कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दसैंको माहोल बनाउँदै अटो मेला

‘वर्षभरि बिक्री हुने सवारी साधनमध्ये एक तिहाइ नाडा अटो सो र दसैंमा मात्र बिक्री हुन्छ । त्यसैले अटो सो र दसैं हाम्रा लागि दुवै ठूला चाड हुन्’– कृष्ण दुलाल, उपाध्यक्ष, नाडा
‘टेक्नोलोजी, अटोमोबाइल, मेकानिकल पढ्ने र अनुसन्धान गर्नेका लागि मेला बुझ्ने थलो बनेको छ । त्यही भएर मेलामा फाइदै फाइदा छ’ – अनुप बराल, सचिव, नाडा
विमल खतिवडा

काठमाडौँ — काठमाडौं नक्सालका अनुप अग्रवाल बुधबार नाडा अटो सो मेलामा विभिन्न ब्रान्डका गाडी हेर्न व्यस्त देखिन्थे । एउटा कार घरमा भए पनि थप नयाँ गाडी चाहिएपछि मेलामा बुझ्न पुगेका थिए ।

दसैंको माहोल बनाउँदै अटो मेला

दिनभर उनले आधा दर्जन बढी ब्रान्डको मूल्य, छुटदेखि विशेषतासम्म बुझे । ‘जुन हेर्‍यो उही राम्रो,’ उनले भने, ‘धेरै ब्रान्ड हेरे पनि अन्तिममा बजेटमैत्री गाडी नै किन्ने हो ।’ बाहिर किन्दा प्रत्येक कम्पनीमा पुग्नुपर्छ । एक दिन समय छुट्याएर पुग्दैन ।


‘तर मेलामा सबै ब्रान्डका गाडी हुन्छन्, छानीछानी आफ्नो बनाउन पाइन्छ,’ उनले भने, ‘छुट अफर धेरै हुन्छ ।’ उनले मेलामा पुगेपछि नै बजारमा नयाँनयाँ ब्रान्डका गाडी आएको थाहा पाए । धेरै ब्रान्डका गाडी हेर्दा दोधारमा परेको सुनाए । ‘यहाँ अर्डर गर्ने हो, पछि कम्पनीमा गएर लिने हो,’ उनले भने । मेलामा उनीजस्तै धेरै अवलोकनकर्ता कोही गाडी त कोही मोटरसाइकल र स्कुटर रोज्न व्यस्त देखिन्थे । दसैं आउनु महिना दिनअघि सुरु मेलामा छुटका योजना ल्याउँछन् । मेलाले दसैं सुरु भएको संकेत गर्ने गरेको छ ।


नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल उपाध्यक्ष कृष्णप्रसाद दुलाल चाडबाड नजिकै बेला मेला गर्ने उत्तम समय भएको बताउँछन् । नेपालीले धेरै खर्च चाडबाडकै मुखमा गर्छन् । ‘मेलाले दसैंको माहोल पनि सिर्जना गर्ने गरेको छ,’ उनले भने, ‘यो बेला बिक्री बढ्ने भएकाले त्यसैलाई लक्षित गर्दै मेला गरिएको हो ।’


मेलाले महिना दिनअघिबाटै दसैंको माहोल बनाउने गरेको उनले बताए । सवारी साधन व्यवसायीले यस्तो गर्ने गरेको १४ वर्ष बितिसक्यो । दसैंमा आउने स्किमलाई प्रायः अटो सोमा नै ल्याउने गरिन्छ । ‘अटो सोबाट बजार माहोल बन्छ,’ उनले भने, ‘अटो सोको अवसर पारी देशभरका अधिकृत बिक्रेताले समेत छुट दिने गरेका छन् ।’ मेलामा १६० वटा स्टल राखिएको छ ।


‘वर्षभरि बिक्री हुने सवारी साधनमध्ये एक तिहाइ नाडा अटो सो र दसैंमा मात्र बिक्री हुन्छ,’ उनले भने, ‘त्यसैले अटो सो र दसैं हाम्रा लागि दुवै ठूला चाड हुन् ।’ मेलामा बुकिङ हुन्छ । अटो मोबाइल्सबारे जानकारी गराउने गरिएको छ । ‘मेलामा दसैं तिहारसम्मका लागि कम्पनीका आआफ्ना छुट योजना हुन्छन्,’ उनले भने, ‘अटो सोको समयमा अरू बेलाभन्दा बढी उत्साह हुन्छ ।’


मेलाले ब्रान्डको बजार विस्तार र प्रवर्द्धनका लागि सहयोग गर्ने गरेको छ । विद्यार्थी, इन्जिनियर तथा सबै पेसा व्यवसायमा आबद्धहरू मेलामा आउने गरेका छन् । ‘खरिद गर्नु मात्र ठूलो कुरा होइन, भविष्यमा खरिद गर्न चाहनेले पनि सोमा आएर जानकारी लिन र बुझ्न सक्छन्,’ उनले भने, ‘समग्रमा हेर्दा बिक्री प्रवर्द्धनदेखि सडक सुरक्षासम्म अटो सोले सहयोग गरेको छ ।’ मेलामा ९५ ब्रान्ड तथा कम्पनीको सहभागिता रहेको छ ।


‘गत वर्षभन्दा यो वर्ष धेरै ब्रान्डका गाडी र बाइक देख्न पाइयो,’ ललितपुरका विकास सिलवालले भने, ‘सबै ब्रान्ड राम्रा लागे, कुन किनौं निर्णय गर्न सकेको छैन ।’ अहिले उनी घरमा रहेको गाडी फेरेर नयाँ किन्ने सोचमा छन् । ‘नयाँ गाडी चढौं भनेर मेलामा हेर्न आएको हुँ,’ उनले भने, ‘छुट पाइने भएकाले मेलामै किन्ने सोच छ ।’


मेलामा कतै विद्युतीय त कतै पेट्रोलबाट गुड्ने सवारी साधन राखिएका छन् । चारपांग्रे र दुईपांग्रे सवारी साधनमा भीड बढी छ । कतिपय अभिभावकहरू मेलामा छुट पाइने भएकाले छोराछोरीलाई मोटरसाइकल र स्कुटर रोज्न पुगेको भेटिए । यही भिडमा भेटिइन् वनस्थलीकी हिरादेवी घर्ती ।


कलेज पढ्ने छोरीका लागि स्कुटर आवश्यक भएपछि उनको रोज्ने गन्तव्य मेला बन्यो । ‘कलेज पढ्ने भएर छोरी स्कुटर सिक्दै छिन्,’ उनले भनिन्, ‘कस्ता–कस्ता स्कुटर छन् हेर्न भनेर छोरीसँगै आएँ ।’ उनले खरिदका लागि बुक गर्ने बताइन् । प्रायः सबै ब्रान्डका स्कुटरमा नजर लगाइन् । उनले भनिन्, ‘विद्युतीय र पेट्रोलवाला साधन कुन राम्रो भनेर छुट्याउन सकिएन ।’


मेलामा दैनिक भीड बढ्दै गएको छ । सबै उमेर समूहको गन्तव्य मेला बन्दै आएको छ । मुख्य चाडबाड नजिकिँदै गएकाले पनि मेलामा दर्शकको आकर्षण बढेको हो । दसैंमा छुट पाइने भएकाले नयाँ सवारी साधन किन्नेहरूका लागि ब्रान्ड छान्ने राम्रो गन्तव्य बनेको छ ।


नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव एवं मेलाका प्रवक्ता अनुप बरालका अनुसार पहिलो दिन १० हजारको सहभागिता थियो । ‘यो अघिल्लो वर्षको मेलाको पहिलो दिन जम्मा भएका अवलोकनकर्ताभन्दा ३० प्रतिशत बढी हो,’ उनले भने, ‘टेक्नोलोजी, अटोमोबाइल, मेकानिकल पढ्ने र अनुसन्धान गर्नेका लागि मेला बुझ्ने थलो बनको छ । त्यही भएर मेलामा फाइदै फाइदा छ ।’ उनका अनुसार देशका विभिन्न सहरबाट अलाकेनकर्ता आउने गरेका छन् ।


उनका अनुसार मेलाले चाडबाड अघि तरंग ल्याउने गरेको छ । ‘अटो सो सुरुभएपछि दसैं आयो भन्ने गरिन्छ,’ उनले भने, ‘सो भनेको चाडबाडमा नयाँ साधन घरमा भित्र्याउने गन्तव्य पनि हो ।’ उनका अनुसार अटो मोबाइल्स मोभिलिटीसँग र मोभिलिटी विकाससँग जोडिएको छ । मेलामा चारपांग्रेका २३ र दुईपांग्रेका १९ ब्रान्डको सहभागिता छ । दैनिक भीड बढिरहेको मेला आइतबारसम्म चल्नेछ ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?