१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

‘मुलुकको समृद्धिका लागि सूचना प्रविधि क्षेत्रमा लगानी अपरिहार्य’

काठमाडौँ — विश्वबजारमा निकै लोकप्रिय बनेको सूचना प्रविधिसम्बन्धी व्यवसायलाई उच्चतम प्रयोग गर्न सके नेपालले पनि मनग्गे फाइदा लिन सक्ने यस क्षेत्रका जानकारले बताएका छन् ।

‘मुलुकको समृद्धिका लागि सूचना प्रविधि क्षेत्रमा लगानी अपरिहार्य’

प्रेसिडेन्सियल बिजनेस स्कुलको आयोजना तथा राष्ट्रिय सफ्टवेयर तथा सूचना प्रविधि संघ (नास आईटी) सँगको सहकार्यमा राजधानीमा आयोजित ‘प्रेसिडेन्सियल बिजनेस कन्क्लेभ–२०२३’ का वक्ताले हरेक नागरिकले सूचना प्रविधिको प्रयोगलाई अनिवार्य आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

पछिल्ला दिनमा मुलुकले सूचना प्रविधिसम्बन्धी व्यवसायबाट अर्बौं रुपैयाँ राजस्व संकलन गर्न सफल भएकाले स्पष्ट नीति र कार्यक्रम बनाउने हो भने यसको दायरा निकै फराकिलो बनाउन सकिने उनीहरूको भनाइ छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले सूचना प्रविधिको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउन सरकार, यस विषयको पढाइ सञ्चालन गरिरहेका शैक्षिक संस्था र सूचना प्रविधिसँग सम्बन्धित संस्थाले संयुक्त रूपमा अभियान सञ्चालन गर्नुपर्ने बताए ।

काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन मनीष पोखरेलले सूचना प्रविधिको विकासका लागि शैक्षिक संस्थाको पाठ्यक्रममा पनि सुधार गर्नुपर्ने जनाए । सूचना प्रविधिको क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गर्न शैक्षिक संस्था र यस क्षेत्रमा कार्यरत रोजगार प्रदायक कम्पनीबीचको सहकार्य अनिवार्य रहेको प्रेसिडेन्सियल बिजनेस स्कुलका प्राचार्य कल्पना गुरुङको भनाइ छ ।

विद्यार्थीलाई पढाइ र सीप सँगसँगै सिकाउन आफूहरूले सूचना प्रविधिसँग सम्बन्धित थुप्रै संस्थासँग सहकार्य गरिरहेको र यो सहकार्यलाई अझै बलियो बनाउन तयार रहेको उनले जनाइन् ।

प्रकाशित : मंसिर १९, २०८० २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?