काठमाडौँ — आईएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार सुरु गरेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बुधबार एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । मर्जरपछि बनेको नयाँ संस्थाको चुक्ता पुँजी एक अर्बभन्दा बढी छ ।
रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
‘आजको यस विशेष क्षणमा आईएमईको सुरुवाती अवस्थाको केही स्मरण गर्न चाहन्छु । सन् २००१ अर्थात् करिब २५ वर्षपहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आईएमई अर्थात् इन्टरनेसनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन,’ उनले भने, ‘सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रूपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देश खुला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या भर्खरै बढ्न सुरु गरेको थियो ।’
अब आईएमईले पनि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने अध्यक्ष ढकालले जनाए ।
प्रकाशित : श्रावण ३१, २०८१ ०६:५५