेको जमात बढ्दै गएको देखाउँछ ।’उनका अनुसार सबै सवारी साधनमा मेला हेर्न आउनेको चासो छ । मेलामा चारपांग्रेतर्फ २३ र दुईपांग्रे १९ वटा ब्रान्ड छन् । त्यस्तै मेलामा १२ वटा लुब्रिकेन्ट्स, ९ वटा टायरका ब्रान्ड, ब्याट्रीका ५ र ग्यारेज उपकरणसम्बन्धी १४ ब्रान्ड राखिएको छ । गत वर्ष ७१ ब्रान्डको सहभागिता रहेको मेलामा योपटक ९५ ब्रान्ड तथा कम्पनीको सहभागिता छ ।

‘अहिलेको मेलामा स्टलको संख्या बढेको छ,’ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले भने, ‘आकर्षण विद्युतीय सवारी साधन बनेका छन् ।’ प्रदर्शनीस्थलमा अवलोकनकर्ताको सुविधाका लागि अस्थायी अकासेपुल बनाइएको छ । भीडमा अवलोकनकर्तालाई आवतजावतमा सहज भएको छ ।

‘मेलामा सहभागी कम्पनी तथा ब्रान्ड सहभागीले नयाँनयाँ मोडल ल्याएका छन्,’ अध्यक्ष दाहालले भने, ‘गत वर्ष त्यति थिएन,यो वर्ष प्रायः सबैको नयाँ ब्रान्ड छ ।’ त्यस्तै मेलामा अवलोनकर्ताले सवारी साधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट पाइने ऋण र यससम्बन्धी बिमाबारे जानकारी दिने व्यवस्था मिलाइएको छ । १३ वटा बैंक तथा वित्तीय संस्थाका छुट्टै स्टल मेलामा राखिएका छन् ।

मेला संयोजक निराकर श्रेष्ठका अनुसार आयातकर्ता, डिलर, वितरक र उत्पादकहरूको सहभागिता मेलामा छ । अवलोकनकर्ताले मेला अवधिभर सवारीसम्बन्धी सहज रूपमा जानकारी र त्यसका मोडलहरू हेर्न पाएका छन् । प्रदर्शनीमा टिकट काटेर आउनेमध्ये एकजनालाई पुरस्कारको व्यवस्था गरिएको छ ।

टिकट काटेर मेला अवलोकन गर्नेहरूमध्ये लक्की ड्रमार्फत जीपीएक्स जेन्टलमेन्ट २ सय सीसीको मोटरसाइकल पाउने संयोजक श्रेष्ठले बताए । मेला आइतबारसम्म चल्नेछ । मेलाको पाँच वर्षयताको तथ्यांक हेर्दा यो वर्ष मेलामा सहभागिता जनाउने चारपांग्रे ब्रान्डको पनि संख्या बढेको छ ।

साढे ७३ लाखको बाइक
नाडा अटो सो मेलामा चर्चा महँगा बाइकको छ । जुन बाइक गाडीहरूको तुलनामा बढी मूल्यका छन् । दर्शकको केन्द्रविन्दु तिनै मोटरसाइकल बन्ने गरेको छ ।

मोटरसाइकल हेर्ने, त्यसको विशेषता बुझ्ने, मूल्य सोध्ने र सँगै बसेर फोटो खिचाउने दर्शकको भीड लाग्ने गरेको छ । एमभी अगुस्टा ब्रान्डले उत्पादन गरेको मोटरसाइकल भेलोसिटी कम्पनीले अटो सोमा राखेको हो ।

कम्पनीले ४३ लाखदेखि ७३ लाखसम्मका बाइक मेलामा राखेको छ । बिहीबार सबैभन्दा महँगो बाइक लन्च गरिएको छ । अगुस्टाको ब्रुटाले ८०० आरआर एलएच ४४ बााइक लन्च गरिएको हो । जुन ८ सय सीसीको हो । मूल्य ७३ लाख ९० हजार रहेको छ । लुइस ह्याम्लिन्टन र एमभी अगुस्टाको संयुक्त कोलाब्रेसनमा ब्रुटाले ८०० आरआर एलएच ४४ बाइक संसारभरि १४४ वटा बनेको छ ।

यीमध्ये साउथ एसियामै नेपालामा एउटा मात्र बिहीबार उक्त बाइक सार्वजनिक गरिएको भेलोसिटी कम्पनीका स्वरुम म्यानेजर करण मोक्तानले बताए । ‘यो नेपालमा आउनु गर्वको कुरा हो, अटोमोबाइल्स क्षेत्रमा रेभ्युलेसन नै हो,’ उनले भने, ‘बाइकप्रेमीहरूका लागि यो नौलो हो, यस्तो बाइकका प्रयोगकर्ताहरू बढ्दै गएका छन् ।’ उनका अनुसार एफ ३, एफ ४ र टुरिज्मो भेलोचे बाइक २२ वटाभन्दा माथि काठमाडौं, बुटवल, भैरहवा, चितवनमा गुडिरहेका छन् ।

यो इटालीबाट आउने हो । उनका अनुसार मेलामा एमभी अगुस्टा ब्रान्डका ४३ लाख ९० हजारदेखि ७३ लाख ९० हजार मूल्यसम्मका बाइक राखिएको छ । ‘नाडा मेलामा यो बाइकका लागि अफर दिएका छौं,’ उनले भने, ‘३ वर्ष वारेन्ट र ३ वर्ष सर्भिसिङ फ्री गरेका छौं ।’ उनका अनुसार यो मेलामा दिइएको अफर हो ।

मेलामा एमभी अगुस्टा ब्रान्डका बाइक ६ सय ४२४ सीसीदेखि १ हजार सीसीसम्मका बाइक राखिएको छ । मोक्तानका अनुसार यो लिमिटेड इडिसनमा आएको बाइक हो ।

प्रकाशित : भाद्र १३, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

जापानमा खेल्ने आस

राजु घिसिङ

काठमाडौँ — नेपालका नम्बर एक गोलकिपर किरणकुमार चेम्जोङले जापानको तेस्रो डिभिजन ‘जे ३ लिग’ को क्लब फुजेदामा दिएको ‘ट्रायल’ लाई सकारात्मक रूपमा लिँदै व्यावसायिक सम्झौताको अवसर हात पार्ने आशा गरेका छन् ।


‘ट्रायल राम्रो भयो,’ जापानको २१ दिने यात्रामा फुजेदा एफसीको पहिलो टिमसँगै १५ दिन ट्रेनिङ गरेको उल्लेख गर्दै किरणले भने, ‘सबै सकारात्मक छन् । मलाई अनुबन्ध गर्न क्लब इच्छुक छ । मेरो पनि जापानमा व्यावसायिक लिग खेल्ने चाहना हो ।’ फुजेदाले डिसेम्बर, २०१९ मा बोलाएको उल्लेख गर्दै उनले त्यसै बेला व्यावसायिक सम्झौताबारे निश्चित हुनेपनि बताए ।

विश्वकप २०२२ छनोटमा कुवेत र चाइनिज ताइपेईविरुद्ध राष्ट्रिय टिमबाट खेल्ने तयारीमा बुधबार स्वदेश फर्किएका किरण बिहीबारै एन्फा कम्प्लेक्समा भइरहेको ट्रेनिङमा फर्किएका छन् ।

जापानको शीर्ष डिभिजनको लिग हो, जे १ लिग । १८ क्लब सहभागी यस लिगलाई एसियाली फुटबलमा राम्रै मानिन्छ । दोस्रो डिभिजन (जे २ लिग) मा २२ क्लब खेलिरहेका छन् । अहिले चलिरहेको जे ३ लिगमा फुजेदासहित १८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

‘होम एन्ड अवे’ का आधारमा ९–१० महिनासम्म चल्ने लिगमा २० खेलको समाप्तिमा फुजेदा २ अंकको अग्रतासहित शीर्षस्थानमा छ । यसबाट शीर्ष दुई टिमको बढुवा हुने प्रावधान छ तर त्यसका लागि क्लबले व्यावसायिक फुटबलमा रंगशाला, एकेडेमी, व्यवस्थापनलगायतमा जापान फुटबल संघ (जेएफए) को सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्छ ।

नेपालका पूर्व स्ट्राइकर सन्तोष साहुखल र आया मियोसीको सहयोगमा जापान पुगे पनि किरण हाल भारतको आई लिग क्लब मिर्नवा पन्जाबसँगको सम्झौतामा छन् । मिर्नवासँगको सम्झौता सेप्टेम्बर (२०१९) देखि मे (२०२०) सम्म रहेको उल्लेख गर्दै उनले भने, ‘मलाई रिलिज (फुकुवा) गरिदिनका लागि मिर्नवालाई आग्रह गर्नेछु । उसले रिलिज दिने विश्वास छ ।’ उनी झन्डै दुई महिनाअघि मिर्नवासँगनयाँ सिजनका लागि अनुबन्धित भएका थिए ।

उनले सिजनको ‘दोस्रो हाफ’ मा पन्जाब पुगेर यस क्लबलाई पहिलोपल्ट आई लिग च्याम्पियन (सन् २०१८) बनाउन सहयोग गरेका थिए । त्यसअघि किरणले टीसी स्पोर्ट्ससँग माल्दिभ्सको धिवेही प्रिमियर लिग (२०१७–१८) को उपाधि पनि जितेका थिए । थ्र्रीस्टार क्लबसँग सहिद स्मारक ‘ए’ डिभिजन र राष्ट्रिय लिग जितेका उनी तीन देशको लिग ट्रफी चुम्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।

किरणले फुजेदामा ट्रायल दिन जाँदा मलेसियन सुपर लिग च्याम्पियन जोहर दारुल ता’जिमविरुद्ध गत सोमबार भएको खेल गुमाएका थिए । कुवेत र ताइपेईसँगको खेलका लागि मुख्य प्रशिक्षक योहान कालिनले बिहीबार घोषणा गरेको २३ सदस्यीय राष्ट्रिय टिममा फर्किएका किरणले भने, ‘दक्षिण एसिया र जापानी क्लबको प्रशिक्षणमा धेरै फरक रहेछ । त्यहाँ हेर्दै व्यावसायिक लाग्ने । खेलाडीहरू निकै तीव्र दौडने, खेल्ने र खेल सामग्री पनि उस्तै अब्बल हुँदोरहेछ । यहाँको सँग तुलना गर्दा त्यहाँको ट्रेनिङ निकै कडा रहेछ । हामी अलि सुस्त नै रहेछौं ।’

फुजेदामा कार्यरत ब्राजिलको गोलकिपिङ कोचबाट धेरै सिकेको उल्लेख गर्दै २९ वर्षीय किरणले भने, ‘त्यहाँ दैनिक दुई सेसनको ट्रेनिङले मेरो फिटनेस राम्रो भएको महसुस गरेको छु ।

राष्ट्रिय टिमको खेललाई पनि फाइदा पुर्‍याउने छ ।’ विराज महर्जन टिममा स्थान बनाउन असफल भएपछि सम्भावित कप्तानको प्रतिस्पर्धामा रहेका उनले विश्वकप छनोटबारे बोले, ‘तीन महिनायता निरन्तर भइरहेको ट्रेनिङमा सबैले राम्रो गरिरहेका छन् । त्यसैले कुवेत र ताइपेईविरुद्ध राम्रो नतिजाका लागि प्रतिस्पर्धा गर्नेछौं ।’

किरण र रोहित फर्किए
काठमाडौं (कास)– मुख्य प्रशिक्षक योहान कालिनले किरण चेम्जोङ र रोहित चन्दलाई समावेश गर्दै विश्वकप २०२२ छनोटमा कुवेत र चाइनिज ताइपेईविरुद्धको खेलका लागि बिहीबार २३ सदस्यीय नेपाली टिमघोषणा गरेका छन् ।

गोलकिपर किरण जापानको तेस्रो डिभिजन क्लबमा ‘ट्रायल’ दिन र पर्सिजा जकार्तामा आबद्ध मिडफिल्डर रोहित इन्डोनेसियन लिग वानमा व्यस्त भएकाले गत सोमबार भएको मलेसियन सुपर लिग च्याम्पियन जोहर दारुल ता’जिमविरुद्धको खेलमा नेपाली टिममा अनुपस्थित थिए । विश्वकप छनोटको अन्तिम तयारीमा खेलिएको उक्त खेलमा नेपाली टिम १–० ले पराजित भएको थियो ।

किरण र रोहितको आगमनसँगै गोलकिपर एलन न्यौपाने र फरवार्ड विमल राना राष्ट्रिय टिमबाट बाहिरिएका छन् । तीन वर्षयता नेपालको कप्तानी गर्दै आएका डिफेन्डर विराज महर्जन मलेसिया यात्रा गरेको टिममै स्थान बनाउन असफल भएका थिए । उनी एक दशकअघि अन्तर्राष्ट्रय फुटबलमा डेब्यू गरेयता राष्ट्रिय टिममा छनोट हुन नसकेको यो नै पहिलो हो ।

एसियन कप २०२३ छनोटका रूपमा पनि रहेको यस विश्वकप छनोटको पहिलो खेल कुवेतविरुद्ध भदौ १९ मा जाबेर अल अहमद रंगशालामा खेल्दै छ । त्यसपछि नेपालले भदौ २४ मा चाइनिज ताइपेईको यात्रा गर्नेछ । छनोटको समूह ‘बी’ मा चार वर्षअघिको एसियाली च्याम्पियन अस्ट्रेलिया, जोर्डन, ताइपेई, कुवेत र नेपाल छन् ।

नेपाली टिम (कुवेत र चाइनिज ताइपेईविरुद्ध)
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, डिफेन्स : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल मिडफिल्ड : सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द, फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ ।

प्रकाशित : भाद्र १३, २०७६ ०७:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्