१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

टर्वाइन विज्ञ प्रधानको जीवनीमा आधारित पुस्तक र वृत्तचित्र प्रकाशित

काठमाडौँ — लघु जलविद्युत् टवाईनका डिजाइनर एवम् निर्माता स्वर्गीय श्यामराज प्रधानको जीवनी ‘श्यामराज प्रधान : ढुंगाको कापबाट फक्रिएको फूल’ शुक्रबार विमोचन भएको छ । पुस्तक तथा वृत्तचित्रमार्फत स्वर्गीय प्रधानको जीवन भोगाइ, नवीकरणीय ऊर्जा प्रविधिको विकास एवम् प्रवद्र्धन र ग्रामीण ऊर्जा प्रविधिका क्षेत्रमा उनले पुर्‍याएको योगदानलगायतका विषय प्रस्तुत गरिएको छ ।

टर्वाइन विज्ञ प्रधानको जीवनीमा आधारित पुस्तक र वृत्तचित्र प्रकाशित

पत्रकार राजु श्रेष्ठद्वारा लिखित, प्रधानले स्थापना गरेको नेपाल यन्त्रशाला इनर्जी प्रालिद्वारा प्रकाशित उक्त पुस्तक तथा वृत्तचित्र प्रधानकी श्रीमती बाबा प्रधानले लोकार्पण गरेकी हुन् । पुस्तकमाथि समीक्षा गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखेलले लघु जलविद्युत् र नवीकरणीय ऊर्जा प्रविधिका माध्यमबाट ग्रामीण क्षेत्रमा स्वर्गीय श्यामराज प्रधानको योगदानबारे चर्चा गरे । प्रधानले सामाजिक न्यायका लागि व्यवसायभन्दा पनि प्रविधिको प्रयोगलाई महत्व दिएको पोखरेलले बताए ।

नेपालको पहिलो लघु जलविद्युत् प्लान्ट स्थापना कार्यमा सहभागी प्रधानले ५० वर्षभन्दा बढी व्यावसायिक जीवनमा ४६ जिल्लामा २०० भन्दा बढी लघु जलविद्युत्को सर्वे, डिजाइन एवम् जडान गरेका थिए । त्यस्तै प्रधानले स्वीट्जरल्यान्डबाट सिकेको सीपलाई नेपालबाहेक श्रीलङ्का, केन्या, लाओसलगायतका देशमा लघु जलविद्युत् टवाईन र सीप विस्तार गरेका थिए । प्रधानले लघु जलविद्युत् टवाईनको विकास र प्रवर्द्धन गरेको प्रविधिका विषयमा नेपाल लघु जलविद्युत् विकास संस्थाका पूर्वअध्यक्ष सुरेन्द्रभक्त माथेमाले प्रकाश पारेका थिए । स्वर्गीय प्रधान नेपाली लघु जलविद्युत् क्षेत्रका गुरु रहेको माथेमाको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य श्रीकृष्ण उपाध्यायले ग्रामीण क्षेत्रमा लघु जलविद्युत् तथा सुधारिएको पानी घट्टमार्फत विद्युतीय ऊर्जा विस्तारमा प्रधानको योगदान उच्च रहेको बताए । सस्तो र सर्वसुलभ ऊर्जाको पहुँच विस्तारमा प्रधान रोल मोडल रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक डा. रामप्रसाद धितालको भनाइ छ । त्यस्तै नवीकरणीय परिसंघका अध्यक्ष गुणराज ढकालले नवीकरणीय ऊर्जा प्रविधिको विकाससँगै सीप हस्तान्तरण र ग्रामीण विद्युतीकरणमा प्रधान मार्गदर्शक रहेको बताए ।

कार्यक्रममा स्वर्गीय प्रधानका छोरा विक्रमराज प्रधानले बाबुको नाममा फाउन्डेसन स्थापना गरी नवीकरणीय ऊर्जाको प्रविधि र जनशक्ति उत्पादनमा कार्य गर्ने तयारी भएको जानकारी दिए । सोही कार्यक्रममा स्वर्गीय प्रधानद्वारा स्थापित नेपाल यन्त्रशाला इनर्जीमा दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?