सिद्धार्थ बैंकको १३.१६ प्रतिशत लाभांश घोषणा- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिद्धार्थ बैंकको १३.१६ प्रतिशत लाभांश घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ बैंकले ०७८/७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश गरी १३.१६ प्रतिशतको लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिने बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकका देशभर १९३ शाखा (४ एक्सटेन्सन काउन्टरसहित), ११८ शाखारहित बैंकिङ, २१५ एटीएम, १७ सयभन्दा बढी पीओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : मंसिर २१, २०७९ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्

सौर्य ऊर्जाले उज्यालियो पोखरीगाउँ

‘सल्लाको दियालोको भरमा अन्धकार रात काटिन्थ्यो । उज्यालो भनेकै दियालो सम्झेका थियौं । तर सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि वर्षौं देखिएको बिजुली बाल्ने धोको पूरा भएको अनुभूति गर्न थालेका छौं ।’
डीबी बुढा

जुम्ला — वर्षौंदेखि मनभित्रै उज्यालो सपना गुम्साएर राखेका जुम्ला तिला ७ का मुनबहादुर रोकाया सौर्य ऊर्जाले गाउँ नै झिलीमिली बनेपछि दंग छन् । कहिल्यै पनि बिजुली सपना पूरा नहुने पीडा साँचेर बसेका रोकाया अहिले रातदिन सौर्य ऊर्जाको बिजुली बाल्छन् ।

‘सल्लाको दियालोको भरमा अन्धकार रात काटिन्थ्यो । उज्यालो भनेकै दियालो सम्झेका थियौं । तर सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि वर्षौं देखिएको बिजुली बाल्ने धोको पूरा भएको अनुभूति गर्न थालेका छौं,’ उनले भने, ‘यो गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ ।’

पोखरी गाउँकै धनबहादुर रोकायाले सौर्य ऊर्जाले ऊर्जा दिएको बताए । उनले भने, ‘गाउँ त २४ सैं घण्टा झिलीमिली भयो । त्योसँगै वर्षौंदेखि दियालोले कालो बनिसकेका मनमा समेत उज्यालो अनुभूति गरायो । योभन्दा खुसीको क्षण के हुन सक्छ र ? ‘पोखरी गाउँमा न बिजुली निकाल्ने खोला नै थियो । न त घरै पिच्छे सोलार किनेर बिजुली बाल्ने सपना पूरा गर्ने पैसा नै आउँथ्यो,’ धनबहादुरले भने, ‘गाउँको हुनेखानेले बालेको सोलार बिजुली हेरेर चित्त बुझाइन्थ्यो । मोबाइल चार्ज पनि पनि उसैकोमा दिइन्थ्यो ।’

पोखरी गाउँमा ६० घर छन् । गाउँ नजिकै अर्को गोठीबस्ती छ । वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन् । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पुर्‍याइएको छ । सबै गरेर १ सय २० घरमा बिजुली बालिएको छ ।

५० किलोवाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा ६ बल्भ राखिएको छ । तर एक घरले दुई बल्भभन्दा बढी बालेका छैनन् । मुनबहादुरले भने, ‘गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । छिमेकी गाउँकाले समेत मोबाइल चार्ज गर्न पठाउने गरेका छन् । टीभी र वाईफाई चलाउनसमेत सजिलो भएको छ,’ उनले भने । उत्पादन भएको सबै बिजुली खपत नहुने भए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्ने तयारी भइसकेको छ, जसको लागि वडापालिकाले बजेट छुट्याइसकेको छ ।

गाउँमै कुटानी पिसानीको काम हुने भएपछि महिलाको कार्यबोझ घट्ने देखिन्छ । घट्ट पिस्न न्यूनतम आधा घण्टादेखि एक घण्टा हिँडेर बास बस्नुपर्ने अवस्था छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३ करोड ३४ लाख ९६ हजार ५ सय १० रुपैयाँको लागतमा सौर्य ऊर्जा बालिएको हो । जसमा ३० लाख रुपैयाँ तिला गाउँपालिकाको साझेदारी रकमसमेत हालिएको छ ।

फागुनदेखि सौर्य ऊर्जा निकाल्नका लागि कामको थालनी भएको थियो । एक वर्ष नपुग्दै बिजुली बालेपछि स्थानीय चकित छन् । न बत्ती निकाल्ने खोला थियो न त बत्ती बाल्ने स्थानीयको धोको नै थियो  तर एकाएक सौर्य ऊर्जाले ओठमा मुस्कान र अनुहारमा चमक ल्याइदिएको छ । धूलो र धूवाँका कारण यहाँका नागरिक दमलगायतको श्वासप्रश्वास रोगले ग्रसित हुने गरेका छन् । स्थानीय अर्जुन रोकायाले भने, ‘अब धूलो र धूवाँबाट मुक्ति मिल्यो । गाउँको मुहार बदलियो । योभन्दा गर्व गर्नलायक कुरा अरू छैन ।’

दियालोको घरमा अध्ययन गर्ने विद्यार्थी र अन्धकारमा अध्यापन गराउने शिक्षक सबैभन्दा खुसी छन् । उनीहरू अहिले विद्युतीय उपकरण खरिद गरेर विद्यालयलाई डिजिटल बनाउने प्रयत्न गरिरहेका छन् । नागरिकको स्वास्थ्यमा निकै सुधार हुने आशा पलाएको छ । ‘बिजुलीले जंगलको संरक्षण हुने देखिन्छ । किनकि दियालो निकाल्न रूख नै ढाल्नुपर्ने छैन । व्यक्तिगत रूपमा बिजुली बालेकाहरू र गरिबहरूले समान उज्यालो पाइराखेका छन्,’ उनले भने, ‘व्यक्तिगत रूपमा सोलार किनेर बिजुली बालेका थिए । त्यो पनि पहुँचमा हुनेले मात्र । पढ्ने विद्यार्थीले सोचेअनुसारको अध्ययन गर्न पाउने भए । यो पनि खुसीको विषय नै हो ।’

पोखरी गाउँमा सौर्य ऊर्जाको लागि कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले पहल गरेका थिए । कुनै कतैबाट पनि बिजुलीको सम्भावना नदेखेका भण्डारीले सौर्य ऊर्जाको विकल्प अघि सारेका थिए । पहिले हावा र सार्य ऊर्जाबाट विद्युत् निकाल्ने भनिएको थियो । तर हावाबाट बिजुली निकाल्दा दिगो नहुने देखिएको पूर्वमन्त्री भण्डारीले भने, ‘पछि सोलार सिस्टम मात्र जडान गर्ने गरी डीपीआर बन्यो । त्यहीबमोजिम वैकल्पिक ऊर्जाले बिजुली बालिदियो ।’

उनले जुम्लाको हरेक बस्ती उज्यालो बनाउन पहल भइरहेको बताए । ‘भर्खरै ऊर्जा सचिवसँग भेट गरेर जुम्लाको ऊर्जा संकट समाधानका विषयमा छलफल भएको छ,’ भण्डारीले भने, ‘वैशाखसम्म जुम्लालाई लोडसेडिङमुक्त गर्ने गरी पहल भइरहेको छ । जुम्लाको पातारासी गाउँपालिकामा चुकेनी जलविद्युत् निकालेर सबै घरमा बिजुली पुर्‍याइनेछ । स्रोत नभएका र बिजुली नपुगेका हरेक बस्तीसम्म राष्ट्रिय प्रसारण लाइन जडान गरिनेछ ।’

छरिएर रहेको बिजुलीलाई एकीकृत गर्ने र नयाँ उत्पादन हुने विद्युत्को काम छिटो सम्पन्न गर्नेतिर ध्यान केन्द्रित गर्ने उनले बताए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इन्जिनियर अमनुलहक अन्सारीले सौर्य ऊर्जाका माध्यमबाट बिजुली उत्पादनको काम सकिएको बताए । उनले भने, ‘दुर्गम क्षेत्रमा गरिएको यो कामले निकै ठूलो राहत दिनेछ । अन्धकारमा जीवन गुजारिरहेका स्थानीयको मुहारमा उज्यालोको अनुभूति देखेको पाउँदा निकै हर्षित छौं ।’

प्रकाशित : मंसिर २१, २०७९ १२:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×