विदेशी कलेजको व्यवस्थापन गर्दै इस्लिङ्टन

कान्तिपुर संवाददाता

काठमाडौँ — लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको अनुमतिमा नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको इस्लिङ्टन कलेजले विदेशमा रहेका अन्य कलेज व्यवस्थापनको जिम्मेवारी पाएको छ ।

काठमाडौंमा इस्लिङ्टन कलेज, लन्डन मेट्रोपोलिटन विश्वविद्यालय, माई सेकेन्ड टिचर र आरभीआई ग्रुप बीचमा लन्डन बीए (अनर्स) बिजनेस प्रशासन कोर्स अध्ययन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त विश्वविद्यालयको सम्बन्धनमा अनलाइन बीए (अनर्स) बिजनेस प्रशासन तहको कक्षा सञ्चालन गर्न चार निकायबीच सम्झौता भएको कलेजका अध्यक्ष सुलभ बुढाथोकीले बताए ।

विश्वविद्यालयले तयार गरेको पाठ्यक्रमका आधारमा म्यानमार र थाइल्यान्डमा अध्यापन हुनेछ । आगामी फेब्रुअरीबाट कक्षा सञ्चालन हुने जनाइएको छ ।

आरभीआई ग्रुपले विश्वविद्यालयको पाठ्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग गर्ने सम्झौतामा उल्लेख छ । अनलाइन शिक्षाका लागि प्लेटफर्मका रूपमा माई सेकेन्ड टिचरको प्रयोग गर्दै छ । माई सेकेन्ड टिचरको सहयोगमा सबै पाठ्यक्रम सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइने कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थीहरूका असाइनमेन्ट पनि सोही प्लेटफर्ममा वितरण गर्ने माई सेकेन्ड टिचरका संस्थापक बेन्सन सुबले जनाए ।

प्रकाशित : मंसिर २५, २०७९ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्

'विश्वस्तरका नेपाली फिल्म बन्नुपर्छ'

रीना मोक्तान

काठमाडौँ — नेपाली फिल्ममा पुरुषकै दबदबा बढी भएका कारण अझै नेपाली फिल्ममा महिलाको चरित्रचित्रण परम्परागत भएको रंगकर्मी आकांक्षा कार्की बताउँछिन् ।

'महिलालाई जसरी युगौं युगदेखि हेर्ने मेलगेजको दृष्टिकोण छ, ती नै चरित्रचित्रणमा झल्किएको हो । अहिले फिल्म मेकिङमा परिवर्तन आएको छ । फिल्म बनाउने धारणाहरू बद्लिँदै गर्दा पनि फिल्मकर्मी महिलाको भूमिकालाई लिएर जोखिम मोल्न सक्नु भएको छैन जस्तो लाग्छ । हिरोइन मटेरियलको ट्याग अहिले पनि देखिन्छ,' किम्फमा आयोजित 'नेपाली फिल्मको भविष्य' शीर्षकमा भएको अन्तरक्रियामा कार्कीले भनिन्,'हाम्रो नेपाली फिल्म उद्योग पुरुष प्रधान भएरै पनि होला, स्रोत र शक्ति उनीहरुकै नियन्त्रण छ । त्यसैले निर्यण लिन सक्ने क्षमताका महिला र प्रेरणादायी भूमिका महिलाहरूले कम पाउँछन् ।'

अभिनेत्री सुरक्षा पन्त नेपाली फिल्म क्षेत्रमा महिलाहरुको संख्या नै कम भएको बताउँछिन् । महिलाको सहभागिता बढे फिल्ममा राम्रो सहकार्य हुने र समानता पनि आउने उनको धारणा छ । 'संख्याको हिसाबले पुरुषहरु पक्कै पनि धेरै हुनुहुन्छ । तर, म कलाकारका हिसाबले उनीहरुबाट केही न केही सिक्ने मौका खोज्छु । फरक विचारधाराका फिल्मकर्मीबीच काम गर्ने कुरालाई मैले अवसरको रुपमा पनि लिएको छु,' अन्तरक्रियाकै क्रममा भनिन्, 'तर, फिल्मको संख्या बढ्नुपर्छ भन्नेमा मेरो ध्यान हुन्छ । यो रातारात हुने विषय होइन । महिलाको संख्या बढ्यो भने समानता पनि आउनेछ । त्यति मात्रै होइन यसरी महिलाहरूको उपस्थितिले फिल्मकर्मीहरुमा राम्रो सहकार्य पनि हुनेछ भन्ने लाग्छ ।' उनी फिल्ममा कोही महिला फिल्मकर्मी छन् भने उनीहरुसँग काम गर्ने कुरालाई प्राथमिकतामा राख्दै आएको पनि बताउँछिन् । 'कोही महिला फिल्मकर्मी हुनुभयो भने उहाँहरुसँग काम गर्छु । झन् निर्माता कोही महिला हुनुभयो भने उहाँहरूको फिल्म तुरुन्तै गर्न तयार हुन्छु,'उनले भनिन् ।

महिला चरित्रचित्रणमा बजारले कत्तिको निर्धाण गर्छ ? समाजको प्रतिबिम्व नै फिल्ममा हुने गरेकाले महिला चरित्र चित्रण त्यसरी हुने गरेको जवाफ दिन्छन् निर्देशक प्रदीप भट्टराई । ‍'फिल्म भनेको छुट्टै संसार होइन भन्ने कुरा बुझ्नुपर्छ । फिल्म भनेको समाजको एउटा सानो भाग हो । समाजमा जे भइरहेको हुन्छ, फिल्ममा त्यही भइरहेको हुन्छ । समाजमा धेरै संख्यामा महिलाहरुले नेतृत्व लिइरहेको भए उनीहरुको चरित्रचित्रणमा डोमिनेटेड गरेको भन्ने हुन्थ्यो । वास्तवमा समाजमै त्यस्तो कुरा छ । फेरि समाजमै भएका कुरा फिल्ममा देखिनुपर्छ भन्ने होइन । तर, हामी फिल्मकर्मी त्यस्तो कुरामा जिम्मेवार छौं,'उनले भने । फिल्म लेखन र वर्कशपका क्रममा यस्ता परम्परागत चरित्रचित्रणबारे छलफल हुनुपर्ने आकांक्षा थप्छिन् ।

नेपाली फिल्म विश्वस्तरका बन्नुपर्छ : अविनाश

संसारमा बनिने फिल्मको स्तरमा नेपाली फिल्म बनिनुपर्ने निर्देशक अविनाशको भनाइ छ । 'लोरी'बाट कान्समा स्पेशल जुरी मेन्सन अवार्ड जितेका अविनाश नेपाली फिल्ममा कथ्य शैली नयाँ हुनुपर्ने पनि धारणा राख्छन् । 'नेपाली फिल्महरू विश्वका फिल्मको स्तरमा, उत्तिकै प्राविधिक रुपले राम्रा अनि विश्व दर्शकलाई सोचेर बनाउन जरुरी छ । फिल्ममा कथा हुन्छ तर, फिल्ममा कसरी कथा भनिएको छ भन्ने कुराले महत्त्व राख्छ । नेपाली फिल्म कस्तो बन्नुपर्छ भन्ने त जवाफ छैन । तर, कथा भन्ने शैलीमा नयाँपन हेर्न मन छ मलाई । परम्परागत किसिमका कथ्य शैली भन्दा पनि फरक तरिकाका अपनाउनु पर्छ । त्यो फिल्मले के भन्न खोजेको हो भन्ने कुरा र इमोसनलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुराले अर्थ राख्छ जस्तो लाग्छ,'अन्तरक्रियामा सहभागी दर्शकलाई हेर्दै अविनाशले भने ।

विश्वस्तरका फिल्म बने नेट्फ्लिक्स, अमाजोनजस्ता प्लेटफर्ममा पनि नेपाली फिल्मका लागि ढोका खोलिने एनिमेसनमा आफ्नो पहिचान बनाइसकेका इन्सेसान्ट रेन स्टुडियोका किरण भक्त जोशी बताउँछन् । 'नेट्फ्लिक्समा भएको फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबललाई धेरै दर्शकले हेरे । नेट्फ्लिक्स, अमाजोनजस्ता प्लेटफर्मले कथा कस्तो छ भनेर हेर्दैन । तर, ती कथाहरू कसरी भनिएका छन् भन्नेमा उनीहरूको ध्यान हुन्छ, 'किरणले भने, 'तर फिल्मका निर्माणका लागि आवश्यक पुर्वाधारको कमी देख्छु यहाँ । नेपालमा फिल्महरू व्यक्तिले लगानी गरिरहेको हुन्छ । फिल्ममा लगानी गर्ने पुर्वाधारको विकास हामीले गर्नुपर्छ । हामीसँग राम्रो कथा भन्ने फिल्मकर्मी छन् ।'

प्रदीप भट्टराईले भने विश्वस्तरका फिल्म बनाउने वातावरण अझै नबनेको बताए । 'संसारका राम्रा कहलिएका फिल्महरु सबैभन्दा धेरै व्यापार गर्ने फिल्म बनुन् भन्ने कामना छ । हाम फालेर त्यस्ता फिल्म बनाउँछु भन्ने वातावरण बनिदियोस् भन्ने लाग्छ । कहिलेकाहीँ त हाम्रो भाग्यमा राम्रो फिल्म हेर्ने मात्र रहेछ, बनाउने रहेनछ भन्ने अनुभव पनि हुन्छ,' उनको जवाफमा दर्शकहरू गलल हाँसे ।

लगानी खोज्न विश्व बजार

विश्वस्तरका फिल्म बनाउन उत्तिकै लगानीमा फिल्म निर्माण गर्नुपर्ने हुन्छ । फिल्म निर्माण महंगो पेसा हो । विश्व बजारलाई हेर्दा नेपाली फिल्म निकै कम बजेटमा बन्ने गरेका छन् । व्यवसायिक फिल्ममा आफूलाई सावित गरिसकेका प्रदीप भट्टराईहरूका लागि लगानी खोज्नु समस्याको विषय नबन्ला । तर, स्वतन्त्र रुपले फिल्म बनाइरहेकाहरुका लागि लगानी खोज्नु प्रमुख समस्या रहेको अविनाश बताउँछन् । 'स्वतन्त्र रुपले काम गरिरहेका फिल्मकर्मीलाई कसले विश्वास गरिदिने ? विश्वका राम्रा फिल्मकर्मीकै तहका फिल्मकर्मी हामीकहाँ छन् । यहाँको उद्योगले नपत्याइदिएपछि बाहिरबाट पैसा उठाउनुपर्छ । त्यसरी पैसा खोज्न ठूला-ठूला फिल्मकर्मीसँग प्रतिस्पर्धा हामीले गर्नुपर्छ । हामीले गर्ने भनेको दुई हात फैलाएर त्यस्तो बजारमा पुग्नुपर्छ,'अविनाशले भने । नेपाली लगानीकर्ता फिल्मसँग जोडियो भने फिल्मकर्मीमा लगानी उठाइदिने दबाब हुन्छ । तर, फिल्ममा लगानी गरिदिने फेस्टिभल, ल्याब, मार्केटमा नेपाली फिल्मकर्मी पुग्नुपर्ने अविनाश बताउँछन् । 'तर, लगानी खोज्न ती क्षेत्रमा पनि उतिकै गाह्रो छ । जति नेपालमा खोज्न गाह्रो हुन्छ,'उनले भने,'लगानी खोज्ने प्रोसेस लामो हुनसक्छ । कहिलेकाहीँ झर्को पनि लाग्न सक्छ ।'

लगानी खोज्ने समस्या व्यवसायिक फिल्मकर्मीका लागि पनि उत्तिकै चुनौतीपूर्ण रहेको प्रदीप भट्टराईको अनुभव छ । आफूहरुले साथीभाइसँग मिलेर फिल्मका लागि लगानी जुटाउँदै आएको बताउँछन् । 'मैले चारवटा फिल्म गरें । श्रीमतिको सुन, आमाको गहना राखेर नै जोखिम मोलेर हामीले फिल्म बनायौं । नाफा नोक्सान पनि आफैंले ब्यहोर्ने भनेर आफैं लागि परेर काम गर्दै आइरहेका छौं,'लगानीकै विषयमा छलफल हुँदा प्रदीपले आफ्नो अनुभव सुनाए । राज्यले नै फिल्म क्षेत्रको यो समस्या समाधान गरिदिनु पर्ने उनी तर्क गर्छन् । नेपाली दर्शकको स्वाद बदल्न अविनाश विक्रम शाह जस्ता फिल्म बुझेकाहरूले नेपाली बजार लक्षित गरेर फिल्म बनाउनुपर्ने भन्दै उनले सुझाव दिएका थिए ।

प्रकाशित : मंसिर २५, २०७९ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×