सामसङले ल्यायो एम- ४ स्मार्टफोन, दराजबाट प्रिअर्डर गर्न सकिने- बजार - कान्तिपुर समाचार

सामसङले ल्यायो एम- ४ स्मार्टफोन, दराजबाट प्रिअर्डर गर्न सकिने

कान्तिपुर संवाददाता

काठमाडौँ — सामसङ एम सिरिजअन्तर्गतको ग्यालेक्सी एम- ४ स्मार्टफोनको प्रिअर्डर अनलाइन बजार दराजमार्फत खुलेको छ ।  फोनमा ४ जीबी र्‍याम प्लसका साथ ८ जीबीसम्म क्षमता बढाउन सकिने विशेषता उपलब्ध छ । र्‍याम प्लसले प्रयोगकर्तालाई आवश्यकता बमोजिम र्‍यामको स्टोरेज वृद्धि गर्ने सुविधा प्रदान गर्दछ ।

यसमा १ टीबीसम्म स्टोरेज वृद्धि गर्न सकिने सुविधा रहेकोले प्रयोगकर्ताले स्टोरेजको चिन्ता लिन नपर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार फोनमा मिडिया टेक हेलियो पी- ३५ प्रोसेसर जडित छ, जुन २.३ गेगाहर्जसम्म चलाउन सकिन्छ । 'प्रयोगकर्ताले यसमा परिस्कृत कार्यसम्पादन, सहज मल्टिटास्किङ, सजिलो एप नेभिगेसन र निर्वाध गेमिङ अनुभव गर्न सक्ने छन्' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

६ दशमलव ५ इन्च डिस्प्ले रहेको यो फोनमा ५ हजार एमएएच पावरकाे ब्याट्री जडान गरिएको छ । इन–बक्स चार्जरसहित फोन उपलब्ध रहेको कम्पनीले जनाएको छ । ४ जीबी प्लस ६४ जीबीको बजार मूल्य १५ हजार ९९९ रुपैयाँ र ४ जीबी प्लस १२८ जीबीको मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ । हरियो र निलो रंगमा फोन उपलब्ध छ । हाल दराज एपमार्फत मात्रै प्रिअर्डर खुलेको सामसङले जनाएको छ ।


प्रकाशित : चैत्र १, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्

वैशाख १० मा हुने उपनिर्वाचनका उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने प्रक्रिया थालेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन–२ लगायत ठाउँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

बैठकले पार्टी विधानको धारा ३२ (८) (क), (ख) र (ग) बमोजिमको प्रक्रिया पुर्‍याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि निर्देशन दिने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । ‘आगामी वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदैछ । त्यसका लागि उम्मेदवार चयनको प्रक्रिया अघि बढाउन तल्ला समितिलाई निर्देशन दिने निर्णय भएको छ,’ उनले भने, ‘केन्द्रीय कार्यालयले उपयुक्त समयमा सम्बन्धित निकायलाई पत्राचार गर्छ ।’

चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतको फैसलाबाट पद खारेज भएपछि आयोगले वैशाख १० गते सो क्षेत्रमा उपनिर्वाचनको मिति तोकेको छ । लामिछानेले कांग्रेस नेता उमेश श्रेष्ठलाई पराजित गरेका थिए ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र पनि रिक्त बनेको छ । तर, त्यहाँ उपनिर्वाचन कहिले हुने भन्ने निश्चित भइसकेको छैन ।

कांग्रेसको विधानबमोजिम प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा तीन जनाको नाम पूर्ण सहमति नभए बहुमतबाट छनौट गरी सिफारिस गरी जिल्ला कार्यसमितिमा पठाउनुपर्ने व्यवस्था छ ।

जिल्ला कार्यसमितिले प्राप्त सिफारिसमा आफ्नो रायसमेत उल्लेख गरी प्रदेश कार्यसमितिमा पठाउने र प्रदेश कार्यसमितिले प्राप्त नाममा राय राखेर केन्द्रीय संसदीय समितिमा सिफारिस गरी पठाउने व्यवस्था छ । त्यसपछि केन्द्रीय संसदीय समितिले उम्मेदवार चयन गर्नेछ ।

प्रकाशित : चैत्र १, २०७९ १६:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×