चितवन मेडिकल कलेजमा बन्यो १०० बेडको क्यान्सर अस्पताल- बजार - कान्तिपुर समाचार

चितवन मेडिकल कलेजमा बन्यो १०० बेडको क्यान्सर अस्पताल

कान्तिपुर संवाददाता

काठमाडौँ — चितवन मेडिकल कलेज (सीएमसी) भित्र १०० बेड क्षमताको क्यान्सर अस्पताल तयार भएको छ ।‘सीएमसी क्यान्सर इन्स्टिच्युट’ नाम दिइएको सो अस्पतालको केही दिनअघि औपचारिक उद्घाटन गरिएको कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालमा अहिले क्यान्सरको रेडियसन लगायतका उपचार सेवा सञ्चालनमा आइसकेका छन् ।

रक्तक्यान्सर बाहेक सम्पूर्ण क्यान्सरको परीक्षण र उपचार सुरु गरिएको इन्स्टिच्यूटका रेडिएसन अंकोलोजिस्ट डा. सुवास ठाकुरले जानकारी दिए । उनका अनुसार अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन (सेकाउने) सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको ठाकुरले बताए । उनका अनुसार सो मेसिनमा 'टडी काउच' र 'हाइपर आर्क' प्रविधि उपलब्ध छ । टाउको भित्रको ट्युमरलाई विना शल्यक्रिया उपचार गर्ने प्रविधि एसआरएस (स्टेरियो टेक्टिक रेडियो सर्जरी) पनि ल्याइएको उनले बताए । ‘यसबाट उपचार गर्दा शल्यक्रिया नगरी टाउकोभित्र जुन भागमा ट्यूमर छ त्यसलाई मात्रै सेकाएर नष्ट गरिने हुँदा बिरामीलाई सहज हुनेछ’ ठाकुरले भने ।

यस्तै एसबीआरटी (स्टेरियो टेक्टिक बडी रेडिएसन थेरापी) सेवा पनि यो उपकरणबाट दिन मिल्ने उनको भनाइ छ । यो उपचार उपकरणले शल्यक्रियाविना शरीरका अंगहरुमा रहेको क्यान्सरका ट्यूमरहरुलाई नष्ट गर्ने उनले बताए । ठाकुरका अनुसार फोक्सो, प्रोस्टेट, आन्द्राको क्यान्सरमा यो विधि उपयोगी मानिन्छ । यसैगरी शल्यक्रिया गर्न नमिल्ने चौथो स्टेजमा पुगेका क्यान्सर र हड्डीको क्यान्सर उपचारमा पनि यो प्रविधि सहज र प्रभावकारी हुने ठाकुरले बताए ।

अस्पतालका अनुसार ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरी क्यान्सर कोष मार्ने प्रविधि इन्स्टिच्युटमा ल्याइएको छ । पाठेघरको मुख र जिब्रोको क्यान्सरमा यो प्रविधिको उपचार बढी प्रयोग हुने बताइएको छ । ‘क्यान्सर पत्ता लागेको ३/४ दिनभित्र नै रेडियोथेरापी लगायतका उपचार सुरु गरिने भएकोले उपचार र परीक्षणमा महिनौं लामो पालो कुर्न पर्दैन’ ठाकुरले भने । इन्स्टिच्यूटमा भारत, अमेरिका र चीनमा क्यान्सर उपचारमा काम गरेका अनुभवी विशेषज्ञ चिकित्सक रहेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले बताए । रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, बाल क्यान्सरको उपचारसहित आवश्यक अत्याधुनिक उपकरण ल्याइसकिएको देवकोटाले बताए ।

सीएमसी क्यान्सर इन्स्टिच्युटमा सरकारले तोकेको शुल्कमा उपचार हुने उनले दाबी गरे । ‘सरकारले तोकेको विपन्न उपचार शुल्कमा नै हामीले बिरामीलाई सेवा दिन्छाैं’ देवकोटाले भने ‘निजी भएकाले महँगो हुन्छ भन्ने पर्न दिँदैनौं ।’ सरकारले क्यान्सरको उपचारका लागि दिने एक लाख र प्रदेश सरकारले उपलब्ध गराउने थप रकमको उपचार सुविधा पनि दिने देवकोटाले बताए ।

प्रकाशित : माघ १६, २०७९ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्

'साहसिक खेल' नियमन गर्ने कानुन ल्याउन महान्यायाधिवक्ताको सुझाव 

कान्तिपुर संवाददाता

काठमाडौँ — महान्यायाधिवक्ताको कार्यालयले 'साहसिक खेल' गतिविधि नियमन गर्नका लागि कानुनको आवश्यकता रहेको भन्दै सरकारलाई त्यसको व्यवस्था गर्न सुझाव दिएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले साहसिक खेलको क्रममा हुने घटनाको अनुगमन गर्ने कानुन नहुँदा कानुनी जटिलता रहेको बताए । 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गरेपछि महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता पोखरेलले उक्त कुराको जानकारी दिएका हुन् । 'केबलकार, र्‍याफ्टिङ, बन्जिजम्प, जिपलाइनलगायत गतिविधि सञ्चालन भइरहेका छन् । त्यसलाई नियमन गर्ने कानुन नरहेको हुनाले त्यसबाट आएको जटिलतालाई निरुपण गर्न सुझाव दिएका छौं,' उनले भने ।

पछिल्लो समय नेपालका विभिन्न भागमा केबलकार, र्‍याफ्टिङ, बन्जिजम्प, जिपलाइन, सीसामा हिँड्ने, स्काई साइक्लिङलगायतका गतिविधि व्यावसायिक रूपमा बढिरहेका छन् । तर‚ तिनको नियमन गर्ने कानुन भने छैन । कानुनको अभावमा गुणस्तर, सेवा सर्त, दुर्घटनालगायत विषय आउँदा कानुनी जटिलता रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको हो । त्यसका लागि सरकारले कानुन ल्याउनुपर्ने सुझाव वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारले ती साहसिक खेल सञ्चालनका लागि अनुमति दिए पनि त्यसको नियमनका लागि कुनै कानुन बनाएको छैन ।

प्रकाशित : माघ १६, २०७९ १९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×