सेल्सबेरीले थाल्यो ‘मेड इन नेपाल’ अभियान - बजार - कान्तिपुर समाचार

सेल्सबेरीले थाल्यो ‘मेड इन नेपाल’ अभियान 

कान्तिपुर संवाददाता

काठमाडौँ — विगत २८ वर्षदेखि चेन डिपार्टमेण्ट स्टोरका रुपमा संचालित सेलवेज ग्रुप अन्तर्गतको सेल्सबेरीले नेपालमा आगामी ५ वर्षभित्र देशभर १ सय वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । सो अवधिसम्म ४ हजार जनशक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने लक्ष्य लिएको यस ग्रुपले आफ्नो व्यापार व्यवसायभन्दा बाहिर पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्रियाकलाप गर्दै आइरहेको छ ।

किनमेल गर्ने ग्राहकमाझ नेपाली उत्पादनलाई अझ बढी चिनाउने, प्रयोग गर्न प्रेरित गर्ने, नेपाली वस्तुका उत्पादनकर्ताहरुसँग सहकार्य गर्दै उच्च प्राथमिकता दिने अभिप्रायले सेल्सबेरी ग्रुपले माघ १ गते देखि फागुन ३० गतेसम्म (२ महिना) ‘मेड इन नेपाल’ अभियान संचालन गर्ने भएको हाे ।

यो अभियानले देशलाई स्वदेशी उत्पादनमा आत्म निर्भर बनाउन संघर्ष गरिरहेका नेपाली ब्राण्डलाई हौसला पुग्ने, गरिबी न्यूनीकरण, आन्तरिक रोजगारी सृजना, नेपाली उत्पादनको विश्वव्यापी पहिचान तथा व्यापार घाटा न्युनीकरणमा यसले मद्दत पुग्ने सेल्सबेरीको भनाइ छ ।


प्रकाशित : माघ २, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्

उपाध्यक्ष गिरी भन्छन्- 'विद्यार्थीले आक्रमण गर्न खोजेपछि भागेर लुकें'

कान्तिपुर संवाददाता

काठमाडौँ — चीन लगायत मुलुकबाट एमबीबीएससहित चिकित्सा शिक्षाको अध्ययन गरेर इन्टर्नसिप पूरा गर्न बाँकी विद्यार्थीले आइतबार चिकित्सा शिक्षा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा प्रदर्शन गरेका छन् ।

यसअघि नेपालमा नै इन्टर्नसिप पूरा गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएको थियो । तर हाल इन्टर्नसिप पूरा गर्न नपाउँदा विद्यार्थीहरू आन्दोलनरत छन् ।

यस क्रममा आन्दोलनरत विद्यार्थीहरूले आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले इन्टर्नसिप गर्ने प्रक्रिया अघि नबढाएको आरोप लगाएका छन् । प्रदर्शनमा विद्यार्थीले आयोगका उपाध्यक्ष गिरी विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

भागेर परीक्षा शाखामा गएर बसें : गिरी

विद्यार्थीहरूको प्रदर्शनले उग्र रुप लिन थालेपछि उपाध्यक्ष गिरीले आफूमाथि दुर्व्यवहार हुनसक्ने भन्दै भागेर परीक्षा शाखामा गएर बसेको बताएका छन् । ‘विद्यार्थी आएर मेरो कार्यकक्ष घेराउ गरे, जथाभावी बोल्दै नाराजुलुस गरे, म भागेर परीक्षा शाखामा गएर बसें,’ गिरीले भने ।

कुनै पनि जानकारी नदिई आएका विद्यार्थीको समूहले ‘अभद्र’ व्यवहार प्रस्तुत गरेको उनको भनाइ छ । विद्यार्थीले भने शान्तिपूर्ण रुपमा नाराजुलुश गरेको बताउँदैआएका छन् । विद्यार्थीहरूले नारावाजीको क्रममा उपाध्यक्ष गिरीलाई लक्षित गरी ‘माफिया, भष्ट्रचारी, गुण्डा नाइके’ जस्ता आरोप लगाएका थिए ।

उनीहरूको आन्दोलन उग्र बन्दैगएपछि उपाध्यक्ष गिरीले सरकारबाट सुरक्षा नहुँदा काम गर्न नसकिने अवस्था आएको बताएका छन् । ‘सरकारले सुरक्षा पनि दिँदैन, विद्यार्थी आएर धाकधम्की दिएर आक्रमणमा उत्रन खोज्छन् । काम गर्न नै नसक्ने अवस्था आइसक्यो’ गिरीले कान्तिपुरसित भने ।

विद्यार्थीहरूको आन्दोलनको कारण के हो ?

मन्त्रिपरिषद् बैठकले गत पुसमा चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन/प्रयोगात्मक अभ्यास/इन्टर्नसिप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । विश्वव्यापी कोरोना महामारीका कारण बीचमै स्वदेश फर्कदा अध्ययन पूरा गर्न नपाएका करिब ३ सयभन्दा बढी विद्यार्थी बिचल्लीमा परेको आकलन छ ।

यसअघि सन् २०१४ र २०१५ ब्याचका करिब साढे २ सय विद्यार्थीले चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलको समन्वयमा नेपालमा नै इन्टर्नसिप पूरा गर्ने अवसर पाएका छन् । यस्तै सन् २०१६ र २०१७ का विद्यार्थीले पनि इन्टर्नसिप पूरा गर्न पाएका छैनन् । २०१५ को ब्याचका पनि केही विद्यार्थी छुटेको बताइएको छ।

तर आयोग र काउसिन्लको विज्ञ सम्मिलित कार्यदलले अध्ययन पूरा गर्न नपाएका विद्यार्थीलाई कुटनीतिक पहल गरेर सम्बन्धित मुलुकमा नै फर्काउन पहलका लागि सरकारलाई सुझाव दिएको थियो । उक्त पहल सफल हुन नसकेपछि विज्ञहरुको सुझावकै आधारमा सैद्धान्तिक पढाइ पूरा गरेका तर प्रयोगात्मक अभ्यास बाँकी भएका विद्यार्थीलाई इन्टर्रनसिप पूरा गर्न दिनुपर्ने पर्ने प्रस्ताव शिक्षा मन्त्रालयले गरेको थियो । शिक्षा मन्त्रालयको प्रस्तावको आधारमा मन्त्रिपरिषद्ले इन्टर्नसिप पूरा गर्न दिने निर्णय लिएको हो । सन् २०१४ र २०१५ ब्याचका विद्यार्थीलाई विभिन्न अस्पतालमा इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको छ ।

सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीहरुको हकमा अन्तर्राष्ट्रिय मान्यतामा समेत असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो । तीमध्ये कतिपय विद्यार्थीले सैद्धान्तिक पढाइ पनि अनलाइनबाटै लिएका छन् ।

यस्तै शिक्षा मन्त्रालयले आयोग र काउन्सिलले मापदण्ड बनाएर उनीहरुलाई इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाउने जनाएको छ । आयोग र काउन्सिलले भने मापदण्ड बनाउने लगायतका काम जारी नै रहेको जनाएका छन् ।

प्रकाशित : माघ २, २०७८ १६:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×