सिटिजन्स बैंकको चिरायु मुद्दती योजना, १० गुणासम्म प्रतिफल - बजार - कान्तिपुर समाचार

सिटिजन्स बैंकको चिरायु मुद्दती योजना, १० गुणासम्म प्रतिफल 

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंकले मुद्दती निक्षेपको १० गुणासम्म प्रतिफल पाउनेगरी आकर्षक चिरायु मुद्दती योजना संचालनमा ल्याएको छ । चितवनमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यो योजना सुरुवात भएको घोषणा गरे । 

सिटिजन्स चिरायु मुद्दती योजनाअन्तर्गत ग्राहकले जम्मा भएको रकममा १३ वर्ष ४ महिनादेखि २२ वर्ष १ महिनासम्म एकमुष्ठ रुपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । रेमिट्यान्स चिरायु मुद्दती योजनाअन्तर्गत ग्राहकले १२ वर्ष ३ महिनादेखि २० वर्ष ३ महिनासम्म एकमुष्ठ रुपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जनाएकाे छ।

कुनै पनि शाखामार्फत न्यूनतम पचास हजार रुपैयाँ मौज्दातमा यी खाता खोल्न सकिने बैंकले जनाएको छ । यसैबीच बैंकले आफ्नो वेबसाइटमार्फत स्मार्ट सर्भिसेज सेवा समेत थालेको छ । यस सेवाअन्तर्गत बैंकको वेबसाइट मार्फत नै विभिन्न कार्डसम्बन्धी सेवाहरु, मोबाइल/ईबैंकिङ, सेयर तथा क्यूआर सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्नेछन् । बैंकका देशभर १८० वटा शाखा संचालनमा छन् ।


प्रकाशित : श्रावण २२, २०७९ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्

स्तनपान प्रवर्द्धन सबैको जिम्मेवारी

सुदर्शन पौडेल, रोमिका न्यौपाने

काठमाडौँ — 'स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौं' भन्ने नाराका साथ २०७९ साउन १६ देखि २२ गते (अगस्ट पहिलो हप्ता) नेपाल लगायत विश्व भरी स्तनपान सप्ताह मनाइएको छ । स्तनपानले शिशुको मृत्युदर घटाउने अध्ययनहरुले देखाएका छन् ।

नेपालमा कम साक्षर, विपन्न, दुर्गम क्षेत्रका मानिसहरूको तुलनामा साक्षर, सम्पन्न, सहरियाहरूमा स्तनपानको दर कम रहेको स्वास्थ्य मन्त्रीले बताए । यस्तो अवस्था नेपाल लगायत संसारका अन्य देशमा प्रचलनमा पाइन्छ । यसका लागि स्तनपान गराउने आमाका लागि सामाजिक सहजिकरण, व्यक्तिगत चेतना अभिवृद्धिदेखि राज्यको तर्फबाट प्रभावकारी नीतिगत व्यवस्था गरी सहयोग बढाउनु पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

जनसांख्यिक स्वास्थ्य सर्भेक्षण, २०१६ अनुसार नेपालमा जन्मेको पहिलो महिनामा शिशुको मृत्यु दर २१ प्रति हजार जीवित जन्म रहेको छ । सन २०३० सम्म दीगो विकास लक्ष्य प्राप्तिका लागि यस्तो मृत्युदर १३ प्रति हजार जीवित जन्ममा झार्ने लक्ष्य प्राप्त गर्न स्तनपानको दर सुधार गर्नु आवश्यक छ । स्तनपान बच्चाको खाना मात्र होइन, बच्चामा रोग प्रतिरक्षा प्रणाली विकासको लागि अमृत समान आहार हो भने आमा र बच्चाको बीचमा सौहार्द सम्बन्ध विकासको माध्यम पनि हो । नेपालमा सुदूरपश्चिम प्रदेशमा जन्मने बच्चाहरूमध्ये करिब ७१ प्रतिशतले जन्मको पहिलो एक घण्टामा आमाको बिगौती दूध खाने गरेका छन् भने यस्तो दर मधेश प्रदेशमा सबैभन्दा कम (४५ प्रतिशत) रहेको अध्ययनले देखाएको छ । स्तनपानको दर सहरिया–शिक्षित–सम्भ्रान्तको तुलनामा ग्रामीण, कम साक्षर र मध्यम तथा न्यून आय भएका परिवारमा राम्रो रहेको पाइएको छ ।

दुर्गम क्षेत्रमा सामाजिक मर्यादाले थिचेर हो या लज्जाबोधले, लुकिछिपि वा बाक्लो ओड्नोले ढाकेर असुरक्षित तरिकाले स्तनपान गराइरहेका हुन्छन् । त्यहाँ आमाहरूलाई स्तनको सफाइ, हरेक पटक पूर्ण स्तनपानको (दुवै स्तन चुसाउने) तरिका, स्तनपानको समय अन्तर आदिका बारेमा प्रर्याप्त जानकारी नहुन सक्छ । कतिपय अवस्थामा काम गर्दा गर्दै धुलो मैलो अवस्थामा पनि स्तनपान गराउने वा थाकेर सुस्ताएको बेला स्तनपान गराउदा आमा भुसुक्क निदाएका कारण पनि असुरक्षित हुन सक्छ । यस्तो अवस्थामा आमाहरूलाई सुरक्षित स्तनपानको लागि घर परिवार, साथी, छिमेकीहरू र आमा समूह मार्फत् वा स्थानीय स्वास्थ्यकर्मीहरूले जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नु पर्छ ।

अधिकांश निजीस्तरका अस्पतालमा बढी आर्थिक फाइदा, छिटो प्रतिफल र सिकारु चिकित्सक वा नर्सको तालिमको उद्देश्यले पनि धेरैभन्दा धेरै प्रसूति शल्यक्रियाको माध्यमबाट हुने गरेको छ । काठमाडौंका नाम चलेको निजी अस्पतातमा यस्तो दर करिब तीन चौथाइ हुने गर्छ भने सरकारी अस्पतालमा पनि करिब ३५ प्रतिशतको हाराहारी शल्यक्रियाको माध्यमबाट प्रसूति हुने गर्छ । यो दर आफैंमा निकै ठूलो हो । साधारण अवस्थामा करिब १५ प्रतिशत प्रसूति शल्यक्रियालाई अपेक्षित मान्दा पनि यो दर दोब्बर भन्दा बढी हो । यस्तो हुनुमा अस्पताल मात्र दोषी छैनन । कतिपय आमाहरू प्रसूति पीडा छल्न वा शुभ लगनमा बच्चा जन्म दिन चिकित्सकसँग प्रसूति शल्यक्रियाको माग गर्छन् ।

शल्यक्रियापछि अस्पतालमा आमा र बच्चाहरूलाई लामो समयसम्म छुट्याएर राखिन्छ । यस क्रममा लामो समयसम्म स्तनपान गराउन सम्भव हुँदैन । त्यस्तो व्यवस्था मिलाएको खण्डमा पनि आमालाई खानाको कमी हुने भएको कारण शिशुले पर्याप्त दूध पाउँदैन । यस्तो अवस्थामा (बाल मैत्री भनिएका अस्पतालमा समेत) बच्चालाई आमाको दूधको सट्टामा अन्य पेयपदार्थ खुवाइने गरेको पाइन्छ । कतिपय अस्पतालले प्रसूति हुनुअघि नै कचौरा चम्चा वा बोतल र फर्मुला मिल्कको जोहो गर्न लगाउने गलत प्रवर्त्ति संस्थागत भएको छ ।

स्तनपान भनेको शिशुको पेट भर्ने विषय मात्र होइन, यो त आमा र बच्चाबीच भावनात्मक सम्बन्धको विस्तार गर्ने अवसर पनि हो । त्यसका लागि आमा र बच्चाले एक अर्कालाई हेर्ने, मुस्कुराउने र आमाले कुरा गर्ने गर्नुपर्छ । एउटा स्तनको सम्पूर्ण दूध सकिएपछि मात्र अर्को स्तनतर्फ सार्नु पर्छ । यस क्रममा साधारणत: २० मिनेटसम्म लाग्न सक्छ । यस प्रकारका गतिविधिले बच्चाको पूर्ण पोषण मात्र होइन उसको मस्तिष्कको विकासमा ठूलो मद्दत मिल्छ । आमाहरूलाई आफ्नो स्तनपानले बच्चालाई पर्याप्त पोषण पुग्यो वा पुगेन भन्ने चिन्ता हुनु स्वभाविक हो । त्यसका लागि बच्चाको दिसापिसाबको आधारमा उनीहरूले सहज अनुमान लगाउन सक्छन् भने उनीहरूको शारीरिक वृद्धिको आधारमा पनि यकिन गर्न सक्छन् ।

नेपालमा पनि सानो परिवार, जागिरे आमा भएको संख्या बढ्दो छ । त्यस्तो अवस्थामा शिशुलाई स्याहारसुसारको लागि तलब सहितको विदाको माग हुँदै आएको छ । सरकारले तीन महिनासम्म तलबी र त्यसपछि आवश्यकता र सम्भाब्यताको आधारमा अर्को तीन महिना बेतलबी विदा दिन सक्ने व्यवस्था गरेको छ । यस्तो विदालाई गैरसरकारी कार्यस्थलमा पनि सहज बनाउन सरकारले कदम चालनु पर्छ । त्यस अलावा स्तनपान गराइरहेका आमाले शिशुलाई कार्यस्थलमा ल्याउन चाहेमा त्यसको सहजीकरण गर्न कार्यस्थलमा भौतिक पूर्वाधार जुटाउनु पर्छ ।

स्तनपान कम हुनुमा बजारले पनि ठूलो भूमिका खेलेको छ । बेबी फर्मुला मिल्कको नाममा बजारमा पाइने औद्योगिक दूध र त्यसको अतिरञ्जन विज्ञापनले कतिपय आमा वा परिवारमा आमाको दूध भन्दा औद्योगिक दूध बढी फाइदाजनक भन्ने भ्रम परेको हुन सक्छ । यस्ता औद्योगिक दूधलाई नियन्त्रण गर्ने सम्बन्धमा नियम बनेको भएता पनि त्यसको कार्यान्वयन फितलो भएको कारण निस्प्रभावी भएको छ । कतिपय आमाहरू स्तनपानले आफ्नो शरीर बिग्रने, मानसिक वा शारीरिक रुपमा कमजोर भइने जस्ता भ्रमका कारण पनि यसप्रति अरुचि देखाएको पाइन्छ । यी सबै कुराको सुधारका लागि राज्यले आफना प्रतिबद्धताहरू कडाइका साथ पालन गर्नु पर्छ भने आमा र परिवारमा रहेको भ्रमलाई चिर्न भरपर्दो सूचना सञ्चार हुने व्यवस्था मिलाउनु पर्छ ।

अन्तमाः स्तनपान नै शिशुको लागि उत्कृष्ट आहार हो जसमा धनी र गरिब, बिपन्न र सम्पन्न, गाउँ र सहर केही नभनी बच्चालाई आवश्यक पर्ने सम्पूर्ण पोषण तत्वले भरिपूर्ण हुन्छ । स्तनपान नै कुपोषण घटाउने मख्य आधार पनि हो । स्तनपानको मूल मन्त्र भनेकै बच्चा जन्मेपछि सकेसम्म छिटो (एक घण्टाभित्र) स्तनपान गराउने, ६ महिना पूरा नभएसम्म आमाको दूध मात्रै खुवाउनु पर्छ। बच्चा ६ महिना पूरा भएपछि कम्तीमा दुई वर्ष आमाको दूधका साथै थप पौष्टिक आहार दिन थाल्नु पर्छ । बच्चाको पूर्ण स्तनपानका लागि आमा स्वयं सचेत हुनुका साथै परिवार, स्वास्थ्य संस्था, कार्यस्थल, समाजिक संघसस्था, सरकारको ठूलो भूमिका हुन्छ ।

(पौडेल जनस्वास्थ्यकर्मी हुन् भने न्यौपाने जनस्वास्थ्य स्नातकोत्तर अध्ययनरत नर्स हुन् ।)

प्रकाशित : श्रावण २२, २०७९ १५:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×