१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

प्राथमिकतामा प्रविधि

आधुनिक र उच्च प्रविधिजडित सवारी साधनको खोजी बजारमा बढ्दै गएको छ । बुटवलमा २० लाखदेखि २ करोड ५० लाख रुपैयाँसम्मका चारपांग्रे गाडी पाइन्छन् ।
घनश्याम गौतम

बुटवलका पुराना व्यवसायी रवीन्द्रगोपाल लाकौल सात दशकअघि र अहिलेको यातायात सुविधालाई दाँज्दा सपनाझैं लाग्ने बताउँछन्  । उनका अनुसार २००७ सालअघिसम्म बुटवलदेखि सुनौलीको बेलहिया नाकासम्म पैदल यात्रा गर्नुपर्थ्यो  ।

प्राथमिकतामा प्रविधि

ऊबेला बुटवलमा करिब १५ घर मात्रै थिए । स्थानीयकै जनश्रमदानबाट निर्माण गरिएको कच्ची बाटोमा २०२४ सालपछि गाडी चल्न थाले । त्यसले दुई देशसँगै पहाड र तराई पनि जोड्यो ।
अहिले बुटवल र आसपासमा १ लाख ५० हजारभन्दा बढी घर बनिसके । जंगल र खेतको बीचबाट निर्माण भएको बुटवल बेलहिया सडकका दुवै खण्ड घरैघर छन् । उतिबेलाको सिंगल सडक अहिले ६ लेनको बन्यो । सडक वारपार गर्न पक्की पुल थपिए । ‘सात दशकअघि दैनिक १/२ वटा गाडी चल्थे, अहिले अहिले दैनिक १०–१२ हजार गाडी ओहोरदोहोर गर्छन्,’ लाकौलले भने ।
बढ्दो जनघनत्व, कालोपत्रे सडक, व्यापारिक केन्द्रसँगै सडकमा दुई र चारपांग्रे गाडीको चाप बढेको छ । यसले सुविधा त दिएको छ नै नयाँ र महँगो मूल्यका सवारी साधन चढ्ने सोखिनहरूसमेत बढ्दै गएका छन् ।
बुटवलमा पछिल्लो १० वर्ष जग्गा कारोबार फस्टायो । जग्गा कारोबारले युवादेखि महिलासम्मलाई सोखिन र विलासी बनाएको छ । साइकल चढ्नेहरूले मोटरसाइकल चढ्न थालेका छन् । मोटरसाइकल चढ्नेहरू कारमा हुइँकिन थाले । सामान्य कार चढ्नेले महँगो र सुरक्षित कार खोज्न थाले । त्यसैमध्येमा पर्छन्, रूपन्देहीको गैंडहवा गाउँपालिका–४ का ३६ वर्षे डिलबहादुर कार्की । जग्गा कारोबारी उनी हुन्डाई कम्पनीको अल्टो चढ्दै आएका छन् । दैनिक दौडधुपमा हुने उनलाई परिवारले सुरक्षित गाडी चढ्न सुझाएको छ । बुटवल र भैरहवाका गाडी विक्रेताकहाँ पुगे पनि खोजेजस्तो गाडी नपाएको उनले बताए । ‘सकेसम्म सस्तो मूल्यमै सुरक्षित गाडी खोज्दै छु,’ उनले भने, ‘तर, भनेजस्तो फेला परेको छैन ।’ चारवटै सिटमा एयर ब्याग, ईबीडी, एबीएससहित आधुनिक प्रविधिजडित गाडीको खोजीमा आफू रहेको बताए ।
यस क्षेत्रमा भारत, चीन, कोरिया, जापान, मलेसियालगायतका देशमा निर्मित गाडीको बिक्री हुन्छ । सुजुकी, हुन्डाई, फोर्ड, किया, रिनल्ट, महिन्द्रासहित १६ कम्पनीका गाडीले बुटवल र भैरहवामा बिक्री केन्द्र खोलेका छन् । यस क्षेत्रमा सुजुकी, हुन्डाई र फोर्डले बिक्रीमा कब्जा जमाएका छन् । पछिल्ला वर्षहरूमा अन्य गाडीमा फनि ग्राहकको रोजाइ बढ्दो छ । हुन्डाईका आधिकारिक वित्रेता सिद्धिविनायक मोटर कर्पका म्यानेजर मनोजमान श्रेष्ठले पनि पछिल्लो समय ग्राहकले सस्तो मूल्यमा सुरक्षित गाडी खोजी गर्न थालेको बताए । त्योसँगै प्रविधिमा पोख्त नयाँ पुस्ता चारपांग्रे गाडीमा सोखिन बन्दै गएकाले आधुनिक र उच्च प्रविधिजडित गाडीको पनि खोजी हुन थालेको उनले बताए । ‘डबल एयर ब्यागबिनाको गाडी अब बिक्नै छोड्यो,’ उनले भने, ‘एयर ब्यागसँगै सेन्सर ब्रेक, आधुनिक प्रविधिको एबीएस, ईबीडी ब्रेकसहितका गाडीको खोजी हुन्छ ।’ सुरक्षा र धेरै फिचरको खोजी हुन थालेको उनले बताए ।
पछिल्लो समय जग्गा कारोबार खस्किएसँगै अटो मोबाइल्सको व्यापार सुस्ताएको व्यवसायीको दाबी छ । त्यससँगै वित्तीय नीतिले अप्ठ्यारोमा पारेको छ । व्यापार सुस्ताए पनि आसपासका सडकमा २० लाखदेखि झmन्डै २ करोडसम्मका गाडी बुटवलबाटै बिक्री हुने गरेका छन् । ल्यान्डत्रुजर, ल्यान्डरोभर गाडी चढ्ने व्यवसायी पनि बुटवलमै छन् ।
यातायात व्यवस्था कार्यालय लुम्बिनीमा साना चारपांग्रे सवारी साधन दर्ता गर्नेको संख्या बढ्दो छ । रहे पनि गत वर्ष घट्यो । आव ०७२ सम्म कार्यालयमा निजी जिप, कार र भ्यानको संख्या ६ हजार ९ सय ९३ दर्ता छन् । त्यसयता ४ वर्षमा १० हजार ५ सय ७१ दर्ता भए । यहाँ ४ हजारभन्दा बढी भाडाका कार र भ्यान छन् । २ हजार ३ सय ८३ भाडाका टेम्पो चल्छन् । कार्यालयका सूचना अधिकारी अष्टराज गौतमले पछिल्ला ४ वर्षमा निजी गाडी चढ्नेको संख्या धेरै बढेको बताए । उनले भने, ‘वाग्मतीपछि दोस्रो बढी गाडी दर्ता हुने लुम्बिनी यातायात कार्यालय नै हो ।’
आव ०७२ सम्ममा सानाठूला गरी २ लाख ६१ हजार ८ सय ६२ गाडी दर्ता भएकामा पछिल्ला ४ वर्षमा मात्र ३ लाख ४४ हजार ५ सय ६८ गाडी दर्ता भएको गौतमले जानकारी दिए । गत आवमा मात्र सानाठूला गरी १ लाख १० हजार ४ सय १ गाडी दर्ता भएका छन्, जुन अहिलेसम्मकै बढी हो । त्यसमा निजी मोटरसाइकल मात्र ९६ हजारभन्दा बढी छन् ।
बुटवलमा हुन्डाई, सुजुकी, फोर्ड, महिन्द्रालगायत चलेका कम्पनीले वर्षमा ५ सयसम्म निजी कार बिक्री गर्छन् । अन्य कम्पनीको पनि वार्षिक बिक्री १ सयसम्म छ । २० लाखदेखि २ करोड ५० लाख रुपैयाँसम्मका गाडी बुटवलमै उपलब्ध छन् । ग्राहकको रोजाइमा २५ लाखदेखि ६० लाख रुपैयाँका गाडी पर्ने गरेको सुजुकी ब्रान्डका गाडी बिक्री गर्दै आएका सगरमाथा अटोमोबाइल्सका प्रोप्राइटर श्याम बस्नेतले बताए । ‘प्रविधि र फिचर्सले गाडीमा ग्राहकको ध्यान तान्ने गरेको छ,’ उनले भने, ‘पहिला मूल्यमा बहस गर्ने ग्राहक अहिले प्रविधिमै चासो दिन्छन् ।’ मर्मत, पार्टसको उपलब्धता र प्रयोगपछिको मूल्यलाई पनि ग्राहकले प्राथमिकतामा राख्ने गरेको उनले बताए । इन्धन माइलेज, सञ्चार सुविधाको प्रयोग पनि ग्राहकको आकर्षणमा पर्छ ।
महँगो गाडी चढ्नेमा जग्गा कारोबारीसँगै प्रतिष्ठित व्यवसायी र बुटवलका नाम चलेका डाक्टर छन् । बुटवल, भैरहवा, मुर्गिया, तिलोत्तमा, देवदह क्षेत्रका व्यवसायीमा कार आकर्षण बढ्दो छ । पहाडी जिल्लामा समेत बाटो बिस्तार र कालोपत्रे भएकाले बढी ग्राउन्ड क्लियरेन्स भएका गाडीको खोजी हुने गरेको छ । अर्घाखाँचीमा मात्र झन्डै २ सय कार भाडामै चल्छन् । भैरहवाका युवा व्यवसायी रोशन चौधरी, बुटवलका धातानन्द कँडेल, गोपाल टण्डन झन्डै २ करोड मूल्यका गाडी चढ्छन् । तीनै जना जग्गासँगै इँटा, कपडा व्यवसायी हुन् । चौधरी फmोर्डको इन्डियवर चढ्छन् । कँडेलले ल्यान्डत्रुजर र टण्डन ल्यान्डरोभर चढ्दै आएका छन् । ‘सडक, समय र प्रविधिअनुसारका गाडी रोजाइमा पर्नु स्वाभाविक हो,’ चौधरीले भने, ‘सडक सुहाउँदो, सुरक्षित र नयाँ फिचर उपलब्ध भएको गाडी मेरो रोजाइ हो । चारपांग्रे सवारी साधनको व्यापार बढेसँगै बुटवलको कालिकानगरदेखि शंकरनगर मंगलापुरसम्म नै गाडीका सोरुम खुलेका छन् । त्यही क्षेत्रमै मर्मतसहित अन्य सामग्रीका पसल पनि खुलेका छन् । सडकका दुवैतर्फ महँगो भाडा तिर्ने गरी घरैपिच्छे सोरुम छन् । पार्टस, टायर र मर्मतका लागि खोलिएका पसलमा व्यापार चम्केको छ ।

प्रकाशित : भाद्र १०, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?