पोखरामा बाक्लिँदै

लालप्रसाद शर्मा

लाहुरेको बस्ती, पर्यटकीय केन्द्र, बैंकिङ हब, गण्डकी प्रदेशको राजधानी  । पोखरालाई चिनाउने अनेक उपमा छन्  ।

धनी र महँगो सहरसमेत मानिने पोखरा पछिल्लो समय महँगा र चिल्ला गाडी चढ्ने सहरका रूपमा परिचित हुन थालेको छ ।
अत्याधुनिक सुविधाजडित सवारी साधनको प्रयोगमा वृद्धि भएपछि ग्राहकलाई आफ्ना ब्रान्डप्रति आकर्षित गर्न सबै सवारी उत्पादक कम्पनी यहाँ आइपुगेका छन् । आसपासका जिल्लामा कच्ची सडक विस्तार भएकाले समेत यहाँ सवारी साधनको खपत बढेको छ । पोखराका सडकमा महँगा र अत्याधुनिक कार बाक्लै देखिन्छ । वातावरणमैत्री सवारी साधन पनि उल्लेख्य मात्रामा भित्रिएका छन् ।
अटो व्यवसायीका अनुसार पोखरामा वार्षिक २० अर्बको सवारी साधन किनबेच हुन्छ । अटोवेजका अध्यक्ष नारायण पौडेलले पोखरामा टोयोटा, आइसर, मारुती, सुजुकी, महिन्द्रा, टाटा, इसिजु, हुन्डाई, किया, निसानलगायत सबै कम्पनी र ब्रान्डका गाडी बिक्री हुने बताए । ‘बढ्दो पर्यटन व्यवसाय, पूर्वाधारलगायत विकास निर्माण, चलायमान अर्थतन्त्र, पोखरेलीको जीवनस्तर माथि उठेसँगै निजी गाडी चढ्ने लहर चलेको छ । यसले सवारी साधनको राम्रै कारोबार भएको छ,’ उनले भने । उनले पर्यटन क्षेत्रमा अत्याधुनिक सुविधायुक्त सवारी साधन प्रयोग हुन थाल्दा कारोबारको ग्राफ बढाएको बताए ।
पोखरामा १३ लाख मूल्यसम्मका मोटरसाइकलदेखि ३ करोड २५ लाख रुपैयाँसम्मका चारपांग्रे सवारी साधन बिक्री हुन्छन् । १० देखि १३ लाख मूल्यसम्मका मोटरसाइकलको बिक्री यहाँ राम्रै भइरहेको व्यवसायीहरू बताउँछन् । हालै मात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले साढे २ करोडमा ल्यान्डक्रुजर यहीँ किनेर चढिरहेका छन् ।
पछिल्लो समय सडकलगायत अन्य पूर्वाधार निर्माणको काम बढी हुन थालेकाले ठूला गाडी पनि राम्रै बिक्री हुने गरेको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष चन्द्र कुँवरले बताए । १ करोड हाराहारी मूल्य पर्ने डोजर, लोडर, टिपरको राम्रो हुने गरेको उनको भनाइ छ । पर्यटन क्षेत्रमा टोयोटाको हाइस गाडी बढी चल्छन् । सुजुकी, हुन्डाई, निसानलगायत कम्पनीका भ्यान, कार बढी पर्यटन क्षेत्रमा प्रयोग हुने गरेका छन् । पर्यटकीयलगायत विभिन्न व्यापार तथा ब्यवसायमा सफलता हासिल गरेका तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत व्यक्तिहरू निजी सवारी साधनतर्फ आकर्षित देखिन्छन् । रेमिट्यान्समा आश्रित र उपभोगमुखी सहर भएकाले यहाँका अधिकांश मानिसमा विदेश जाने, कमाउने, ल्याउने, घर बनाउने, गाडी गुडाउने प्रवृत्ति छ । वित्तीय संस्थाको उपस्थितिले पनि पोखरामा सवारी साधनको खपत बढाएको हो । पहिला बैंक तथा वित्तीय संस्थाले सवारी साधन खरिदमा ८० प्रतिशतसम्म ऋण दिन्थे । अहिले ५० प्रतिशतमा झरेपछि अटोको बजारमा केही कमी भने आएको छ।

प्रकाशित : भाद्र १०, २०७६ १२:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हर्मिताको हँकाइ

हर्मिता बिहान ७ बजे ग्यारेज पुग्छिन् । दिनभर साझा बस हाँकेर राति ९ बजे मोटरसाइकलमा हुइँकिएर घर फर्किन्छिन् ।
लिला श्रेष्ठ

हझ्सिलो अनुहार  । यात्रु हुन् वा सहचालक  ।

सबैसँग मीठो बोल्छिन् । दैनिक १४–१५ घण्टासम्म चक्रपथको धुलाम्मे यात्रामा स्टेयरिङ घुमाउँदा पनि मुहारको चमकमा कुनै कमी देखिँदैन । उनी हुन्, साझा यातायातकी महिला चालक हर्मिता श्रेष्ठ । उनलाई तब मात्र नमीठो लाग्छ, जब सडक सुरक्षामा खटिएका ट्राफिक प्रहरीले ‘छुद्र व्यवहार’ गर्छन् । ‘ट्राफिक प्रहरीको ड्युटी पनि सडकमै सवारी चालकको ड्युटी पनि सडकमै, हार्दिकता हुनुपर्नेमा त्यस्तो छैन,’ उनले भनिन्, ‘ट्राफिक प्रहरीहरू ड्राइभरलाई देखी सहँदैनन् ।’
गल्ती नगरेको चालकलाई पनि ट्राफिक प्रहरीले हेर्ने दृष्टिकोण उही देख्दा हर्मितालाई दुःख लाग्छ ।
हर्मिताको दैनिकी यस्तो छ, बिहान ५ बजे उठ्छिन् । घरायसी धन्दा सकेर छोरीलाई होस्टलका लागि तयार पार्छिन् । ७ बजे छोरीलाई होस्टल पुर्‍याएर ग्यारेजको बाटो तय गर्छिन् । ७ बजेपछि उनको व्यस्तता बढ्छ । हर्मिता दिनभर साँझा बस हाँकेर यात्रुलाई तिनका गन्तव्यमा पुर्‍याएपछि राति ९ बजे मात्र घर पुग्छिन् । ‘दिनभरि गाडी हाँक्यो हरेक यात्रुलाई उनीहरूको गन्तव्यसम्म पुर्‍यायो अनि मोटरसाइकलमा हुइँकिँदै घर पुग्छु,’ उनले भनिन् ।
२०३५ मा धरानको भानुचोकमा जन्मिएकी हुन्, हर्मिता । आमाबुबाकी साँइली छोरी । परिवारमा ६ दाजुभाइ र ५ दिदिबहिनीको ठूलो परिवार थियो । ‘गाउँघरको जिन्दगी उही हो, विद्यालय जान्थें, फुर्सदको समयमा बुवाआमालाई काममा सहयोग गर्थें,’ उनी बाल्यकाल स्मरण गर्छिन्, ‘कक्षा १० सम्म मात्र पढें । धेरै पढेर डाक्टर वा इन्जिनियर त्यस्तो केही बन्ने चाहना थिएन । तर, ठूलो भएपछि चालक बन्ने रहर भने थियो ।’ हर्मिताको घरमा मारुती भ्यान थियो । चालकले मारुती भ्यान चलाएको देख्दा उनलाई पनि चलाउने रहर लाग्थ्यो । १३ वर्षको उमेरदेखि नै उनले भ्यान चलाउन सिकिन् । यसले उनमा रहेको चालक बन्ने इच्छाले पखेटा फिँजाउन थाल्यो ।
झन्डै २४ वर्षअघि हर्मिता घुम्नका लागि काठमाडौं आइन् । आफन्तको घरमा बसिन् । काठमाडौं बसेको एक वर्षपछि नै विवाह भयो । त्यसपछि उनी श्रीमान्सँग सिन्धुपाल्चोक गइन् । केही समय त्यहाँ बसेर पुनः काठमाडौं फर्किन् । विवाहपछि पारिवारिक जिम्मेवारी बढ्दै गयो । श्रीमान् एक्लैको कमाइले मात्र काठमाडौंको बसाइ त्यति सहज भएन । ‘जीवन धान्न केही त गर्नैपर्‍यो,’ उनले भनिन्, ‘जागिर खोज्ने सिलसिला जारी नै थियो, पारिवारिक जिम्मेवारी थपियो । छोरा जन्मियो ।’
हनुमानढोकामा सिलाइबुनाइको काम सिकिन् । कम ज्याला भएकाले कामलाई निरन्तरता भने दिन सकिनन् । ‘मेहनत बढी आम्दानी कम हुने के गर्नु? यही काम पुरुष पनि गर्छन् तर ज्याला हामीभन्दा धेरै पाउँछन् । काम एउटै तर ज्याला फरक । त्यसै माथि महिलालाई गर्ने व्यवहार पनि फरक पाएँ,’ उनले भनिन् । यस्तो प्रवृत्तिसँग उनको चित्त बुझेन । सिलाइबुनाइको काम चटक्कै छाडिन् ।
त्यसपछि उनी भित्र रहेको बाल्यकालीन रुचि जाग्यो । सानैदेखिको सपना पूरा गर्न टेम्पो चलाउने निर्णय गरिन् । दुई दिनमै टेम्पो चलाउन सिकिन् । टेम्पो चलाउनका लागि लाइसेन्स निकाल्नुपर्‍यो । ट्रायल दिइन् तर उनले झ्यालबाट हेरेका कारण पहिलो पटकमा फेल भइन् । अर्को पटकको प्रयासमा भने पास भइन् । ‘जसरी नि काम गर्नु थियो, बिनालाइसेन्स सडकमा कसरी गाडी कुदाउनु,’ हर्मिताले ती दिन सम्झिन् । लाइसेन्स लिइसकेपछि काठमाडौंको एनएसी–चाबहिल–जोरपाटी रुटको टेम्पो चलाउन थालिन् । टेम्पो चलाउँदा पनि त्यति सहज थिएन । सडकको अवस्था नाजुक भए पनि परिवारको खर्च धान्न उनले टेम्पो चलाइरहिन् ।
टेम्पोबाट राम्रो आम्दानी हुन्थ्यो । घरभाडा, छोरा र आफूलाई टेम्पोको आम्दानीले पुग्थ्यो । दुई वर्ष टेम्पो चलाएपछि उनलाई अरू गाडी चलाउने इच्छा जाग्यो । त्यसपछि २०५९ तिर राष्ट्रिय महिला आयोगका अध्यक्ष दुर्गा पोखरेलको गाडी चालक बनिन् । सरकारी कार्यालयमा सवारी साधन चलाउने पहिलो महिला कर्मचारीका रूपमा दरिइन् ।
त्यो समयमा धेरै पत्रपत्रिका पढ्थिन् उनी । ‘एकदिन पत्रिका हेरिरहेकी थिएँ, संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयका लागि सवारी चालकको माग भएको देखें,’ हर्मिताले भनिन्, ‘महिला र पुरुष चाहिएको र बराबरी नम्बर ल्याएमा महिलालाई प्राथमिकता दिइने उल्लेख थियो, सायद समयले साथ दिएर होला त्यहाँ पनि पहिलो महिला चालक कर्मचारीका रूपमा काम पाएँ ।’
उनी काममा लगनशील थिइन् । जस्तोसुकै जोखिम उठाउन पनि तत्पर रहन्छिन् । काठमाडौंका सडकमा टेम्पो हाँकेकी उनले उक्त संस्थामा आबद्ध भएपछि विकट ठाउँसम्म पुगिन् । झरी परेको समयमा यात्रा गर्दा ठाउँठाउँमा पहिरो खसिरहेको हुन्थ्यो । डोजर बोलाएर बाटो मिलाउने क्रममा माथिबाट ढुंगा झर्छ या पहिरो जान्छ । मनमा सधैं डर खेल्थ्यो । यसरी गाडी लिएर बाहिर जाँदा उनले छोरा घरमै छोड्नुपर्थ्यो । ‘अरूका बच्चा आमासँगै खेलेको देख्दा मन पोल्थ्यो, आखिर यात्रामा हिँडेपछि गन्तव्यसम्म पुग्नैपर्‍यो,’ हर्मिताले भनिन्, ‘सन्तानकै लागि त गरिरहेकी छु भन्दै अघि बढ्थें ।’
उनले उक्त संस्थामा १५ वर्ष काम गरिन् । १५ वर्षको जागिरले हर्मिताले चोभारको पाण्डे छापमा दुई तले घर जोडिन् । उनले त्यसपछि दोस्रो सन्तानका रूपमा छोरी जन्माइन् । करिब चार महिना आराम गरेपछि काठमाडौं र काँकडभिट्टा रुटको माइक्रोको चालक बनिन् ।
गत असार १५ देखि उनी साझा यातायातको एक मात्र महिला बस चालक भएकी छन् । जीवनको दौरानमा धेरै साधन चलाए पनि ठूलो गाडी (साझा यातायात) चलाउन लागेको डेढ महिना मात्र भएको उनी बताउँछिन् । साझा यातायातले बस थप्दै छ भन्ने कुरा थाहा पाएपछि उनी गएकी थिइन् । ‘नाम निस्किन्छ कि भनेर कोसिस गरेकी थिएँ । महिलालाई प्राथमिकता दिएछन्, एकदमै खुसी लाग्यो,’ उनी खुसी देखिइन् । हर्मिताले साना गाडीहरू वषौंदेखि सडकमा कुदाएकी थिइन् । तर, यति ठूलो बस पहिलोपटक चलाइरहेकी छन् । ठूलो गाडी चलाउन कुनै असजिलो नभएको उनले बताइन् । ‘हुन त साझा यातायात अरू गाडीभन्दा फरक छ तर आत्मविश्वासले चलाउँदा कुनै गाह्रो नहुने रहेछ,’
उनले भनिन् ।

प्रकाशित : भाद्र १०, २०७६ १२:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT