नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर दिने 

काठमाडौँ — हालै पब्लिक कपनीमा रुपान्तरण भएको नर्भिक अस्पतालले गत आर्थिक वर्षको नाफाबाट ५० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । पब्लिकमा गएपछिको पहिलो वार्षिक साधारणसभा(एजीएम)ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर दिने 

सर्वसाधारणलाई आइपीओ निष्कासनको समेत तयारीमा रहेको नर्भिकको हालको चुक्ता पुँजी १५ करोड रुपैयाँ छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । एजीएमले हाल ३० करोडमा सीमित अधिकृत पुँजीलाई बढाएर १ अर्ब पुऱ्याउने प्रस्ताव समेत पारित गरेको छ । नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ५६ लाख खूद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ ।

साधारणसभामा संचालक समिति अध्यक्ष राजेन्द्रबहादुर सिंहले संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेला समेत अस्पतालले सन्तोषजनक प्रगति गरेको जानकारी दिएका थिए ।

अस्पतालमा हालै आईभीएफ सेन्टर संचालनमा आएको, निकट भविष्यमै अन्तर्राष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको, हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि सेयर निश्कासनको प्रक्रिया अगाडि बढाइने कार्ययोजना उनले प्रस्तुत गरेका थिए ।


प्रकाशित : पुस २८, २०७८ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?