काठमाडौँ — साउनमा निक्षेप ह्वात्तै घट्दा तीन वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ले ९० प्रतिशतको सीमा नाघेको छ । पुँजी कोषबाहेकको ऋणपत्र तथा सापटी र निक्षेप समेत जोडेर आउने कुल रकममा ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा दिन पाउँछन् । अर्को अर्थमा सीडी रेसियो ९० प्रतिशत नाघ्नु भनेको ती बैंकले थप कर्जा दिन नसक्ने अवस्था रहनु हो ।
साउन महिनामा मात्रै बैंकहरुबाट १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन मसान्तसम्म आउँदा ४४ खर्ब ३४ अर्बमा झरेको छ । जसले गर्दा बैंकहरूको सीडी रेसियोमा दवाव परेको छ ।
मौद्रिक व्यवस्थाअनुसार यो सीमा ९० प्रतिशत नाघेमा राष्ट्र बैंकले कारबाही गर्दछ । साउन महिनाको अन्त्यसम्म तीन बैंक नबिल, नेपाल र सेन्चुरी कमर्सियलको सीडी रेसियो भने ९० नाघेको छ ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार सेन्चुरीको ९१.६३, नबिलको ९०.९२ र नेपाल बैंकको ९०.७२ छ । समग्रमा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.०७ प्रतिशत छ । असार मसान्तसम्म यस्तो रेसियो ८६.२२ प्रतिशत थियो । सानिमा, प्रभु, एसबीआईको भने ८५ मुनि छ ।
बैंकअनुसार कर्जा निक्षेप अनुपात सूची
बैंक | सीडी रेसियो % |
कृषि | ८९.३२ |
बीओके | ८९.६६ |
सेन्चुरी | ९१.६३ |
सिटिजन्स | ८७.८० |
सिभिल | ८७.१९ |
एभरेस्ट | ८६.७९ |
ग्लोबल | ८९.९५ |
हिमालयन | ८९.४७ |
कुमारी | ८९.३१ |
लक्ष्मी | ८६.९९ |
माछापुच्छ्रे | ८६.६० |
मेगा | ८८.६८ |
नबिल | ९०.९२ |
नेपाल | ९०.७२ |
एनसीसी | ८९.८१ |
इन्भेस्टमेन्ट | ८६.७६ |
एनआईसी एसिया | ८६.३७ |
एनएमबी | ८७.४१ |
एसबीआई | ८४.६४ |
प्रभु | ८२.८८ |
प्राइम | ८९.१७ |
राष्ट्रिय वाणिज्य | ८९.९३ |
सानिमा | ८४.८० |
स्टान्डर्ड चार्टर्ड | ८८.०९ |
सनराइज | ८६.८५ |
स्रोत: नेपाल बैंकर्स एसोसिएसन
प्रकाशित : भाद्र ५, २०७९ १९:४०