१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

रुपन्देही जिल्लामा मङ्गलम पाइप्सको नयाँ कारखाना खुल्दै 

काठमाडौँ — रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका– ३, ढक्दैमा मङ्गलम पाइप्स एन्ड फिटिङ्सको नयाँ कारखाना स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । उद्योगको बाहिरी निर्माण कार्य केही सम्पन्न हुन बाँकी रहे पनि उत्पादन भने सुरु भइसकेको छ ।

रुपन्देही जिल्लामा मङ्गलम पाइप्सको नयाँ कारखाना खुल्दै 

हालसम्म नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको यस कारखानामा हरेक प्रयोजनको लागि आवश्यक पाइप्स र फिटिङ्सको सम्पूर्ण रेन्ज उत्पादन भइरहेको कम्पनीको दावी छ । निर्माण सामग्री उत्पादनमा अग्रणी उद्योग हुने लक्ष्यका साथ सन् २००९ मा स्थापना भएको मङ्गलम पाइप्स पहिलो सीपीभीसी पाइप र फिटिंग्स् उत्पादक तथा नेपालबाट बाहिरी देशमा सबैभन्दा बढी निर्यात गर्ने कम्पनी हो ।

मङ्गलम पाइप्सको पुरानो कारखाना सिद्धार्थनगर भैरहवामा अवस्थित छ । उत्पादन क्षमता बढाउन तथा अत्याधुनिक प्रविधिलाई नेपाल भित्र्याई बजारमा अन्तर्राष्ट्रिय गुणस्तरको थप उत्पादन दिने परिकल्पनाका साथ यो नयाँ प्लान्टको स्थापना गरिएको कम्पनीले जनाएको छ ।

अत्याधुनिक र सुविधा सम्पन्न औजार तथा उपकरणहरु भएको यस कारखानामा उच्च गुणस्तरीय जापनिज कच्चा पदार्थबाट जर्मन प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको सामग्री उत्पादन हुन्छ । लगभग ३ लाख वर्ग फिटसम्म फैलिएको यस उद्योगले २५० जना कर्मचारीलाई दैनिक रुपमा रोजगारी प्रदान गरिरहेको जनाएको छ । यो कारखानाको वार्षिक उत्पादन क्षमता १२ हजार मेट्रिक टन छ । उद्योग पूर्णतया बिजुलीबाट संचालन हुनुका साथै उत्पादनको प्रक्रियामा निस्किने अन्य पदार्थहरु उद्योगभित्रै पुन:प्रयोग हुने भएकाले ध्वनी र अन्य वातावरणीय प्रदुषणमुक्त हुने कम्पनीले जनाएको छ । यसमा एउटै युनिटबाट सीपीभीसी, पीभीसी, एचडीपीई, पीपी लगायतका पाइप उत्पादन हुन्छ ।

पाइप क्लोरिनले असर नगर्ने, खिया नलाग्ने तथा लामो समयसम्म टिक्ने भएकोले ग्राहकले आफ्ना उत्पादन रुचाएको मंगलम् पाइप्सको भनाइ छ । खानेपानीको लागि मङ्गलम् सीपीभीसी र अक्वा प्रो पाइप उपयुक्त हुने कम्पनीले जनाएको छ । साथै ढल, कृषि, बोरिङ्ग जस्ता बाहिरी प्रयोगका लागि पीभीसी रेन्जका अल्ट्राफ्लो, बोरवेल, प्रोड्रेनजस्ता पाइपको माग हुने गरेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार कारखानामा तार सुरक्षा तथा अन्डरग्राउन्डका लागि उपयुक्त पाइपहरु पनि उत्पादन हुँदै आएको छ ।


प्रकाशित : मंसिर १६, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?