नाडाद्वारा ट्राफिक प्रहरीलाई उपकरण सहयोग - बजार - कान्तिपुर समाचार

नाडाद्वारा ट्राफिक प्रहरीलाई उपकरण सहयोग 

कान्तिपुर संवाददाता

काठमाडौँ — नाडा, अटोमोबाइल एसोसिएसन अफ नेपालले ट्राफिक प्रहरीलाई मोनिटरिङका लागि पाँच थान हाइटेक एडभान्स्ड सीपीयू तथा सम्बन्धित उपकरण हस्तान्तरण गरेको छ । नाडाले एक औपचारिक कार्यक्रममार्फत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख मिरा चौधरीलाई राजधानीको सेन्ट्रल ट्राफिक मोनिटरिङका लागि उक्त उपकरण सहयोग गरेको हो ।

सोही क्रममा नाडाले १०० थान ट्राफिक रिफ्लेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ । सो अवसरमा नाडाका अध्यक्ष ध्रुव थापाले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताए । राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन विगतको समयदेखि नै विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको थापाले बताए । उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्य द्वय प्रकाश कपुरी तथा पुष्कर ओझा लगायतको उपस्थिति थियो ।


प्रकाशित : माघ २६, २०७९ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्

परराष्ट्रमन्त्री पौड्याल र साउदी राजूतबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका ४ लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा सरकारको साउदी अरबिया सरकारलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिइन् ।

यस अवसरमा मन्त्री पौड्यालले साउदी अरेबियाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा श्रम सम्झौता गरेर दक्ष जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताइन् ।

मन्त्रीको सचिवालको अनुसार भेटमा राजदूत हैमेदले साउदी अरबीयाको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उल्लेख गरे । उनले आफ्नो देशमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिकहरु लैजाने प्रतिबद्धता जनाए ।

प्रकाशित : माघ २६, २०७९ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×