वर्ल्डलिकंलाई ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’

काठमाडौँ — वर्ल्डलिकं कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाएको छ । एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले दक्षिण कोरियाको सियोलमा आयोजित एक कार्यक्रममा वर्ल्डलिकं कम्पनीलाई अवार्ड दिएको हो ।

एसोसिओका अध्यक्ष ब्रेन सेनले मंगलबार वर्ल्डलिकंका निर्देशक लक्ष्मण यादवलाई अवार्ड प्रदान गरेका हुन् । देशका विभिन्न दुर्गम क्षेत्रमा इन्टरनेट पुर्याउन महत्वपूर्ण पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्याएको भन्दै कम्पनीलाई अवार्ड दिएको हो ।
वर्ल्डलिकंले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्ड पाएको थियो । देशका आठ लाखभन्दा बढी घरधुरीलाई इन्टरनेट सेवामा जोड्न सफल वर्ल्डलिकंको सेवा देशका हिमाली, पहाडी र तराई क्षेत्रसम्म फैलिएको छ ।
एसोसिओमा न्युजिल्यान्ड, जापान, अस्ट्रेलिया, भारत, सिगांपुर, चीन नेपाल लगायतका विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका संघसंस्था सदस्य छन् । यो अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकहरुलाई प्रदान गरिंदै आएको छ ।