१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपालमै पहिलो पटक ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषय पढाई हुने

काठमाडौँ — प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय’को पढाई हुने भएको छ । कलेजले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर ब्रिटिस इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट समेत मान्यता पाएको सो विषयको पढाई युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्ड (युडब्लुई)को सम्बन्धनमा सुरू गर्ने जानकारी दिएको हो । कलेजले सन् २०२२ को जनवरीबाट ‘बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’कार्यक्रमको पढाई सुरू गर्दैछ ।

नेपालमै पहिलो पटक ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषय पढाई हुने

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले शैक्षिक कार्यक्रमको औपचारिक सुरूआत गरे । राष्ट्र बैंकले पनि साइबर सेक्युरिटीको क्षेत्रमा दक्ष जनशक्तिको अभाव महसुस गरेको बताउँदै मिश्रले ब्रिटिस कलेजले यस्तो पाठ्यक्रमलाई संचालन गर्न लागेकोमा खुसी व्यक्त गरे । नेपालमा एटीएम ह्याक हुँदा त्यसको अनुसन्धान गर्न सिंगापुरबाट महँगो रकम तिरेर जनशक्ति ल्याउनुपरेको तीतो यथार्थ पोख्दै उनले ब्रिटिस कलेजबाट यस क्षेत्रलाई योगदान पुर्‍याउने जनशक्ति निर्माण हुने विश्वास व्यक्त गरे । उनले साइबर सेक्युरिटी विषय पढ्नको लागि अब विदेश जान नपर्ने अवस्था आएको समेत बताए ।

एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले पछिल्लो समय सूचना प्रविधिले फड्को मार्दा चुनौति पनि थपिएकोले यस क्षेत्रमा काम गर्ने जनशक्ति देशलाई आवश्यक रहेको औंल्याए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव अनिलकुमार दत्तले ब्रिटिस कलेजले मात्रै नभई अन्यले पनि यस्तो विषयको पढाई थाल्नुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढेकोले साइबर सेक्युरिटी तथा डिजिटल फरेन्सिकको क्षेत्रमा जनशक्तिको ठूलो माग रहेको बताए । यसै क्षेत्रसँग सम्बन्धित शैक्षिक कार्यक्रम नेपालमै नौलो भएको भन्दै उनले भने, ‘नेपाल डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढिरहेको छ त्यसैले देशभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठूलो आवश्यकता छ । यस्ता शैक्षिक कार्यक्रमहरु मार्फत हाम्रो सुरक्षा हुनेछ र सुरक्षित डिजिटल नेपाल निर्माण गर्न मद्दत पुग्नेछ ।’ साथै नेपाली युवाहरुले विश्व बजारमा प्रतिस्पर्धाका लागि ज्ञान र सीप पाउने उनले बताए ।

प्रकाशित : मंसिर १७, २०७८ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?