बसेकै ठाउँमा अर्डरअनुसार खाना, खाजा पाइने दरबार सिने म्याक्स हल सञ्चालनमा

काठमाडौँ — आधुनिक सेवा सुविधासहित राजधानीमा नयाँ सिनेमा हल सुरु भएको छ । आरामदायी सुविधाको साथ सिनेमा पारखीको लागि दरबारमार्गस्थित दरबार मलमा 'दरबार सिने म्याक्स' संचालनमा आएको हो । दर्शकहरुलाई सिनेमा हेर्दा लक्जरियस महसुस गराउने उद्देश्यका साथ नयाँ वर्षको अवसर पारी हल संचालनमा ल्याइएको दरबार सिने म्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यले जानकारी दिए ।

गुण ग्रुपद्वारा निर्माण भएको दरबार मलमा संचालित दरबार सिने म्याक्स सिनेमा हल क्युएफएक्सले ब्यवस्थापन गरेको हो । सिनेमा हलभित्र दुई वटा हल छ । ५० र ५३ सिट क्षमताका हलमा आधुनिक साउण्ड सिस्टम स्क्रीन र अर्डर अनुसारको खाना तथा खाजाको बार सुविधा समेत छ । सिनेमा हेर्न आउने दर्शकलाई आफू बसेकै ठाउँमा आफ्नो इच्छा अनुसारको खाजा र खाना अर्डर गरेर खान मिल्ने गरी खाजा बार संचालनमा ल्याइएको उनले बताए ।
दर्शकले बसेकै सिटबाट अर्डर गरेर खाना र खाजा खाँदै सिनेमाको मज्जा लिन पाउने सुविधा ल्याएको प्रबन्ध निर्देशक शाक्यको भनाइ छ। सिनेमा हेर्दै मदिरा खानेहरुको लागि छुट्टै बारको व्यवस्था छ । अन्य हलभन्दा फरक सेवा दिने उद्देश्यका साथ हल संचालनमा ल्याइएको शाक्यले बताए । सिनेमा हलमा दैनिक ९ वटा शो देखाइने र टिकटको मूल्य १ हजारदेखि १२ सय रुपैयाँसम्म निर्धारण गरिएको छ । गुण ग्रुपले विगत २५ वर्षदेखि ग्वार्कोमा गुण सिनेमा हाल संचालन गर्दै आएको छ ।
प्रकाशित : वैशाख ६, २०७९ १७:१०