फाइभ जी विस्तारमा नोकियाले नेपाललाई साथ दिने- बजार - कान्तिपुर समाचार

फाइभ जी विस्तारमा नोकियाले नेपाललाई साथ दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — नोकिया कम्पनीले नेपाललाई फाइभ जी विस्तारमा सघाउने भएको छ । शुक्रबार फिनल्यान्डको दूतावाससँगको सहकार्यमा काठमाडौंमा आयोजित ‘नोकिया नेपाल इन्नोभेसन डे २०२२’ कार्यक्रममा फाइभ जीमार्फत नेपाललाई इन्डस्ट्री ४.० को डिजिटल युगमा रुपान्तरण गर्न नोकियाले साथ दिने बताएको थियो ।

‘सन् २०१७ देखि नोकिया नेपालमा उपलब्ध हुँदै आएको छ,’ कम्पनीको विज्ञप्तीमा भनिएको छ, ‘अब हामी नेपाललाई फाइभ जी युगमा लैजान साथ दिन चाहन्छौं । र, यहाँको डिजिटल क्रान्तिको हिस्सा बन्न चाहन्छौं ।’ हाल आफूहरूले अपरेटरहरूमार्फत नेपालका १० लाख घरपरिवारलाई उच्च–गुणस्तरको फिक्स्ड ब्रोडब्यान्ड सेवा प्रदान गरिरहेको नोकियाको भनाइ छ ।

दूरसञ्चार क्षेत्रमा आम प्रयोगकर्ता, व्यवसाय र अन्यलाई जोड्न, नयाँ सेवाहरू विस्तार गर्न र आम्दानी बढाउन के गर्न सकिन्छ भन्नेबारे विज्ञहरूले भनाइ राखेका थिए । फाइभ जी क्रान्तिको सुरुवात, इन्डस्ट्री ४.० को अवधारणासहित डिजिटल युगमा रुपान्तरण र गिगाबिट युगतर्फको यात्राबारे कार्यक्रममा छलफल भएको विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित : श्रावण २१, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्

सैलुङमा रत्तिँदै सोलुको 'माले'

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको सैलुङमा ‘माले’ याक चरण गर्न थालेको १ महिना पुग्नै लाग्यो । यसअघि चौरीको बथान मात्र हुने सैलुङमा ‘माले’ नयाँ पाहुना हो । सोलुबाट भित्रिएको माले स्थानीय जातको गाईसँग रत्तिन थालेको छ ।

नौलो भूगोल अनि नौला साथीसँगै उ दिनभर पुच्छर डोलाउँदै सैलुङका चुचुराहरूमा पुग्छ र साँझ अबेर गोठ फर्कन्छ । सैलुङमा रहेका स्थानीय गाईमा बहर लगाउनका लागि सोलुदेखि पहिलो पटक सैलुङमा याक ल्याइएको हो ।

यसअघि सैलुङमा उरङ जातका चौरी बाहिरबाट किनेर ल्याइन्थे । चौरीको उमेर हुन्जेल दूध खाने र बूढो भएपछि लखेटिन्थे । तर अब चौरी अन्यत्रबाट किनेर ल्याउनु नपर्ने भएको छ । सोलुको पाहुना आएपछि स्थानीय गाईले नै अब उरङ जातको चौरी जन्माउँछन् र बाच्छाबाच्छीहरूलाई चौरीको बगानमा पठाइनेछ ।

‘माले सैलुङमा रत्तिएको छ’ स्थानीय दावा पासाङ शेर्पा भन्छन् । शेर्पाका अनुसार उच्च लेकबाट झारिएका चौरी र याक तल्लो क्षेत्रमा आउँदै बिरामी पर्छन् । 'मालेलाई पनि यस्तै होला कि भन्ने चिन्ता थियो तर भएन । बीचमा ओरालेको भए पानी जुध्थ्यो। पानी जुध्यो कि गयो । सैलुङको पानी फिट भयो,’ शेर्पाले भने । सोलुको किन्जामाथिको लेकबाट गाडीमा हालेर सिधै सैलुङ आइपुगेकाले बिरामी हुनबाट बचेको उनको भनाइ छ ।

मालेसँगै अर्को याक पनि ल्याउन खोजिएको थियो । तर गोठबाट निकालेर केही तल झार्दाझार्दै बिरामी भएर उतै फर्किएको शेर्पा बताउँछन् । 'माले तगडै रहेछ, १ दिन लामो गाडीको यात्रामा सैलुङ पुगेर झार्दा पनि उस्तै फुर्तिलो नै रह्यो,' शेर्पाले भने ।

सैलुङमा १८ वटा चौरी गोठ छन् । तीमध्ये १५ रामेछाप र ३ दोलखातर्फका गोठमा झण्डै २ सय हाराहारीमा चौरी छन् । अब चौरीको संख्या अर्को वर्षदेखि बढ्ने बताइएको छ ।

स्थानीय जातका गाईले अब चौरी जन्माएपछि गोठ बढ्ने अपेक्षा गरिएको छ । स्थानीय किसान लालबहादुर तामाङ भन्छन्, 'चौरीलाई बाहिर जिल्लामा पुगेर खरिद गर्दा ७० हजारसम्म पर्छ । अब त माले आइपुगेको छ, बिना पैसा घरमै चौरी हुर्काउँछौं ।'

माले पनि सस्तो भने हैन । सैलुङका चौरीपालक किसान र वाग्मती प्रदेश सरकारले मिलेर महंगो मोलमा खरिद गरिएको हो । ठ्याक्कै १ लाख ५० हजार तिरेर ल्याइएको यो महंगो पाहुनालाई केही होला कि भन्ने चिन्ता स्थानीयहरूमा छ । त्यसैले याक तथा चौरी किसान संघले मालेको दैनिक रुपमा विशेष ख्याल गर्ने गर्छन् ।

रामेछापमा यसअघि साविक जिल्ला पशु सेवा कार्यालय रामेछापले गुम्देलमा चौरी विकास कार्यक्रम मार्फत् सोलुबाटै याक खरिद गरेर किसानलाई दिएको थियो । तर उक्त याक केही दिनका लागि मात्र रह्यो । अग्लो भूभागबाट होचो भूभाग हुँदै हिँडाएर गुम्देल भित्रिएको उक्त याक केही दिनमै बित्यो ।

सैलुङ क्षेत्र समुद्री सतहदेखि ३ हजार १ सय ४७ मिटर उचाइमा पर्छ । सोलुका चौरीलाई यस क्षेत्रमा ल्याउँदा यहाँको तापक्रममा घुलमिल हुन गाह्रो नभए पनि ओरालो बाटो हिँडाएर ल्याउँदा बीचबीचमा पानी खाइदिँदा 'पानी जुध्ने' हुँदा यसअघि चौरीहरू सैलुङमा ल्याउन कठिन हुने गरेको थियो ।

प्रकाशित : श्रावण २१, २०७९ १५:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×