सिटी एक्सप्रेसले अस्तित्व नेपाल फाउन्डेसनलाई गर्‍यो १ लाख सहयोग 

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्तित्व नेपाल फाउन्डेसनलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । अस्तित्व नेपाल एक गैर नाफामुखी संस्था हो ।

२०१८ देखि एसिड तथा अग्नीजन्य हिंसाविरुद्ध काम गर्दै आइरहेको फाउन्डेसनले शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा आधारित तालिम र सचेतना कार्यक्रमहरु पनि चलाउँदै आइरहेको छ । सिटी एक्सप्रेसले विगत १६ वर्षदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । देशभर छरिएर रहेका १५ हजार भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले आन्तरिक रेमिट्यान्स भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंक खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा दिइँदै आएको सिटी एक्सप्रेसले जनाएको छ ।


प्रकाशित : चैत्र १३, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्

फेरि चम्कियो खुमैडाँडा

तस्बिर : दीपक परियार

पोखरा — दुई दशकअघिसम्म कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ खुमैडाँडाका खर्क भेंडीगोठले भरिन्थे । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को पहलमा माछापुच्छ्रे मोडल ट्रेक खुलेपछि विदेशी पर्यटक ‘क्याम्पिङ ट्रेक’मा जान थाले । यो पदमार्गको ‘रि–ब्रान्डिङ’ पछि भने यतिबेला आन्तरिक पर्यटकको पनि रोजाइमा परेको छ ।

माछापुच्छ्रे मोडल ट्रेक मर्दी खेलाको सिरान सैंतीघट्ट–पुरुन्ध्रु हुँदै खुमैडाँडा–कोर्चां पुग्थ्यो । त्यहाँबाट पिपर लेक हुँदै घाचोक–सार्दीखोला झरिन्थ्यो । पदयात्रा मार्गमा होटल, रेस्टुरेन्ट थिएनन् । केही ठाउँमा टानले बनाएका धर्मशाला थिए । विदेशी पर्यटकले यो पदयात्रा मार्ग एक सातामा पूरा गर्थे ।

माछापुच्छ्रे गाउँपालिका–१ घाचोकका स्थानीय युवाले गत वर्ष ग्रेट माछापुच्छ्रे ट्रेल समिति बनाए । घाचोकको टुँसेबाट खुमैडाँडा हुँदै कोर्चां लेक पुग्ने पदयात्रा मार्गलाई ‘ग्रेट माछापुच्छ्रे ट्रेल’ नामकरण गरेर प्रवर्द्धन गरे । गएको दसैंयता आन्तरिक पर्यटकले यो क्षेत्र भरिभराउ छ । पोखराको हरिचोकबाट जिप वा बसमा घाचोकको टुँसे पुग्न सकिन्छ । जिप भने सरिपाखासम्मै पुग्छ । सरिपाखाबाट दुई घण्टा हिँडेपछि हिलेखर्क पुगिन्छ । केही पदयात्रीले टुँसेबाटै पदयात्रा सुरु गरेर हिलेखर्कमा बास बस्न पुग्छन् । धेरैजसो सरिपाखाबाट पदयात्रा सुरु गरेर हिलेखर्कमा विहानको खाना खानेगरी पुग्छन् । हिलेखर्कबाट झण्डै ५/६ घण्टाको उकालो चढेपछि खुमैडाँडा आइपुग्छ । यो पदयात्रा मार्गको बीचबीमा केही रेस्टुरेन्ट बनिसकेका छन् । केही अझै बन्ने क्रममा छन् ।

बाटोमा गुराँस फुलेको हेर्दै पदयात्रा गर्दा डाँफे, मुनालसमेत देखिन सक्छन् । समुद्री सतहदेखि ३ हजार २ सय ५० मिटर उचाइमा रहेको खुमैडाँडामा हिउँदमा बाक्लो हिउँ पर्छ । माछापुच्छ्रेको काँखैमा थपक्क बसेजस्तो खुमैडाँडामा तीनवटा होटल छन् । यी होटलमा २ सय ५० जनासम्म पाहुना अट्छन् । खुमैडाँडाबाट भन्दा सुन्दर दृश्यको अवलोकन गर्न भने त्यहाँभन्दा दुई घण्टामाथि ३ हजार ६ सय ९० मिटरमा रहेको कोर्चां पुग्नुपर्छ । खुमैडाँडा पुग्ने पदयात्री अर्को दिन ४ बजे उठेर सूर्योदय हेर्न कोर्चां पुग्छन् । सूर्यको पहिलो किरण माछापुच्छ्रेको टुप्पोमा परेको दृश्यले पर्यटकलाई आनन्दित बनाउँछ ।

कोर्चांबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृंखला यतिनजिक देखिन्छ कि आँखाले एकै मेसोमा हेर्न भ्याउँदैन । माछापुच्छ्रेतिर उभिएर हेर्दा देब्रैतिर अन्नपूर्ण दक्षिण र हिमचुली, दाहिनेतिर अन्नपूर्ण तेस्रो लगायतका हिमाल देखिन्छन् । दक्षिणतर्फ पोखरा उपत्यका नियाल्न सकिन्छ । हिउँदमा पोखरा बजार कुहिरोले ढाकिँदा देखिने दृश्य हेर्न पर्यटक खुमैडाँडा र कोर्चां पुग्छन् ।

खुमैडाँडामा एक रातको खाना, बास बसेको र भोलिपल्ट विहानको खाजा खाएको एकजनाले दुई हजार रुपैयाँ तिर्नुपर्छ । फरक मार्ग प्रयोग गर्न चाहनेले कोर्चांबाट सैतीघट्ट हुँदै फर्किन सक्छन् । कोर्चांबाट एकै दिनमा पोखरा आइपुगिन्छ । कस्सिएर हिँड्न सक्नेका लागि एक रात, दुई दिन र समय लिएर हिँड्नेले दुई रात, तीन दिनमा यो पदयात्रा मार्ग पूरा गर्न सक्छन् ।

सहरबाट दुई दिनमा पुगेर फर्कन सकिने नजिकको गन्तव्य भएकोले पनि आन्तरिक पर्यटकको रोजाइमा खुमैडाँडा–कोर्चां परेको छ । टिकटक लगायत सामाजिक सञ्जालमा यतिबेला खुमैडाँडा ‘भाइरल’ नै छ । शुक्रबार, शनिबार र अन्य सार्वजनिक बिदाका दिन आन्तरिक पर्यटकको अत्यधिक चाप हुन्छ । होटललाई पहिले नै सम्पर्क नगरी जाँदा बास नै नपाउने समस्या आउनसक्छ ।

यो पदमार्गको प्रवर्द्धन गर्न माछापुच्छ्रे गाउँपालिकाले आफ्नो १६ औं कार्यपालिका बैठक खुमैडाँडामा गरेको छ । गत शनिबार बसेको कार्यपालिका बैठकले गाउँपालिकाका पदयात्रा मार्गलाई व्यवस्थित गर्दै प्रवर्द्धनमा जोड दिने निर्णय गरेको छ ।


प्रकाशित : चैत्र १३, २०७९ १८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×