कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

इसाराकै भर

दीपेन्द्र विष्ट

प्रहरी जवान जीवन श्रेष्ठ (नाम परिवर्तन) नारायणहिटी संग्रहालयको दक्षिण गेटको आइल्यान्डमा उभिएर हात र सिडीका भरमा सवारी साधनलाई ‘रोक र अगाडि जाऊ’ भन्ने संकेत दिइराखेका हुन्छन्  । दैनिक ५/६ घण्टा हात र सिट्टीकै भरमा उनी सवारी साधनको व्यवस्थापन गर्छन्  ।

साउनको झरी होस् वा वैशाख–जेठको प्रचण्ड गर्मी उनी यसरी नै खटिरहेका हुन्छन् । ‘ट्राफिक बत्ती नहुँदा पैदलयात्रीलाई समेत नियन्त्रण गर्न गाह्रो छ । पिक आवर सवारी साधनको बाढी नै आउँछ व्यवस्थापन गर्न मुस्किल पर्छ,’ उनले भने ।
प्रहरी जवान नवीन लामा (नाम परिवर्तन) ले कोटेश्वरको धूलोधूवाँमा ९ महिनादेखि सास्ती भोग्दै आएका छन् । उनी पनि हात र सिट्टीकै भरमा गाडी व्यवस्थापन गर्छन् । ‘धूलो–धूवाँले कति असर गर्छ भन्ने कुरै नगरौं, ड्युटी अफ भइसकेपछि घर पुगेर खोक्दा धूलोबाहेक केही निस्कँदैन । उभिंदाको सास्ती उस्तै छ । धूलो–धूवाँले लुगा उस्तै फोहोर हुन्छ । के गर्नु जागिर खानै पर्‍यो, शरीर पनि मेसिनजस्तै भइसक्यो,’ उनले भने ।
ट्राफिक बत्ती राम्रो भइदिएको भए सवारी साधन र पैदलयात्रीलाई नियन्त्रण गर्न सजिलो हुने उनले बताए । ‘पैदलयात्री ह्वातै आउँछन्, गाडी नियन्त्रण गर्ने कि पैदलयात्री ? पैदलयात्री दुर्घटनामा पर्ने सम्भावना बढी हुन्छ,’ उनले भने । उनी ओभर ब्रिज भइदिए पैदलयात्रीलाई नियन्त्रण गर्न सजिलो हुने बताउँछन् । ‘चोकचोकमा ओभर ब्रिज भइदिए त्यति धेरै सास्ती हुँदैन थियो,’ उनले भने ।
आइल्यान्डमा उभिएको समयसमेत जोड्दा प्रत्येक ट्राफिक प्रहरीले दैनिक १३/१४ घण्टा ड््युटीमा खटिनुपर्छ । २१ वर्षअघि जापान सरकारले उपत्यकाका १० स्थानमा जडान गरिदिएका ट्राफिक बत्तीहरू राम्ररी बल्दैनन् । विभिन्न समयमा मर्मत गरे पनि टिक्दैनन् । अधिकांश बत्ती जीर्ण छन् । जापान सरकारको सहयोगमा निर्मित तीनकुने–सूर्यविनायक सडक खण्डका ६ वटा ट्राफिक बत्ती मात्र बल्छन् । डेढ वर्षअघि उपत्यका ट्राफिक महाशाखा, महानगरपालिका र सडक विभागले १० वटा वत्तीलाई मर्मत गरेको थियो । तिनीहरू पनि राम्ररी बल्दैनन् । बिग्रिरहन्छन ।
काठमाडौं महानरपालिकाभित्र जापानी सरकारको सहयोगबाहेक नयाँ ट्राफिक बत्ती जडान गरिएका छैनन् । ‘भएका बत्ती राम्रा छैनन, बिग्रिराखेका हुन्छन्,’ महानगरीय ट्रापिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले भने, ‘निकै सास्ती छ, धुलाम्मे र हिलाम्मे जतिबेला पनि समस्या छ । साँगुरा सडकमा बढ्दो सवारी चाप नियन्त्रण गर्न निकै हम्मे परको छ ।’
प्रविधिले फड्को मारिसक्दा यहाँ भने ट्राफिक प्रहरीले आइल्यान्डमा उभिएर हात हल्लाइरहनुपरेको उनले बताए । ‘बाटो काट, गाडी रोक भन्दा सिठी बजाउनुपर्छ । अगाडि बढ र रोक भन्दा हात हल्लाउनुपर्छ । यसरी कति दिन चल्छ ?’ उनले भने ।
पन्तले ट्राफिक बत्ती नहुँदा ट्राफिकलाई निकै सास्ती भएको बताए । ‘पर्याप्त मात्रामा ट्राफिक बत्ती छैनन्, भएका जीर्ण छन् तर जिम्मेवार निकायको ध्यान गएको छैन । धेरै ठाउँमा जेब्रा क्रसिङसमेत छैन । भएका जेब्राक्रसिङ वर्षातमा देखिँदैन,’ उनले भने, ‘जेब्रा क्रसिङमै पैदलयात्रीको मृत्यु हुने सम्भावना बढी छ ।’ महानगरीय ट्राफिक महाशाखाअनुसार सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४३ प्रतिशतभन्दा बढी पैदलयात्रु छन् ।
उपत्यकामा करिब १४ सय ५० जना ट्राफिक प्रहरी परिचालित छन् । उपत्यका सवारी चाप र प्राविधिकबिनाको सवारी नियन्त्रणका आधारमा यो जनशक्ति निकै कम भएको महानगरीय ट्रापिक महाशाखा प्रमुख पन्त बताउँछन् । उनका अनुसार एक जना ट्राफिक प्रहरीले १ हजारभन्दा बढी गाडीको व्यवस्थापन गर्नुपर्छ । उपत्यकाका २ हजार १४ किमि सडकमा दैनिक करिब १० लाख गाडी सञ्चालनमा छन् । सडक विभागका अनुसार पक्की सडकअन्तर्गतको राष्ट्रिय राजमार्ग ६१ किमि, सहायक मार्ग ४ लाख ८८ हजार किमि छ । कच्चीमध्ये सहरी क्षेत्रभित्र विस्तारमा रहेको सडक १ सय ५८ किमि, अन्य सडक १३ सय ७ किमि छ । त्यसैगरी १ लेनको सडक ६ सय ६० किमि, दुई लेनको सडक २ सय ३९ किमि र चार लेनको सडक १ सय ९३ किमि छ ।
सहरी विज्ञ किशोर थापाले सहरी र सडक पूर्वाधार व्यवस्थित नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताए । उपत्यकाको यातायात पूर्वाधार नै कमजोर रहेको उनले बताए । ‘पूर्वाधार कमजोर छन, पैदलमैत्री छैनन्,’ उनले भने, ‘ट्राफिक बत्ती खै ? ट्राफिकले हात हल्लाएको भरमा कति दिन चल्छ, यो त सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने हो ।’ आइल्यान्ड र जेब्रा क्रसिङ निर्माण, ट्राफिक बत्ती जडान तथा मर्मतको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हो । १ वर्षअघि उपत्यकाका ३५ स्थानमा ३७ वटा ट्राफिक बत्ती जडान गर्ने घोषणा गरिएको थियो तर कार्यान्वयन भएको छैन । पहिला जडान गरिएका ट्राफिक लाइटको मर्मत–सम्भार तथा प्रयोग नहुँदा बिग्रेपछि मन्त्रालयले नयाँ लाइट जडान गर्न खोजेको हो । माइतीघर, तीनकुने, जय नेपाल हल, थापाथली, जाउलाखेल, गौशालालगायत सवारीको अत्यधिक चाप हुने चोकमा ट्राफिक लाइट जडान गरिएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?