१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कर्णालीमा दुईपांग्रे क्रेज

कर्णालीमा दुईपांग्रे सवारीको बजार बढेको छ । न्यून आय भएका व्यक्तिदेखि सम्पन्न व्यक्तिसमेत मोटरसाइकलप्रति आकर्षित छन् ।
कलेन्द्र सेजुवाल

गुर्भाकोटका राजेश बीसी एक विद्यालयका निजी स्रोत शिक्षक हुन्  । तलबले जेनतेन घर खर्च चल्छ  ।

कर्णालीमा दुईपांग्रे क्रेज

गुर्भाकोटका राजेश बीसी एक विद्यालयका निजी स्रोत शिक्षक हुन् । तलबले जेनतेन घर खर्च चल्छ । तैपनि हालै उनले सवा २ लाखको मोटरसाइकल किनेका छन् । ‘अलिकति पैसा जम्मा गरेको थिएँ, बाँकी किस्ता तिर्ने गरी निकालेको छु,’ उनले भने, ‘अहिलेको जमानामा मोटरसाइकल नभई नहुने रहेछ, झट्ट मूल्य सुन्दा महँगो लागे पनि किस्तामा किन्न खासै गाह्रो रहेनछ ।’
राजेशजस्ता सामान्य आय भएका व्यक्तिका लागि मोटरसाइकल सुलभ साधन भएको छ । कच्ची सडक धेरै भएको कर्णालीमा यात्रा गर्न मोटरसाइकलको विकल्प पनि छैन । यसले गर्दा कर्णालीमा दुईपांग्रे सवारीको बजार निकै बढेको छ । न्यून आय भएका व्यक्तिदेखि सम्पन्न व्यक्तिसमेत मोटरसाइकलप्रति आकर्षित छन् । प्रदेश राजधानी सुर्खेतमा आधा दर्जन मोटरसाइकल कम्पनीका डिलर छन् । डिलरहरूका अनुसार कर्णालीका सडकमा करिब २७ हजार मोटरसाइकल गुडिरहेका छन् ।
कर्णालीको बजारमा १ लाख ५० हजारदेखि ११ लाखसम्मका मोटरसाइकल छन् । उपभोक्ताले गच्छेअनुसार ती मोटरसाइकल प्रयोग गर्छन् । पैसा हुनेहरूले एकमुष्ट भुक्तानी गरेर किन्छन् भने न्यून तथा मध्यम आय भएका उपभोक्ताले किस्ता (फाइनान्समार्फत) मा लिने गरेका छन् । कर्णालीमा सबैभन्दा बढी मोटरसाइकल बिक्री गर्ने बजाजको अधिकृत विक्रेता असीम अटो पार्ट्सका प्रबन्ध निर्देशक लक्ष्मण कँडेलका अनुसार एकमुष्ट भुक्तानी गरेर लानेभन्दा किस्तामा लाने ग्राहकको संख्या अधिक छ । कुनै ग्राहकले त ३६ महिने किस्तामा समेत मोटरसाइकल लैजाने गरेका उनले बताए । गत आर्थिक वर्षमा १ हजार ८ सय २० मोटरसाइकल बिक्री भएकामा ६० प्रतिशत किस्तामा गएका उनले बताए । ‘सबै मान्छेसँग मोटरसाइकल किन्ने एकमुष्ट रकम हुँदैन, त्यसैले किस्तामा लैजाने गरेका छन्,’ उनले भने, ‘मूल्य हेर्दा लाख पर्ने देखिए पनि किस्ताले सहज बनाइदिएको छ ।’ नियमित मासिक आम्दानी १५–२० हजार रुपैयाँ हुनेले पनि मोटरसाइकल सजिलै किन्ने गरेको उनले बताए ।
होन्डाको अधिकृत विक्रेता न्यू बुलबुले अटो सेल्सले गत आर्थिक वर्षमा करिब १ हजार २ सय मोटरसाइकल बिक्री गर्‍यो । सेल्सका प्रबन्ध निर्देशक भद्र भण्डारी सामान्य किसानदेखि ठूला व्यवसायीले समेत मोटसाइकल खरिद गरेका बताउँछन् । होन्डा कम्पनीका १ लाख ५० हजारदेखि ११ लाखसम्मका मोटरसाइकल बिक्री गर्दै आएको उनले बताए । एकमुष्ट रकम बुझाउन नसक्नेलाई किस्ता सुविधा भएकाले सहज भएको उनको भनाइ छ । सुर्खेतस्थित यातायात व्यवस्था सेवा कार्यालयको तथ्यांकले पनि कर्णालीमा दुईपांग्रे क्रेज कति छ भन्ने देखाउँछ । फागुन १ देखि सञ्चालनमा आएको कार्यालयमा पाँच महिना अवधिमा २ हजार २ सय २७ सवारी दर्ता भएकामा मोटरसाइकलको संख्या १ हजार ८ सय ६५ वटा छ । निमित्त कार्यालय प्रमुख अर्जुन पौडेलका अनुसार यो अवधिमा सरकारी तथा निजी गरी १ सय ७६ कार/जिप दर्ता भएका छन् । ‘कर्णालीको भूगोलले पनि मान्छेलाई कार/जिपभन्दा मोटरसाइकतिर बढी आकर्षित गरेको पाइन्छ,’ उनी भन्छन्, ‘जुनसुकै कामका लागि मोटरसाइकल नै बढी उपयोगी हुने गरेको छ ।’

प्रकाशित : भाद्र १०, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?