विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी सुविधा- बजार - कान्तिपुर समाचार

विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी सुविधा

कान्तिपुर संवाददाता

काठमाडौँ — मेगा बैंकले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबर्द्धन केन्द्रसँग आबद्ध ट्याक्सीका चालकलाई बिहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी यो सेवाको शुभारम्भ गरिन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका उपनिर्देशक लक्ष्मीप्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो । यो सुविधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरुलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने मेगा बैंकले जनाएको छ ।

एयरपोर्ट ट्याक्सी प्रबर्द्धन केन्द्र प्रालिसँग समन्वय गरेर विरानटगर एयरपोर्टलाई डिजिटाइज गर्ने तथा यात्रुहरुलाई ट्याक्सीमा यात्रा गर्दा डिजिटल पेमेन्टमा सहजता पुर्‍याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको मेगा बैंक विराटनगर शाखाका प्रबन्धक विनोदराज थापाले बताए ।


प्रकाशित : माघ १३, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडी तोडफोड

कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. श्रीकृष्ण गिरी चढेको गाडी बिहीबार तोडफोड भएको छ ।

आयोगको कार्यालय भक्तपुर सानोठिमी जाँदा बिहान ११ बजे काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडि काँडाघारीमा गिरी चढेको प्रदेश ३–०१ ००२ झ ४९१५ नम्बरको गाडीलाई ढुंगा प्रहार गरिएको सदस्य सचिव भोजराज काफ्लेले जनाए । ढुंगाले गाडीको पछाडिको सिसा फुटेको छ ।

आयोगले विज्ञप्ति जारी गरेर घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । गिरीमाथि नै आक्रमण गर्ने उद्देश्यले आक्रमण गरिएको आयोगले जनाएको छ । ‘घरबाट अफिस जाँदै थिए, गाडीमा चालक र ममात्र थियौं,’ गिरीले भने, ‘एक्कासी ढुंगा गाडीमा आएर ब्रजेपछि सिसा फुट्यो र ढुंगो म बसेको सिटमा आएर ठोकियो ।’ कसले ढुंगा प्रहार गर्‍यो भन्ने खुलेको छैन ।

घटनापछि काठमाडौं र भक्तपुर प्रहरीलाई खबर गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

चीनमा चिकित्सा शिक्षा पढेर इन्टनसीप पूरा गर्न नपाएका विद्यार्थी र अतिरिक्त शुल्कको विषयमा एमबीबीएस लगायतका विद्यार्थी आयोगसँग असन्तुष्ट हुँदै आन्दोलनमा छन् । यसअघि चीनबाट फर्केका इन्टनसीप पूरा गर्न बाँकी रहेका विद्यार्थीले गिरीमाथि दुर्व्यवहारको प्रयास गरेका थिए । गिरीमाथि पटक/पटक आक्रमणको प्रयास हुँदै आएको छ ।

गत वर्ष उनको टोखास्थित घरमा शंकास्पद बस्तु फेला परेपछि सरकारले सुरक्षाकर्मी उपलब्ध गराएको थियो । अहिले फिर्ता गरिएको छ । आयोगले पदाधिकारीलगायत कर्मचारीको सुरक्षाको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।


प्रकाशित : माघ १३, २०७८ १८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×