एनसेलले सुरु गऱ्यो नयाँ 'प्रिपेड प्लान' 

काठमाडौँ — एनसेल आजियाटले ग्राहकका लागि नयाँ प्रिपेड प्लान ल्याएको छ । नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लानलाई अपडेट गरिएका छन् । यी प्याकहरु आइतबार (मंसिर ४) देखि सञ्चालनमा आएका छन् । ग्राहकले सजिलो प्लानमा करसहित ९७ रुपैयाँ, सहयात्री प्लानमा ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्नेछन् ।

एनसेलले सुरु गऱ्यो नयाँ 'प्रिपेड प्लान' 

कम्पनीका अनुसार स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वत: सजिलो प्लान प्राप्त गर्दछन् । यसमा १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेको २० वटा अन नेट एसएमएस हुन्छ । यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत करसहित १ रुपैयाँ ६२ पैसा प्रतिमिनेटमा कल, १ रुपैयाँमा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक १ रुपैयाँमा पठाउन सक्छन् ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यका लागि सहयात्री प्लान रहेको छ । यो प्लानअन्तर्गत ग्राहकले १० रुपैयाँ मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कल पछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा पाउनेछन् । सहयात्री प्लान अन्तर्गत ग्राहकले बीप सेवाको पनि फाइदा लिन सक्छन् । यस सेवा अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्छन् । यसका साथै यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो १ मिनेटपछि छुट पाउने एनसेलले जनाएको छ ।

त्यस्तैगरी अर्को स्टार्टर प्याक ‘सही यो प्लान’ अन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसीमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र ७ दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस पाउन सक्छन् । यसका साथै, यी सबै स्टार्टर प्याकहरुमा पहिलो रिचार्ज अफर पनि रहेको छ । यो योजना अन्तर्गत सिम कार्ड सुचारु भएको अर्को दिनको मध्य रातिसम्म २ सय रुपैयाँ र सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन् । प्राप्त बोनस पे एज यू गो अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवाको लागि प्रयोग गर्न सकिन्छ । बोनस रकम ३ दिनको लागि मान्य रहन्छ ।

नेपाल घुम्न आउने पर्यटकका लागि पनि एनसेलले १ सय, ५ सय र १ हजार रुपैयाँका तीन प्लानहरु प्रदान गर्दै आएको छ । १ सयको प्लानमा ग्राहकले २०० एमबी डेटा, १० मिनेट (लोकल कल) प्राप्त गर्छन् । ५ सयको प्लानमा पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र ७ दिनको समयसीमा रहेको १० जीबी डेटा प्राप्त गर्न सक्छन् । त्यस्तै १ हजारको प्लान अन्तर्गत नेपाल भ्रमणमा रहेका पर्यटकले ५० रुपैयाँ मेन ब्यालेन्स, १०० मिनेट लोकल कल र २८ दिनको समयसीमा रहेको २५ जीबी डेटाबाट फाइदा लिन सक्छन् ।

प्रकाशित : मंसिर ६, २०७९ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?