पोखरामा बाक्लिँदै

लालप्रसाद शर्मा

लाहुरेको बस्ती, पर्यटकीय केन्द्र, बैंकिङ हब, गण्डकी प्रदेशको राजधानी  । पोखरालाई चिनाउने अनेक उपमा छन्  ।

धनी र महँगो सहरसमेत मानिने पोखरा पछिल्लो समय महँगा र चिल्ला गाडी चढ्ने सहरका रूपमा परिचित हुन थालेको छ ।
अत्याधुनिक सुविधाजडित सवारी साधनको प्रयोगमा वृद्धि भएपछि ग्राहकलाई आफ्ना ब्रान्डप्रति आकर्षित गर्न सबै सवारी उत्पादक कम्पनी यहाँ आइपुगेका छन् । आसपासका जिल्लामा कच्ची सडक विस्तार भएकाले समेत यहाँ सवारी साधनको खपत बढेको छ । पोखराका सडकमा महँगा र अत्याधुनिक कार बाक्लै देखिन्छ । वातावरणमैत्री सवारी साधन पनि उल्लेख्य मात्रामा भित्रिएका छन् ।
अटो व्यवसायीका अनुसार पोखरामा वार्षिक २० अर्बको सवारी साधन किनबेच हुन्छ । अटोवेजका अध्यक्ष नारायण पौडेलले पोखरामा टोयोटा, आइसर, मारुती, सुजुकी, महिन्द्रा, टाटा, इसिजु, हुन्डाई, किया, निसानलगायत सबै कम्पनी र ब्रान्डका गाडी बिक्री हुने बताए । ‘बढ्दो पर्यटन व्यवसाय, पूर्वाधारलगायत विकास निर्माण, चलायमान अर्थतन्त्र, पोखरेलीको जीवनस्तर माथि उठेसँगै निजी गाडी चढ्ने लहर चलेको छ । यसले सवारी साधनको राम्रै कारोबार भएको छ,’ उनले भने । उनले पर्यटन क्षेत्रमा अत्याधुनिक सुविधायुक्त सवारी साधन प्रयोग हुन थाल्दा कारोबारको ग्राफ बढाएको बताए ।
पोखरामा १३ लाख मूल्यसम्मका मोटरसाइकलदेखि ३ करोड २५ लाख रुपैयाँसम्मका चारपांग्रे सवारी साधन बिक्री हुन्छन् । १० देखि १३ लाख मूल्यसम्मका मोटरसाइकलको बिक्री यहाँ राम्रै भइरहेको व्यवसायीहरू बताउँछन् । हालै मात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साढे २ करोडमा ल्यान्डक्रुजर यहीँ किनेर चढिरहेका छन् ।
पछिल्लो समय सडकलगायत अन्य पूर्वाधार निर्माणको काम बढी हुन थालेकाले ठूला गाडी पनि राम्रै बिक्री हुने गरेको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष चन्द्र कुँवरले बताए । १ करोड हाराहारी मूल्य पर्ने डोजर, लोडर, टिपरको राम्रो हुने गरेको उनको भनाइ छ । पर्यटन क्षेत्रमा टोयोटाको हाइस गाडी बढी चल्छन् । सुजुकी, हुन्डाई, निसानलगायत कम्पनीका भ्यान, कार बढी पर्यटन क्षेत्रमा प्रयोग हुने गरेका छन् । पर्यटकीयलगायत विभिन्न व्यापार तथा ब्यवसायमा सफलता हासिल गरेका तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत व्यक्तिहरू निजी सवारी साधनतर्फ आकर्षित देखिन्छन् । रेमिट्यान्समा आश्रित र उपभोगमुखी सहर भएकाले यहाँका अधिकांश मानिसमा विदेश जाने, कमाउने, ल्याउने, घर बनाउने, गाडी गुडाउने प्रवृत्ति छ । वित्तीय संस्थाको उपस्थितिले पनि पोखरामा सवारी साधनको खपत बढाएको हो । पहिला बैंक तथा वित्तीय संस्थाले सवारी साधन खरिदमा ८० प्रतिशतसम्म ऋण दिन्थे । अहिले ५० प्रतिशतमा झरेपछि अटोको बजारमा केही कमी भने आएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?