कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

नेपाली सूचना प्रविधि क्षेत्रका लागि अहिले आशावादी समय हो: आईटी उद्यमी

काठमाडौँ — नेपाली सूचना प्रविधि उद्यमीहरूले सरकार र अन्तर्राष्ट्रिय निकायको साथ पाए नेपाल विश्वमै एक 'प्राविधिक हब' को रूपमा उदाउन सक्ने बताएका छन् । नेपालको कूल विदेशी मुद्रा आर्जनमध्ये साढे चार प्रतिशत आईटी क्षेत्रबाट प्राप्त भइरहेको र आईटी क्षेत्रबाट हुने निर्यातमध्ये झन्डै ६० प्रतिशत अमेरिकामा निर्यात भइरहेको नेपाल एसोसियसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास-आईटी) का अध्यक्ष रिचन श्रेष्ठले  बताए । 

नेपाली सूचना प्रविधि क्षेत्रका लागि अहिले आशावादी समय हो: आईटी उद्यमी

'लन्डन टेक विक २०२४'मा भाग लिन बेलायत आएका नेपाली नेपाली सूचना प्रविधि उद्यमीहरूको सम्मानमा यो साता नेपाली दूतावासले एक अन्तरकृया कार्यक्रम आयोजना गरेको थियो । नास-आईटीका अध्यक्ष श्रेष्ठले नेपालमा हाल वर्षेनी १० हजार आईटी स्नातक उत्पादन भइरहेको र २ हजारभन्दा बढी आईटी कम्पनीहरूमा ७० हजार बढी जनशक्ति कार्यरत रहेको बताए । उनले सन् २०३५ सम्ममा आईटी सेवाजन्य निर्यातलाई बढाएर झन्डै दुइ अर्ब अमेरिकी डलर पुर्‍याउन सकिने सम्भावना रहेको पनि बताए ।

बेलायतमा मुख्यालय रहेको आईटी परामर्शदाता कम्पनी जेनेस सोलुसनका संस्थापक तथा मुख्य कार्यकारी अञ्जनी फुयाँलले नेपाली सूचना प्रविधि उद्यमीहरूका सफलताका थुप्रै कथा रहेका तर तिनलाई नेपाल सरकारले उपयुक्त नीति नियम बनाएर सघाउनुपर्ने धारणा राखे । उनले गुगल, माइक्रोसफ्ट, अमेजनजस्ता ठूला प्रविधि कम्पनीहरूले नेपालका शैक्षिक संस्थालाई सघाइरहेको जानकारी दिए । ब्रिटिश विश्व विद्यालयहरूमा पढाइ नहुने कतिपय विषय अहिले नेपालमा पढाइ भइरहेको फुँयालको दाबी छ । 'नेपाली प्रविधि क्षेत्रको लागि अहिले निकै आशावादी समय हो र यो अवसरलाई प्रतिफलमा बदल्न नेपाल सरकार, प्राज्ञिक क्षेत्र तथा सूचना प्रविधि उद्यमीहरूले थप सहकार्य गर्नुपर्छ,' उनले भने।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन सरकारले आगामी आर्थिक वर्षको बजेटमा थुप्रै घोषणाहरू गरेको स्मरण गरे । उनले नेपाली प्रविधि कम्पनीहरूलाई बेलायतको स्वास्थ्य, आतिथ्य तथा सरकारी क्षेत्रमा पनि आईटी सम्बद्ध सेवा निर्यात गर्न सक्ने ठूलो सम्भावना रहेको र त्यसमा सघाउन नेपाली दूतावास तयार रहेको पनि बताए ।

प्रकाशित : असार १, २०८१ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×