२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

यती एअरलाइन्सको २४ वर्ष पूरा

काठमाडौँ — नेपालको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सको हवाइ यात्रा २४ वर्ष पूरा भएको छ । तत्कालीन हवाइ विभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति पाए पनि २१ सेप्टेम्बर, १९९८ मा पहिलो उडान गरेको हो ।

यती एअरलाइन्सको २४ वर्ष पूरा

सोही अनुसार यती एअरलाइन्सले हरेक सेप्टेम्बर २१ को दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने गरेको छ ।

नेपालमा हवाइ सेवाको विकासमा महत्त्वपूर्ण योगदान गहेको यस एअरलाइन्सको सुरूवात २ वटा ट्विनअटर वायुयानबाट भएको थियो । २४ वर्षे यात्राको दौरान यो एअरलाइन्ससँग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारका वायुयान उडान गरेको अनुभव छ ।

यो यात्रामा डीएचसी-६ ३०० ट्विनअटर, डोर्नियर २२०, वाई-१२, इएमबी-११०, ईएमबी-१२०,साब-३४० बी, जेटस्ट्रीम जे-४१, डीएचसी-६ ४०० ट्विनअटर तथा एटीआर-७२ ५०० जस्ता ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ ।

हाल ७३० जना कर्मचारी कार्यरत रहेको यस एअरले नेपालमा हवाइ सेवाको लागि धेरै जनशक्ति उत्पादन गरिसकेको छ । यस एअरका प्राविधिक, चालकदल तथा अन्य कर्मचारीहरू हाल नेपालमा सञ्चालित सम्पूर्ण एअरलाइन्समा कार्यरत रहेको यती एअरका प्रवक्ता तथा हवाइ सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनले भने, 'यतीको २४ वर्षे यात्रा लगनशील तथा इमानदार कर्मचारी तथा लगानीकर्ताको संयुक्त योगदानका कारण सफल भएको हो । साथै हाम्रा संस्थापक प्रबन्ध निर्देशक स्व. आङ्ग छिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय रहेको छ ।'

१ वर्षको अवधिमा ५ वटा विमान मार्फत् यस एअरलाइन्सले १५ हजार ९२५ उडान मार्फत् १० लाख ५ हजार ६ सय ७७ यात्रुहरूलाई सेवा दिएको छ भने २७ हजार ६६३ विदेशी पर्यटकलाई सेवा दिएको छ ।

साथै १ लाख ५४ हजार २८७ कार्गो तथा कुरियर बोकेको छ । यस अवधिमा यतीको विमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको एअरलाइन्सले जानकारी दिएको छ । हालै एउटा विमान थपेको यतीसँग हाल ६ वटा एटिआर विमान रहेको छ भने यसै वर्ष एउटा विमान ल्याउने योजना छ ।

प्रकाशित : आश्विन ५, २०७९ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?