लेखापरीक्षकहरू स्वनियमनमा बस्नुपर्ने महालेखापरीक्षकको भनाइ- बजार - कान्तिपुर समाचार

लेखापरीक्षकहरू स्वनियमनमा बस्नुपर्ने महालेखापरीक्षकको भनाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखापरीक्षकहरू नियमनकारी निकायका सदस्यभएकाले सबैले आफै‌ंलाई स्वनियमन गर्नुपर्ने महालेखापरीक्षक टंकमणि शर्मा (दङ्गाल)ले बताएका छन् । नेपाल अडिटर्स एशोसिएशन (अडान) को १७ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका थिए ।

काठमाडौंमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एनएफआरएस फर एसमईजको सीमा परिवर्तन गरी कम्तीमा ५० करोड हुनुपर्ने बताएका थिए । अडानका अध्यक्ष केदारनाथ पौडेलले चाहिँ सबै सदस्यको हकहित र चुनौतिका सम्बन्धमा संस्था प्रतिबद्ध रहेको बताएका थिए । कार्यक्रममा नेपाल लेखामान, मौद्रिक नीति, कर तथा कर विवरणमा भएका हालैका परिवर्तन सम्बन्धि छलफल गरिएको थियो ।

नेपाल लेखामान शेसनमा चार्टर्ड एकाउन्टेन्टद्वय अरुण राउत र प्रविण बरालले कार्यपत्र प्रस्तुत गरेका थिए । एनएफआरएसबारे जनचेतना नपुगेको, समन्वय नभएको, लागु गर्न खर्च बढी लाग्ने भएको र हालको एसएमई, एमईको सीमामा पुनः विचार हुनुपर्ने बताईएको थियो । अडानका संस्थापक अध्यक्ष कमल खरेललाई उनको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । महालेखापरीक्षक शर्मा (दङ्गाल) लगायतले ‘अडान अर्थमाला’ विमोचन गरेका थिए । ‘अडान डे’ का अवसरमा उपत्यका समन्वय समितिले आयोजना गरेको रक्तदानमा झण्डै एक सयजनाले रक्तदान गरेका थिए ।

प्रकाशित : श्रावण २१, २०७९ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्

लाइट मिलाउँदै ३६ वर्षदेखि फिल्ममा [भिडियो]

जसलाई पच्छ्याउँदै भाइ, भतिज र फुपूका छोराहरू पनि फिल्म क्षेत्रमै सक्रिय छन् ।
रीना मोक्तान

काठमाडौँ — उनका छोरा विनोद लामा मेकअपम्यान हुँदै फिल्म निर्माणमा होमिए । काइँलो भाइ पूर्ण लामा र कान्छो प्रदीप लामा फिल्म क्षेत्रका कुक । भतिजहरू श्याम लामा, पवन लामा, पेमा लामा, जीवन लामा लाइटतिर व्यस्त । फुपूका छोराहरू श्याम लाम, शमशेर लामा, मने लामा मेकअपतिर ।

३६ वर्षदेखि फिल्म क्षेत्रमा लाइटम्यान भएर काम गरिरहेका महेन्द्र लामाको परिवारका अधिकांश फिल्म क्षेत्रमै आबद्ध छन् । उनका परिवार मात्रै होइन, कुनै बेला उनको गाउँ भगुवारका अधिकांश युवाहरू फिल्म क्षेत्रमा प्राविधिक थिए । कुक हुँदै लाइटम्यान बनेका महेन्द्रलाई पच्छ्याउँदै परिवारका सदस्यले फिल्म क्षेत्रमा आफ्नो भविष्य बनाए । महेन्द्रले यही क्षेत्रमा ३६ वर्ष बिताइसके ।

सरकारी काम भइदिएको भए महेन्द्रले यतिबेला अवकाश लिइसकेका हुन्थे । तर, ५९ वर्षको उमेरमा पनि उनी छायांकन स्थलमा लाइट मिलाउँदै गरेका भेटिन्छन् । 'अब कतिञ्जेज फिल्म क्षेत्रमा काम गर्नुहुन्छ ?' कसैले सोधिहाले महेन्द्र जवाफ दिन्छन्, 'यही क्षेत्रमा जीवन बित्यो । अब २/३ वर्ष गरिन्छ, शरीरले साथ नदिएपछि घरतिर लागिन्छ ।'

२०४१ तिर नेपालमा पाकिस्तानी फिल्म 'धर्ती आकाश'को सुटिङ भएको थियो । शिव श्रेष्ठ फिल्मका कलाकार थिए । त्यही फिल्मको सुटिङमा 'उभिदिए पैसा पाइन्छ' भनेपछि साथीहरूको लहैलहैमा महेन्द्र छायांकन स्थल पुगे । निर्देशकले भनेका ठाउँमा उभिदिन्थे । चिच्च्याउन निर्देशन दिँदा चिच्च्याइदिन्थे । महेन्द्रले अहिले बुझिसके त्यतिबेला फिल्मको 'क्राउड' बन्न आफूहरूलाई बोलाइएको रहेछ भन्ने ।

सुटिङको त्यही माहोलले महेन्द्रलाई फिल्मतिर तान्यो । ‍साथी नारायण मैनाली र जुंगे भट्टराईले फिल्म 'सन्तान' बन्न लागेको खबर सुनाउँदै कुकमा प्राविधिक आवश्यक रहेकाले महेन्द्रलाई काम गर्न बोलाए । त्यसअघि महेन्द्र चाइनिज रेस्टुरेन्टमा कुक थिए । त्यसपछि २०४३ तिर प्रकाश थापाको 'सन्तान' भन्ने फिल्ममा कुक बने । उनले बनाएको खाना खाने पहिलो कलाकार हुन्, शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्ल । त्यतिबेला उनी २३ वर्षका थिए । सन्तानपछि 'मायालु' र 'कन्यादन'मा कुकका रुपमा काम गरिसकेपछि महेन्द्रले लाइटतिर डेब्यू गरे । 'अधिकार' भन्ने फिल्मबाट उनले प्रकाश व्यवस्थापनको काम थाले। खाना बनाउनु भन्दा लाइटको काम सहज हुने भएपछि महेन्द्रले आफ्नो करिअर लाइटमै देखे । 'खानामा कसैले के भयो भन्ने, कोहीले के भएन भनेर गुनासो गर्ने । त्यसैले लाइटतिर काम गरे,'महेन्द्र विगत सम्झन्छन् ।

एनालगको जमानादेखि डिजिटलसम्म आइपुग्दा प्रविधिले लाइटका सामग्रीमा थुप्रै परिवर्तन ल्याइदियो । त्यतिबेला इन्डोर सुटिङमा ८०/९० किलो लाइट बाल्नु पर्थ्यो, अहिले ४० किलोले काम हुन्छ । पहिला त घाम बिना फिल्म खिच्न लगभग असम्भव नै हुन्थ्यो । त्यसैले आफूहरूलाई प्रविधिले सहज बनाइदिएको महेन्द्रको अनुभव छ । 'अहिले लाइटको सामान हलुका भएकाले अलि सहज भएको छ हामीलाई । पहिला त बुस्टर बोक्नलाई नै २/३ जना चाहिन्थ्यो । अहिले त एकै जनाले बोक्न मिल्ने भयो,' महेन्द्र सुनाउँछन्, 'पहिला त एउटै लाइट पाँच हजार वाटको आउँथ्यो । डिजिटल आएपछि हामीलाई काम गर्न सजिलो भएको छ ।'

महेन्द्रले लाइट सम्बन्धी कुनै औपचारिक शिक्षा/तालिम लिएनन् । तर, फिल्महरूको सुटिङ सेट नै उनका लागि कक्षा बन्यो । सिनेमेटोग्राफरले भनेजस्तो लाइट मिलाउँदा-मिलाउँदै महेन्द्र व्यवहारिक शिक्षाबाट दिक्षित भए भन्दा फरक नपर्ला । त्यसैले त अहिले महेन्द्रले बुझेका छन्, फिल्ममा लाइटको महत्त्व । लाइट नै पढेर आएकाले पनि छायांकन स्थलमा नपुगी लाइटको काममा भाँती पुर्‍याउन गाह्रो पर्ने उनको भनाइ छ । महेन्द्र सिनेमाटोग्राफर दीर्घ गुरुङ, संजय लामा, हरि लामाले गर्ने फिल्महरूमा दोहोरिरहन्छन् । महेन्द्रले शम्भु प्रधानसँग 'मायालु'सँगै अन्य ४ फिल्म, यादव खरेलको 'आँधीबेरी', 'प्रेमपिण्ड', प्रकाश थापाका ५ फिल्म, किशोर राणामगरका ५, उद्धव पौडेलका अधिकांश फिल्ममा लाइटम्यान बनेर काम गरे । मह जोडीका टेलिसिरियलमा काम गरेका महेन्द्रले महकै 'दालभात तरकारी', 'शत्रु गते'जस्ता फिल्ममा पनि काम गरेका छन् । अंग्रेजी फिल्म 'नाइट रेन', चाइनिज फिल्म 'बिग बुद्ध', हिन्दी फिल्म 'आँधी तुफान'मा कामको अनुभव बटुलिसकेका उनले हालै दीपेन्द्र के खनालको 'के घर के डेरा'मा काम गरे ।

केही दिनअघि मात्रै पोखरामा भोजपुरी फिल्मको सुटिङ सकेर फर्केका महेन्द्रले महका कति टेलिश्रृंखलामा सा-सानो भूमिकामा अभिनय गरिदिएका छन् । तर लामो भूमिका कहिल्यै गर्न सकेनन् । 'पर्दामा खासै देखिन मन लागेन । खासमा बोल्नै आउँथेन मलाई । अब निर्देशकले दिएको डायलग त क्यामेरा अगाडि बोल्नुपर्थ्यो नि त,' मुसुक्क हाँस्दै सुनाए ।

महेन्द्र प्राविधिकमध्येका पुराना मात्रै होइनन्, कति स्टारहरू जन्मनुअघि नै फिल्म क्षेत्रमा प्रवेश गरिसकेका व्यक्ति हुन् । राजेश हमालको सुरुआती फिल्म 'अधिकार'मा महेन्द्र नै लाइटम्यान थिए । निखिल उप्रेतिको पहिलो फिल्म 'पिञ्जडा'मा उनले नै काम गरे । निखिल उप्रेती, बिराज भट्ट, आर्यन सिग्देल उनीभन्दा पछाडि आएका कलाकारहरू हुन् ।

उनीभन्दा अगाडि शिव श्रेष्ठ, भुवन केसी मात्रै थिए । यो लामो यात्रामा महेन्द्रले थुप्रै नयाँ अनुहारलाई 'स्टार' बनेको देखे । कतिका ‍स्टार्डम ओरालो लागेको साक्षी पनि हुन् उनी । 'हिरो हिरोइन कति आए कति गए । कोही पैसा कमाएर कता गए, कसैले यो लाइन नै छोडे । हामी जहाँको त्यहीँ,' उनले भने । त्यतिबेला र अहिलेका कलाकारमा एउटै कुरा फरक देख्छन् महेन्द्र । 'त्यतिबेला कलाकारसँग हामी सुटिङ सेट पुग्थ्यौं । सँगै खान्थ्यौं । अहिलेका कलाकार आ-आफ्नो गाडीमा आइपुग्छन् । उनीहरू बेग्लै खान्छन् । पूराना कलाकार सेटमा अगाडि नै आइपुग्थे । पहिल्यैका कलाकार बिहानदेखि नै सेटमा स्ट्याण्डबाइ बस्थे, तर अहिलेकाहरू समयमै आइपुग्दैनन् । पहिलाका कलाकार त हामीभन्दा अगाडि सेटमा पुग्थे,' महेन्द्र सुनाउँछन् ।

फिल्म क्षेत्रमा कसरी बित्यो ३ दशक ?

'खै यत्तिकै बित्यो । फिल्मको काम भइरहँदा दिन बितेको पत्तै हुन्थेन । काम गर्न पनि रमाइलो हुन्थ्यो,' ३ दशकको यात्रालाई महेन्द्रले छोटो जवाफमा समीक्षा गरे ।

सेटमा बिताएका रमाइला क्षणहरूमध्ये महेन्द्र तिलिचो तालमा छायांकनका लागि जाँदाको पल कहिल्यै बिर्सँदैनन् । २०५५ तिर दीपक मनाङ्गेको 'झुमा' फिल्मको गीतको सुटिङका लागि निर्माण टिम मनाङ पुगेको थियो । त्यतिबेला उनीहरू १० हिँडेर त्यहाँ पुगेका थिए । तालमा पुगेर २/४ सट लिन नपाउँदै हिउँ पर्न थाल्यो । त्यसपछि छायांकन गर्न नसकेर हतार-हतार त्यहाँबाट फर्के उनीहरू ।

महेन्द्र आफ्नो जीवन नै फिल्म क्षेत्रमा बिताएका प्राविधिकका लागि चलचित्र विकास बोर्डले हेरिदिनुपर्ने धारणा राख्छन् । २०५७ खडा भएको चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्र कल्याणकारी कोषबाट दिने मासिक भत्ता पाउने आसमा छन् उनी । 'धेरै वर्षदेखि काम गरिरहेका प्राविधिकलाई विकास बोर्डले महिनाको पाँच हजार दिने नियम थियो । अहिलेसम्म २५ भन्दा बढी प्राविधिकलाई पाउनुपर्ने हो । खोइ ! हाम्रो पालो अझै आइसकेको छैन,' महेन्द्रले भने ।

प्रकाशित : श्रावण २१, २०७९ १८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×