सानिमा बैंकको शाखा नवलपरासीको सुनवलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले शुक्रबार नवलपरासीको सुनवल नगरपालिका ४, सुनवल चोकमा शाखा संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा मह जोडीले सानिमा बैंकले सेवा विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गर्दै विश्वसनीय बैंकको रुपमा निरन्तर सेवा प्रदान गर्न आग्रह गरे । बैंकका देशभर १३२ वटा कार्यालय र १२२ वटा एटीएम संचालनमा छन् ।


प्रकाशित : जेष्ठ १२, २०८० १८:५४
प्रतिक्रिया
पठाउनुहोस्

कालीगण्डकीको किनारैकिनार...

नवीन पौडेल

कोरलानाका (परासी) — हिमाल अनि हिमाली परिवेश आफैमा सुन्दर हुन्छन् । सेता दन्तलहरीजस्ता टल्किएका हिमालले सबैलाई मनमोहक बनाउँछ । अझ प्राकृतिक सुन्दरतासँगै हिन्दुधर्मको पवित्रधाम मुक्तिनाथ दर्शनको मौका मिलेपछि यसै सुनमा सुगन्ध । गण्डकी प्रदेश पूर्वी नवलपरासीको त्रिवेणीदेखि मुस्ताङको कोरलासम्म फैलिएको छ ।

त्यसैले पनि त्रिवेणीदेखि कोरला नाका जोड्नका लागि प्रदेश र केन्द्र सरकार लागीपरेको छ । यसका लागि अहिले सडक विस्तारको काम भइरहेको छ । जसले गर्दा मुक्तिनाथ दर्शनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकलाई यातायातका लागि केही सहज भएको छ ।

मुक्तिनाथ दर्शन र तातोपानीमा स्नानका लागि आउने पर्यटक नेपाल र चीनको नाका कोरलासम्म पुग्ने गर्दछन् । पहाड, घुमाउरो बाटो, चट्टानी पहाडको खोच हुँदै पर्यटक कोरला नाकासम्म पुग्ने गर्दछन् ।

समुन्द्र सतहदेखि ४ हजार ३ सयदेखि ४ हजार ६ सय मिटरसम्म फैलिएको कोराला क्षेत्र चीन र नेपालको ठूलो व्यापारिक केन्द्र बन्न सक्छ । तर, चीनले आफ्नो क्षेत्रमा ठूलो सैन्य क्याम्पसहितको भन्सार निर्माण गरे पनि नेपालतर्फ सुरक्षाकर्मीको उपस्थिति छैन । सरकारले कोरला नाकालाई मूल भन्सार घोषणा गरे पनि संरचना भने बनाउन सकेको छैन । दशगजाभन्दा करिब १८ किलोमिटर दक्षिणमा सशस्त्र र नेपाल प्रहरीको सीमा चौकी छ । सडक र बिजुली पुगे पनि खानेपानी र भौतिक संरचना अभावमा नेपाली सुरक्षाकर्मीको भौतिक उपस्थिति देखिँदैन ।

मुस्ताङको जोमसोमबाट कालीगण्डकी नदीको किनारैकिनार कोरला नाका पुगिन्छ । जोमसोमबाट करिब ९३ किलोमिटर उत्तरमा पर्ने कोराला नाका पुग्दासम्म त्यहाँको दृश्यले मन लोभ्याउँछ । ठूला चट्यानी पहाडको खोचमा रहेको कालीगण्डकी नदीको किनारमा रहेको पुराना बस्ती, गुम्बा, चौरीगाईको गोठ, जौ र फापरको रोटी र स्थानीय उत्पादनको स्वाद चाख्दै यात्रा गर्न सकिन्छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×