ईसेवाको प्रमुख कार्यकारी अधिकृतमा खड्का नियुक्त


काठमाडौँ — डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई ईसेवाको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो । खड्कालाई ईसेवाका अध्यक्ष परशुराम कुँवर क्षत्रीले पद तथा गोपनियतताको सपथ खुवाएका थिए ।

नवनियुक्त सीईओ खड्कालाई बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट र भेन्चर्स बिल्डिङमा १२ वर्षभन्दा लामो समयको अनुभव रहेको ईसेवाले जनाएको छ । उनी यसअघि एफवानसफ्ट ग्रुप अन्तर्गतको फोनपे पेमेन्ट सर्भिसका निर्देशक थिए ।
नेपालमा डिजिटल भुक्तानी क्षेत्रलाई अगाडी बढाउन ईसेवाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको खड्काको भनाइ छ । ‘डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको ईसेवामा आबद्ध हुन पाउँदा म निकै खुशी छु,’ उनले भने, ‘ईसेवाका सेवालाई अझ विस्तार गरी आममानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु ।’ ईसेवामा यसअघि सुभास सापकोटा सीईओ थिए ।
ईसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली, खानेपानीको महशुल भुक्तानी गर्न सकिन्छ भने रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ । ईसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा रकम जम्मा गर्न र बैंक खातामा पठाउन सकिन्छ ।
प्रकाशित : आश्विन १२, २०७९ १९:०२