एनसेल कन्सर्टमा झुम्यो विराटनगर


काठमाडौँ — एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्टमा चर्चित कलाकारहरुले प्रस्तुति दिएका छन् । दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, आशिष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित लगायतले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए ।


कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा रौनकता थपेको थियो । सांगीतिक कार्यक्रममा झुम्न पाएका हजारौं विराटनगरका दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो । त्यस्तै अस्मिता अधिकारी र सुनिल पण्डितले दर्शकलाई गीतमार्फत मनोरन्जन दिलाएका थिए ।
‘रमाऔ सधै सँगै’ भन्ने थिमका साथ आयोजना गरिएको यस सांगीतिक कार्यक्रमले विराटनगरबासीलाई मनोरञ्जन प्रदान गर्दै स्थानीयसँग प्रत्येक्ष जोडिने मौका मिलेको एनसेलले जनाएको छ । ग्राहक सुविधाको लागि कार्यक्रमस्थलमा एनसेल स्टलका साथै अन्य फुड स्टलहरु पनि राखिएका थिए । यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते काठमाडौंको दरबारमार्गमा दरबारमार्ग सडक महोत्सव आयोजना गरेको थियो ।